• १८ वैशाख २०८१, मङ्गलबार

जो आमा हुन चाहन्छन्...

blog

काठमाडौँ, चैत २३ गते । “आहै कति प्यारो नानी” भित्ताभरि टाँसिएका बच्चाका तस्बिरले रीमा घलेको मन थामिँदैन । चिकित्सकको पालो कुर्दै बसेकी उहाँ जुरुक्क उठेर तस्बिर भएतिर पुग्नुहुन्छ । औँलाले आकृति सुम्सुमाउनुहुन्छ । यतिले मात्रै उहाँको मातृत्व भरिँदैन । मोबाइलले तस्बिर खिच्न थाल्नुहुन्छ । हुन त उहाँको रहर काखैमा बच्चा समाउने, हुर्काउने थियो तर तस्बिर हेरेरै चित्त बुझाउनुपर्ने नियति छ । 

बिजुलीबजारस्थित निःसन्तान केन्द्रमा बाँझोपनको उपचार गर्न आउनुभएकी उहाँ भन्नुहुन्छ, “आमा बन्ने रहरले केसम्म गरिनँ । सन्तानको तिर्खाले मन भतभती पोल्छ, सताउँछ ।” अर्घाखाँची घर भएकी ४२ वर्षीया रीमालाई आमा बन्नुको पछाडि शारीरिक आवश्यकतासँगै सामाजिक बोझसमेत छ । सन्तान जन्माउन ढिलाइ भएकै कारण उहाँले परिवार र समाजमै विभेद खेप्नुपरेको बताउनुहुन्छ । 

सन्तान जन्माउने सपना बोकेर उहाँका दम्पतीसहित निःसन्तान केन्द्रमा धाउनुपरेको छ । उपचारका लागि छ महिनादेखि पालो कुरेर केन्द्र आउन सक्नुभएको उहाँले बताउनुभयो । “सकेसम्म प्रयास गर्छु, भइहाल्छ कि”, उहाँ भन्नुहुन्छ । सन्तानको सपना बोकेर आउनेहरुले उपचार केन्द्र भरिभराउ हुन्छ । आमा, बुबा बन्न सफल हुनुभएका पात्र देखेर कतिपय दम्पतीमा भरोसा जाग्छ । सर्लाहीकी भीमा साह सन्तानप्रति उहाँले सजाएका थुप्रै सपना छन् । कुनै दिन उहाँमा पनि आमा बनेर सन्तानसहित खिचेको तस्बिर सुत्ने कोठाको भित्तामा टाँस्ने रहर छ । त्यति मात्रै होइन, सबैभन्दा ठूलो रहर त उहाँले मातृत्व अनुभूति गर्नुछ । सुत्दा, उठ्दा, हिँड्दा, बोल्दा जहाँसुकै सन्तानकै पीडाले पिरोल्छ उहाँलाई । बिहे गरेको पाँच वर्ष नाघ्यो । 

भीमाका दम्पती निःसन्तान छन् । उपचारका लागि सामान्य खर्च गर्दै आएपनि के समस्या हो अझै पत्तो लागेको छैन । बिजुलीबजारस्थित निःसन्तान केन्द्रमा उपचार गर्न आएका यी दम्पतीले सन्तानको रहर पूरा हुने वा नहुने उपचारकै क्रममा थाहा पाउने गर्नुहुन्छ । उहाँले जस्तै सन्तानको तिर्खा लिएर चिकित्सक कहाँ भौँतारिने दम्पती थुप्रै हुनुहुन्छ । एक्लै हुँदा आफूलाई मात्रै यस्तो परेको जस्तो मानेकी ललितपुरकी जेनिसा श्रेष्ठ जब उपचार केन्द्रमा अन्य निःसन्तान दम्पती देख्निुहुन्छ, मन शान्त पार्नुहुन्छ । २९ वर्षीया उहाँ सन्तान नभएकै कारण मायाले समेटिएको परिवारमा पीडा थपिएको अनुभव सुनाउनुभयो । 

सन्तान जन्माउन नसकेपछि श्रीमानको अर्कै बिहे गरिदिने दबाब आएको उहाँले दुःखेसो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, “एकातिर बाँझो हुनुको पीडा छ, अर्कोतिर बेघर हुने डर ।” सन्तानको तिर्खा एकातिर छँदैछ । सन्तान नहुँदा समाज र परिवारले दिने पीडा अर्को समस्या छ । खासगरी महिलाले निःसन्तान हुनुको बोझ बढी झेल्नुपर्छ । उहाँ निःसन्तान हुनुहुन्छ । बिहे गरेको थुर्पै वर्ष पुग्दा पनि उहाँ आमा बन्न सक्नुभएन । परिवारमा “बाँझी आइमाई, अलच्छिनी आइमाई” भन्दै दुव्र्यवहार गर्न थाल्नुभयो । छोरीको माया गर्ने थलो भनेको माइतीघर हो । उहाँ त्यही विश्वासका साथ सानीआमाको छोरीको बिहेमा पुग्नुभएको थियो । उहाँ उत्साहित हुँदै जन्ती ल्याउन अघि सर्न नपाउँदै, उहाँकी सानीआमाले सबैको अगाडि समाएर घिसार्दै तानिन् । 

