• १९ वैशाख २०८१, बुधबार

‘आमा बचाउ’ अभियानबाट लाभान्वित हुँदै महिला

blog

अत्तरिया (कैलाली), चैत २३ गते । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका छन् । अभियानअन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका हुन् । 

आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गत आव २०७९-८० को मङ्सिर २१ गतेदेखि सुरु गरिएको ‘आमा बचाउ’ अभियानमा गर्भवती, प्रसव र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइँदै आएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा सो अवस्थाका महिलालाई अस्पतालसम्म पुर्याउन उपमहानगरले हाल चार एम्बुलेन्सबाट सेवा दिइरहेको छ । 

एम्बुलेन्स प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने उहाँले बताउनुभयो । एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरिरहेको तथा तीन एम्बुलेन्स वडा नम्बर १६, १८ र १९ बाट सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । ‘आमा बचाउ’ अभियानमा चालु आवको फागुन मसान्तसम्म उपमहानगर क्षेत्रका तीन सय २२ गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिनुभयो ।

निःशुल्क एम्बुलेन्स सेवा भएपछि प्रसूति सेवाका लागि अस्पताल लैजानुपर्ने महिलालाई निकै सहज भएको वडा नम्बर १६ का वडाध्यक्ष रामलाल चौधरीले बताउनुभयो । “ग्रामीण क्षेत्र भएकाले अन्य सवारीसाधन पाउन पनि कठिन हुन्छ”, उहाँले भन्नुभयो, “अहिले निःशुल्क एम्बुलेन्स सेवा हुँदा धेरै सहज भएको छ, आर्थिक अवस्था कमजोर भएकालाई झनै सहज भएको छ ।” ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्यावस्थालाई ध्यानमा राखेर ‘आमा बचाउ’ अभियान सुरु गरिएको नगरप्रमुख गोपाल हमालले बताउनुभयो । 

“ग्रामीण क्षेत्रमा सवारीसाधन नपाउने, प्रसूति सेवाका लागि गोरुगाडा, ट्र्याक्टरमा अस्पताल ल्याउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा आमा र शिशुको ज्यान जोखिममा हुने भएकाले उहाँहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘आमा बचाउ’ अभियान सञ्चालन गरिएको हो ।” उपमहानगरपालिकाले आफूसँग भएका एम्बुलेन्सलाई आमा बचाउ अभियानमा प्रयोग गरेको नगरप्रमुख हमालले बताउनुभयो । अभियानलाई वडाको मागअनुसार विस्तार गर्दै लैजाने उहाँको भनाइ छ । गत आव २०७९÷८० मा ‘आमा बचाउ’ अभियानबाट उपमहानगर क्षेत्रका दुई सय ५८ महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ । रासस