• ७ मंसिर २०८१, शुक्रबार

माग्ने (निबन्ध)

blog

माग्ने शब्दले पूर्ण अर्थ दिन्छ । यो परिपक्व र सबैले बुझ्ने शब्द हो । माग्नुको अर्थ बोध गराउने यो शब्दको सीमा सागर र सगर झैँ अथाह भएको अनुभूति हुन्छ । माग्ने भनेपछि नबुझ्ने कोही हुँदैन । लगभग पृथ्वीवासी सबै मान्छे माग्ने नै हुन् । मात्रा धेरथोर होला । को कस्ता प्रकृतिका माग्ने हुन् ? त्यो पृथक् कुरा हो ।

माग्ने भावलाई विस्तृतीकरण गर्दा हामी भिक्षुक, याचक, भिखारी, मगन्ते, आशामुखी, जोगी, शरणागत जस्ता विशेषण भेट्टाउँछौँ । हामी सबै धेरथोर माग्ने नै हौँ जस्तो लाग्छ मलाई । तपाईंलाई नि ? कुनै पात्रमा भिक्षा थाप्नु । हात थाप्नु । केही कुराको याचना गर्नु । देला पाइएला कि भनी आस गर्नु । 

यी सबै मगन्तेपनकै अनेक रूप हुन् । यही कारण कोही मगन्ते छन् । कोही भिक्षुक छन् । कोही याचक छन् । नाम फरक भए पनि काम त उही नै हो । एउटाले अर्कोबाट मागेर लिनु । के त भन्दा भिक्षा । माग्नेको प्रकृति र मगाइ अनुरूप भिक्षाको रूप भने फरक हुन सक्छ । कोही पाकेको रोटी माग्लान् त कोही शक्तिको सलामी माग्लान् । 

भिक्षा जस्तो पनि हुन सक्छ । हाम्रो पालामा वर वधू माग्ने चलन थियो । आधुनिकताले प्रवेश पाएपछि यो चलन लगभग सेलाएको छ । यो मगाइको प्रवृत्ति माग्नेबाट छान्नेमा परिणत भई सुधारिएर लम्किएको अवस्था छ । छान्ने चलनको बाइप्रडक्टका रूपमा सम्बन्ध विच्छेद माग्ने प्रवृत्ति जन्मिएको सर्वत्र देखिन्छ । अमेरिकामा जस्तै हाम्रो नेपालमा पनि पोइले जोईसँग यौन माग्नु पर्दछ । नमागी तान्न मिल्दैन । तानेमा जोईलाई पोइले बलात्कार ग¥यो भनी अदालतमा न्याय माग्ने अधिकार छ जोईलाई ।

बच्चा जन्मनेबित्तिकै दुध मागीहाल्छ । आमाबाट दुध मागेर प्रारम्भ हुने थाङ्ग्ने मान्छेको जीवन चितामा आगो माग्दासम्म नै मागेरै चलिरहन्छ । खानेकुरा माग्ने, पैसा माग्ने, मोबाइल, मोटरसाइकल जस्ता खुसी माग्ने छँदै छ । जन्मदेखि मृत्युको बिचमा भाकल, पूजा, पाठ, प्रार्थना गरी जीवनमा हरियाली खुसियाली माग्ने क्रम त सामान्य नै भइगयो । 

व्रतबन्धमा जङ्गल जान भनी आमासँग भिक्षा माग्ने क्रमबाट औपचारिक रूपमा छकाएर माग्ने कला सुरु हुन्छ कतिपय मान्छेको । त्यसभन्दा अघिका मगाइहरू त रुवाइबाट नै पूरा हुने नै भए । बच्चालाई नामी विद्यालयमा पढाउन शक्तिशालीको घर धाई विद्यालय माग्ने चलन मस्त चम्किएकै छ । 

शिक्षण संस्थाले अभिभावकसँग माग्ने भिक्षाको कुरा गरेर साध्य नै छैन । कति हो कति । पढाइ गर्न विदेशी दूतावासमा प्रवेशाज्ञा माग्नेको त ताँती नै छ । पढाइ पूरा गरेपछि जागिर माग्नेको हुल नै छ । जागिरे भएर दाम्पत्य जीवनमा बाँधिएपछि बाबुआमासँग अंश माग्ने कुरा सामान्य नै भइहाल्यो । 

यो लेख्दा मलाई अनुभूति भइरहेको छ कि मान्छेले सबैभन्दा बढी जानेको काम नै माग्ने हो । संसारमा सबैभन्दा बढी गोलभेँडा फले जस्तै मान्छेको मनमा माग्नेपन फलेको महसुस गरिरहेको छु म । तपाईं पनि एकफेर चिन्तन गर्नुहोस् त । कस्तो अनुभूत गर्नु हुन्छ ? वास्तवमा हामी मागिरहेका त छौँ नि हरबखत । 

कोही न कोहीसँग केही न केही । होइन र भन्या ? हुन त आफूले आफैँलाई मगन्ते भन्न लाज लाग्छ । अरूलाई मगन्ते भन्नुभन्दा पहिले आफू मगन्ते हो होइन चिन्तन त हामीले गर्नैपर्ने हो तर त्यस दिशालाई हामीले पटक्कै रुचाउने गरेका छैनौँ । के तपाईं आफू कस्तो हो भनी चिन्तन गरिरहनुभएको छ त ? पटक्कै छैन । अर्कालाई भन्न जस्तो सजिलो आफूलाई खोतलेर भन्नुमा हुँदैन । बेकारमा किन खोतल्ने आफूलाई होइन त ?

