चन्द्र पन्दाक
ताप्लेजुङ, माघ १७ गते। ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको विरोधी पक्षले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दका करण जनजीवन प्रभावित बनेको छ। तीन दिनअघि अर्थात् गएको मङ्गलबारदेखि आह्वान गरिएको यातायात बन्दले ताप्लेजुङसहित मेची अञ्चलका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको हो।
मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबुलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायत आधा दर्जन संस्थाले मङ्गलबारदेखि अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका छन्। मेची राजमार्ग र तमोर कोरिडोर सडकमा बन्द आह्वान गरिएकाले ताप्लेजुङसहित पाँचथर र इलाम जिल्लाको जनजीवन प्रभावित बनेको छ। बन्द आह्वानपछि तीन दिनदेखि यातायात सेवा ठप्प हुँदा जनजीवन प्रभावित बन्दै गएको हो।
मुख्य सडक मेची राजमार्ग र तमोर कोरिडोरसँगै जिल्लाभित्रका ग्रामीण सडकमासमेत यातायात ठप्प हुँदा जनजीवन थप प्रभावित बनेको छ। तेह्रथुम जिल्ला हुँदै ताप्लेजुङ भित्रिने सडकसमेत ठप्प पारिएको छ। यात्रुबाहक सवारी साधनसँगै दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकलसमेत चल्न नदिँदा यात्रुहरु मार्कामा परेका छन्।
त्यस्तै मालबाहक सवारी साधन ठप्प हुँदा जिल्लामा खाद्यान्नसहित उपभोग्य वस्तुको अभाव सिर्जना हुने सम्भावना बढेको स्थानीय व्यापारीले बताउन थालेका छन्। यसैगरी निर्माणका सामग्रीहरु आयात गर्न नसक्दा विकास योजना तथा पूर्वाधार निर्माणका काममा प्रत्यक्ष असर पुगिरहेको निर्माण व्यवसायीले बताएका छन्। बजार पसलमा कालोबजारीको खतरा पनि उत्तिकै बढ्दै गएको बताइएको छ।
यता यातायात बन्दले सर्वसाधारणको जनजीवनमा गम्भीर असर परेकोभन्दै ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी वार्ताद्वारा समस्या समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। उद्योग बाणिज्य सङ्घका अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बूले जारी गर्नुभएको विज्ञप्तिमा बन्दले सर्वसाधारणको जनजीवनमा बढी असर पुगेको उल्लेख गरिएको छ।
विज्ञप्तिमार्फत सरकारलाई उच्च स्तरीय वार्ताटोली गठन गरी आन्दोलनरत पक्षको जायज मागको सम्बोधन हुनेगरी वार्ता गर्न र आन्दोलनरत पक्षलाई यातायात बन्द फिर्ता लिई जनजीवन सामान्य बनाउने बिषयमा सहयोग गर्न बाणिज्य सङ्घले आग्रह गरेको छ। यस्तै सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा एमालेसहित जिल्लाका छ राजनीतिक दलले पनि बिहीबार नै संयुक्त विज्ञप्ति प्रकाशित गरी अशान्त बनेको परिस्थितिलाई सहज बनाउनुपर्नेमा जोड दिएका छन्।
अन्य दलमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी रहेका छन्। राजनीतिक दलले हालको असहज परिस्थितिलाई सहज बनाउन आन्दोलनरत पक्ष, सरकार र केबुलकार कम्पनीबिच वार्ता र सम्वाद गरी निस्कषमा पुग्न आग्रह गरेका छन्। दलहरुले जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्न पनि सबैसँग आह्वान गरेका छन्। बाणिज्य सङ्घ र दलहरुले झडपमा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने उनीहरुको उपचार व्यवस्थाका लागि सरकारको ध्यानाकर्षणसमेत गरेका छन्।
केबुलकार निर्माणको काम अघि बढाउने क्रममा गत माघ १२ गते पाथीभरा क्षेत्रमा निर्माण पक्ष र बिरोधी पक्षबिच भएको झडपमा परी ‘नो केबुलकार’ समूहका तीन जना गम्भीर घाइते हुनुभएको छ। त्यस्तै सरक्षाकर्मी प्रहरीतर्फका पनि डेढ दर्जन बढी सङ्ख्यामा घाइते भएका छन्। केबुलकारको विरोध गर्दै आएका समूहका केहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।