• १८ माघ २०८१, शुक्रबार

युवालाई उद्यममा जोड्दै कांग्रेस

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, माघ १८ गते । नेपाली कांग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसायका सन्दर्भमा नीति निर्माण, सम्भाव्यताको अनुभव र युवालाई उद्यममा उत्प्रेरित गर्ने उद्देश्यसाथ विज्ञसँग विमर्श गरेको छ । 

कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले उद्यममा लाग्ने युवासँगै अनुभवले खारिएका विज्ञलाई एकै ठाउँमा राखेर आर्थिक रूपान्तरणको नवीन अध्याय आरम्भ गर्ने उद्देश्यसाथ स्टार्टअप सम्मेलन गरेको हो । 

सम्मेलन समापनअघि बिहीबार तीन वटा सामूहिक विमर्श गरिएको छ । उद्यमशीलता र जनशक्ति विकास, सूचना प्रविधि क्षेत्रका लागि तयारी, महिला उद्यमशीलता र समतामूलक आर्थिक विकासको दिशामा र मेरो उद्यमशील यात्रा शीर्षकमा बहस भएको छ । 

सूचना प्रविधिको क्षेत्रमा कार्यरत विज्ञले नेपालभित्रै सूचना प्रविधिमा काम गर्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिएका छन् । उनीहरूले दक्ष जनशक्ति तयार गर्न सकिए वर्षमा १० खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्न सकिने र आइटीमा थोरै लगानी गर्न सके राम्रो परिणाम आउने बताए । 

त्रिभुवन विश्वविद्यालयका डिन प्राडा महानन्द चालिसेले प्राविधिक शिक्षासहितको व्यावसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सूचना प्रविधिको क्षेत्रलाई आधुनिक युग अनुसार अघि बढाउन सोही अनुरूपको लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले आइटी क्षेत्र र उद्यममा दक्ष जनशक्ति उत्पादन गर्नका लागि राज्यले विश्वविद्यालयसँगै सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक सङ्कायमा प्राविधिक र व्यावसायिक सिप सिकाउने गरी पाठ्यक्रम निर्माण गर्ने र त्यसलाई व्यावहारिक रूपमा लागु गर्नु पर्छ ।”

इनोभेटिभ नेपाल ग्रुपका प्रमुख सुलभ बुढाथोकीले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको बताउनुभयो । उहाँले आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न सके वार्षिक १० खर्ब रुपियाँभन्दा बढीको आइटी सेवा निर्यात गर्न सकिने बताउनुभयो । सिनासका कार्यकारी निर्देशक मृगेन्द्र कार्कीले भूगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रवर्धन गर्न सके आर्थिक रूपान्तरण गर्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्टार्टअप, उद्यमशीलता र व्यावसायिक सिप तथा तालिमका विषय भूगोल अनुसार जनतालाई जागृत गर्न आवश्यक छ । विश्वविद्यालय, राज्य र अभिभावक सबैको सहकार्यबाट बन्ने जीवन निर्वाहको आधारै उद्यम हो ।”

योङ इनोभेसनका संस्थापक विभूषण विष्टले राज्यले आइटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याए पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यही अनुसार सेवा निर्यात गर्न सकिने बताउनुभयो ।  खिम्भु टेकका सिइओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचिको विषय छानेर काम गर्न सके सफलता हासिल हुने बताउनुभयो । उहाँले तिनै तहका सरकारले जनशक्ति उत्पादनमा ध्यान दिएर लगानीको सहज वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । 

उद्यम अभियानमा अनुभव

‘मेरो उद्यमशील यात्रा’ शीर्षकको सामूहिक विमर्शमा दायित्वका संस्थाका संस्थापक अध्यक्ष पुकार मल्लले देशमा उद्यमशीलताका लागि निरन्तर काम गरिरहेको जानकारी दिनुभयो ।  उहाँले शासकीय प्रणालीमा तल्लो तहको काम र अवसरमा समान पहुँच पु¥याउनका लागि निरन्तर सक्रिय रहने बताउँदै श्रमको सम्मानसहित देशमै बसेर केही गर्न चाहने युवालाई राज्यले सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो । 

गाउँपालिका राष्ट्रिय सङ्घका अध्यक्ष लक्ष्मी पाण्डेले स्थानीय सरकार जनतासँग सहजै जोडिने प्रयत्नमा रहेको बताउँदै स्टार्टअपमार्फत तल्लो तहका नागरिकलाई समृद्ध बनाउनुपर्ने टिप्पणी गर्नुभयो । 

ईगर्भनेन्स बोर्डका सिइओ दिपेश विष्टले आइटी जानेको दक्ष जनशक्ति पनि तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा पाँच वर्षमा आइटी क्षेत्र र उद्यममा लगानी गरिए ठुलो आर्थिक रूपान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।

रानीमहल रिसोर्टका सञ्चालक टङ्कनाथ घिमिरेले १० हजार रुपियाँबाट सुरु गरेको उद्यम–व्यवसाय अहिले चार करोड रुपियाँभन्दा बढीको बनाउन सफल भएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “मेहनतपूर्वक काम गरे सम्भव रहेछ । योजनासहित काम गर्दा सफलता हासिल भएको हो ।”

सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले आफू हिमाली जिल्लामा जन्मेर विविध चुनौती सामना गरी व्यवसाय गरेर अगाडि बढाएको बताउनुभयो । उहाँले तीन तहको सरकारका कारण एउटै निकायलाई सहजै रूपमा अधिकार नदिएका कारण उद्योगी व्यवसायी प्रताडित भएको बताउनुभयो । 

‘स्टार्टअपमा आकर्षण बढाउनु पर्छ’

‘महिला उद्यमशीलता : समतामूलक आर्थिक विकासको दिशामा’ शीर्षकमा बोल्ने वक्ताले राज्यको विभेदपूर्ण नीति परिवर्तन गर्नुपर्ने बताए । 

बिआइडी नेपालका प्रमुख यमुना श्रेष्ठले महिला उद्यमशीलताले तुलनात्मक रूपमा उल्लेख्य प्रगति हासिल भएको बताउनुभयो । उहाँले नेपालमा उद्यम स्थापना गर्न केही अप्ठ्यारा भए पनि काम गर्दै जाँदा चुनौती सामना गर्ने क्षमता पनि हुने र मेहनत गरे सफलता हासिल हुने बताउनुभयो । 

युजी केक्सका संस्थापक निकिता आचार्यले समाजमा पुरुषको तुलनामा महिलालाई बढी नै चुनौती रहेको अनुभव सुनाउँदै महिलालाई उद्यमप्रती उत्प्रेरित बनाउन राज्यले नीति बनाए पनि त्यसमा महिला समावेश हुन नसकेको बताउनुभयो । 

गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष रविना थापाले अर्थतन्त्र सबल बनाउन महिला उद्यमीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले नेपालमा सहज रूपमा उद्यम गर्नका लागि राज्यले विश्वास पनि नगर्ने परिस्थिति भए पनि अहिले सहज भएको बताउनुभयो ।

जेसिआई नेपालका अध्यक्ष रजनी थापाले महिलाले आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले आफू उद्यमी भइरहँदा कामप्रति इमानदारी र प्रतिबद्ध बन्नुपर्ने बताउनुभयो ।

नेपाल रिपब्लिक मिडियाकी सिइओ समृद्धि ज्ञवालीले आन्तरिक उत्पादनलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन सकिए उद्यममा सफलता हासिल हुने बताउनुभयो । विभागका संयोजक उर्मिला थपलियाले सम्मेलनमा उठान भएका विषयले व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीलाई प्रोत्साहन गर्न र व्यवसाय प्रवर्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।