• २३ वैशाख २०८१, आइतबार

आयरल्यान्डसँग नेपाल ‘ए’को लज्जास्पद हार, एक खेल अगाडि गुमायो सिरिज

blog

नेपालको विकेट लिएपछि खुशी हुँदै आयरल्यान्ड ‘ए’का खेलाडी । तस्बिर : क्यान

काठमाडौं, चैत २३ गते। नेपाल ‘ए’सँगको एक दिवसीय सिरिज आयरल्यान्ड ‘ए’ ले एक खेल अगाडि नै जितेको छ।  एकदिवसीय सिरिजको दोस्रो खेलमा लज्जास्पद ब्याटिङ गर्दै नेपालले एक खेल अगाडि नै सिरिज गुमाएको हो। 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ ११४ रनले पराजित भएको हो। आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १६.५ ओभरमा ६० रन बनाएर सबै विकेट गुमाएको हो। 

नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाउनुभयो। विनोद भण्डारी १९ बलमा २ चौकासहित १६ रनमा आउट हुनुभयो। नेपालका अन्य नौ ब्याट्स म्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। 

आयरल्यान्डका म्याथ्यु हम्फ्रेजले ८ रन खर्चेर ६ विकेट लिएर नेपालको इनिङलाई धरापमा पार्नुभयो। थोमस मेयर्स र फिन ह्यान्डले २/२ विकेट हात पार्नुभयो। 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा १७४ रन बनाएको थियो। आयरल्यान्डका गेभिन होइले ५० रन बनाउँदा कप्तान निल रक ४५ रनमा आउट हुनुभएको थियो। उसका लागि लियाम म्याकार्थीले ३५ रन जोड्दा पिटर मुर १७ रनमा आउट हुनुभएको थियो। 

आयरल्यान्डविरुद्ध पावर प्लेमा नेपालले राम्रो बलिङ गरेको थियो। स्पिनर साहब आलम र रिजन ढकालले ३/३ विकेट लिनुभयो। मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट हात पार्नुभयो।