माग्नेपन पनि मान्छेले जीवनमा अँगालेको विभिन्न कलामध्येको एउटा कला हो । एउटा सिप हो । मिर्गौला रोगी र दृष्टिविहीनको नामबाट घरघरमा गई उपचार खर्च माग्ने क्रमले अहिले व्यापकता लिएको छ । मन्दिरको आँगनमा बसेर वा पसल पसल चहारेर चादर र कमण्डलु फैलाएर माग्ने क्रम रोकिएको छैन । मागेरै परिवार पाल्नेहरूको कमी छैन । हरेक पेसाकर्मीले पनि सेवाग्राहीबाट मागेकै हुन्छन् । काठमाडौँको सडकमा मात्र होइन, न्युयोर्कको सडकमा पनि माग्ने मागिरहेका पाइन्छन् । शैली त मान्छेपिच्छे फरक हुन्छ ।  वास्तवमा सडकमा मात्र होइन, महलमा पनि माग्ने प्रशस्त छन् । माग्नुमा लाज छैन अचेल । यो त अधिकारमा परिणत भइसकेको छ । अहिले त माग्नेहरू वास्तवमा नै पेसा गरिरहेका छन् । किनभने आजकालका जोगीहरू एक छाक होइन कि तीन छाक खान्छन् । छक्काएर, धम्काएर, तर्साएर, लठ्याएर लटपटाएका टन्न गाँठ छ उनीहरूसँग । त्यसैले त आजकाल फुपूको श्राद्ध गर्ने चलन बढेको छ । 

थरिथरिका माग्ने । थरिथरिका माग्ने शैली । थरिथरिका आवरण व्याप्त छ वर्तमानमा । मत माग्नेहरू पाँच–पाँच वर्षमा आउँछन् । हुनेसँग धन र नहुनेसँग मन अर्थात् मत माग्छन् उनीहरू । जित्नेहरू राज्यकोष लुटिरहन्छन् । हार्नेहरू चन्दा मागिरहन्छन् । हालिमुहाली गर्न सक्नेहरू प्रमुख कार्यकारीसँग राज्यकोष उडाउने अनुमति मागिरहन्छन् । मागेको मतले जित्नेहरू गाउँ, नगर, प्रदेश, देश चलाउँछन् । अनि सुरु हुन्छ उनीहरूको माग्ने धन्दा । जसले शक्ति दियो उसैलाई सास्ती दिने गरी निष्ठुरतापूर्वक कर दस्तुर माग्छन् । नदिनेलाई लाठो, कोर्रा सोझ्याउँछन् । 

जागिर खाई कर्मचारी भएपछि सरकारले दिने तलब अचार मात्र हो भन्दै मासुभात खान पाउँ, घरजम गर्न पाउँ, घर घरेडी जोड्न पाउँ, सन्तानलाई उच्च शिक्षा दिलाउन पाउँ भन्दै घु्स माग्छन् सेवाग्राहीसँग । न्याय माग्न अदालत गयो दस्तुर माग्छन् । वकिलसमक्ष लेखाउन गयो फी माग्छन् । 

नागरिकता बनाउन, सवारी दर्ता गर्नदेखि आवश्यकता अनुसारको जुनसुकै कामका लागि जुनसुकै निकायमा गए पनि जनतासँग घुस माग्छ प्रशासन । बिरामी परी उपचार गराउनु प¥यो अस्पताल माग्छ मोटो रकम । औषधी बनाएर बेच्नेहरू, चिकित्सक रोगी नमरेसम्म दाम मागिरहन्छन् । फेवातालमा बोटेहरू पैसा माग्छन् डुङ्गा चढाउन । चिडिया देखाउन चिडियाखाना पैसा माग्छ । होटल रेस्टुँराका बेराहरू टिप्स माग्छन् ।  ट्याक्सी चालकहरू मनचाह रकम माग्छन् गन्तव्यमा छाडिदिन । कुल्लीहरू भारी उचाल्न मनचाह मोल माग्छन् । एका बिहानैदेखि साँझ नपरेसम्म खाली कागत, फलामको टुक्रा आदि माग्नेहरू अनवरत मागिरन्छन् तर जाति छन् सित्तैमा लाँदैनन् । कुचो लाउनेदेखि सरकार प्रमुखसम्म त माग्ने नै हुन् । मागेर कहिल्यै नथाक्ने विचित्रका मगन्ते । कोही तर्साएर माग्छन् । कोही धम्काएर माग्छन् । कोही थर्काएर माग्छन् । कोही दच्काएर माग्छन् । कोही लखेटेर माग्छन् । कोही समेटेर माग्छन् । कोही चिप्लो घसेर माग्छन् । कोही खस्रिएर माग्छन् । कोही सम्झाएर पनि माग्छन् । माग्ने प्रकृति फरक छ तर मगाइ नै हो । 

लगानी स्वीकृत गर्न बसेकाहरू हस्ताक्षरबापत धन माग्छन् । सम्झौता स्वीकृत गर्ने हैसियत भएकाहरू प्रतिशतमा स्वीकृति भोज माग्छन् । कर्मचारीदेखि मन्त्रीसम्म ठेकेदारसँग कमिसन माग्छन् । नेपाल मात्र होइन, यत्रतत्र सर्वत्र अनेकौँ प्रकारका याचक अर्थात् माग्ने छन् ।  यसो सोच्छु, नमागिकन त कसैको जीवन नै चलेको छैन । किसान पानी, मल, बिउ माग्छ । रोगी जिउ माग्छ । कर्मचारी तलब वृद्धि माग्छ । राजनीति गर्ने मत माग्छ । पूजा गर्ने समृद्धि माग्छ । साधना गर्ने शुभ माग्छ । डन धन माग्छ । लठैत तन माग्छ । उमेर यौन माग्छ । भोक भोजन माग्छ । भिड प्रतिकार माग्छ । 

अपहरणकारी फिरौती माग्छ । छिमेकीलगायतका देशहरू कोही पानी माग्छन् । कोही नदीनाला माग्छन् । कोही नोकर चाकर माग्छन् । कोही कामदार माग्छन् । यतिसम्म त ठिकै थियो । देश पनि बारम्बार माग्ने गर्दछ । कहिले युद्ध माग्छ । कहिले योद्धा माग्छ । कहिले रगत माग्छ । कहिले बलिदान माग्छ । कहिले आन्दोलन माग्छ । त्यतिले पनि नपुगेर अर्को देशसँग अन्न, बारुद, अनुदान, ऋण सबै माग्छ । प्रविधि माग्छ । तडक, भडक, नराम्रो, गलत सबै मागेर ल्याउँछ । 

कोही माग्दैन प्रेम र सद्भाव । सबैको माग्ने कुरा शक्ति, धन, मान, सान नै भएको छ । मागेको शक्तिले कहिलेसम्म थेग्ने हो ? मागेको धनले कहिलेसम्म धान्ने हो ? मागेको मान र सान कहिलेसम्म टिक्ने हो ? के माग्न हुने के माग्न नहुने ? छुट्टिँदैन ।

सबैसँग सबै कुरा नहुनाले समाज अन्तरनिर्भर छ । यसैले माग्न नहुने होइन हुन्छ तर घुस माग्ने, चन्दा माग्ने, दान माग्ने, अनुदान माग्ने, विदेशीसँग ऋण माग्ने काम त अक्षमहरूको ठगी धन्दा मात्र हो । यो त भिक्षाकै अपमान हो । दानको अनादर हो । याचनाको परिहास हो । कि होइन ? 

अभावमा माग्नु र याचक पेसा अवलम्बन गर्नु पृथक् कुरा हो । प्राकृतिक प्रकोपका कारण सिर्जना हुने समस्या समाधान गर्न गाँस बास कपास माग्नु न्यायोचित हो । सामान्य अवस्थामा पनि विभिन्न नामबाट विभिन्न बहानामा निरन्तर मागिरहनु अश्लीलता हो । अनैतिकता हो । अपराध हो । हो मलाई थाहा छ, कसैले मान्दैन मेरो कुरा । किनभने लगभग सबै मागेर नै सम्पन्न भएका छन् तर मेरो देश भने विपन्नको विपन्न नै छ । झुटमा जुठिएरै शक्तिशाली भएका हुन् सबै तानासाह । यसैले उनीहरू माग्नुलाई अधिकार भन्ने गर्दछन् । ठुलालाई पनि यस्तै पिठ्ठु चाहिएको छ । कोही छैन माग्नुमा पुण्य छैन भन्ने । यसैले त फागु र शिवरात्रिमा अभिभावक बच्चालाई डोरीले बटुवाको बाटो छेक्न पठाई माग्न लगाउँछन् । यसरी अवोध बच्चालाई नै माग्नुपर्ने अभिभावक दिइएको छ । बच्चादेखि नै काँक्रा मागेर/चोरेर खानेहरू सत्ताधारी भएपछि माग्नु एउटा संस्कार हुने नै भयो । हाम्रो बानी नै कालक्रममा आदत हुने हो ।  यसैले त माग्नु हुन्न पौरख गरी सन्तोषमा बाँचौँ भन्दा सुन्ने मान्ने कोही नभएको । मलाई लागिरहेछ, मान्छेको माग्ने प्रवृत्तिले विश्राम पाउने छैन । आज खै स्वाभिमानको बिउ रोप्न सकेको र ? भोलि माग्ने होइन दिने हुने परिकल्पना गर्न । खै कहाँ रोकिएको छ र शिवरात्रि र फागुमा नाबालकले डोरीले बाटो छेकेर पैसा माग्ने जस्तै क्रम ?  

Author

डा. विश्वदीप अधिकारी