“यस्तो विवाहको अवसरमा तँ बाँझी आइमाई अगाडि देखा परेर अपसगुन गरिस् । तँ अलच्छिनीले गर्दा अब बहिनीको पनि बच्चा हुँदैन” भनेर गाली गर्दै कुटपिट गर्नुभयो । घरमा सासूलगायतले दिने यातना त छँदै थियो माइतीमा पनि यस्तो अपमान र यातना पाएपछि उहाँ सहन सक्नु भएन । सिधै त्रिशूलीतिर हामफाल्न कस्सिनुभयो । समाजले न मर्न दिन्छ, न बाँच्न नै उहाँ भन्नुहुन्छ, “एक जना गाउँकै भाइले देखेर बचायो ।” सन्तान नहुनुमा दोष उहाँको मात्रै छैन । कुलत र धुप्रपानमा फसेका श्रीमानमा शुक्रकिट कमी हुनाका साथै उहाँको अण्ड विकास कमजोर छ । 

दम्पती दुवैको समस्याले सन्तान नजन्मिएको हुँदा समाजले महिलालाई नै दोषी ठहर गर्ने पितृसत्तात्मक सोचको सिकार उहाँ हुनुभएको छ । डा.उमा श्रीवास्तवका अनुसार सन्तान नहुनुको सामाजिक विभेदमा सबैभन्दा बढी महिला पर्नुहुन्छ । ६० वटा मुद्दामा एक जना मात्रै पुरुष पीडित हुनुहुन्छ । नभए सबै महिला सामाजिक र पारिवारीक चपेटामा परेको अवस्था छ । सन्तान नभएकै कारण ‘बाँझी आइमाई’ भन्दै सरापेर नन्दले तातोपानी खनाइदिएको घटना डा.श्रीवास्तवले पीडितबाट सुनेको बताउनुभयो । 

श्रीमानबाट सन्तान नहुने सम्भावना देखिएमा पत्नी अझै पीडित हुन्छन् । कतिपय श्रीमानले आफू सन्तान उत्पादन गर्न नसक्ने अवस्था लुकाउन तीन जना पत्नी बिहे गर्नपछि नपरेको उदाहरण छन् । डा.श्रीवास्तवका अनुसार पत्नी पढेलेखा शिक्षित र सुन्दर थिए । श्रीमानको कुनै राम्रै व्यवसाय छ । उहाँ काठमाडौँ बाहिरबाट आउनुभएको थियो । एक सन्दर्भमा श्रीमतीले “मभन्दा अघिकी श्रीमती बच्चा नहुँदै छोडेर गएपछि उहाँले मलाई बिहे गरेको” भन्नुभयो । श्रीमतीले खुलेर कुरा गर्नुभयो तर श्रीमान अलि अनकनाउँदै हुनुहुन्थ्यो । 

यसअघि धेरै वर्षपहिले उहाँ दोस्रो पत्नी लिएर क्लिनिकमा निःसन्तान उपचार गर्न आउनुभएको थियो । त्यतिबेला नै चिकित्सकले तपाईको शुक्रकीट उत्पादन हुँदैन, वीर्यदाताबाट सन्तान जन्माउन सकिन्छ भन्दै सल्लाह दिइएको थियो । त्यो सल्लाहले ती पुरुष रिसाएर अस्वीकार गरे । आफू सन्तान उत्पादन गर्न सक्षम भएको दाबी गर्दै उहाँले फेरि अर्को बिहे गर्नुभएछ । तेस्रो पत्नीका साथ पुनः क्लिनिकमा उपचार गर्न आएपछि डा.श्रीवास्तवले त्यही सल्लाह दिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पितृसत्तात्मक सोचले पुरुषले यथार्थ स्वीकार गर्दैनन् जसको मर्कामा महिला परेका छन् ।” 

नेपाली समाज बाँझोपन ठूलो समस्याका रुपमा देखापरेको छ । निःसन्तान केन्द्रकी चिकित्सक डा.उमाले केही वर्षयता निःसन्तानको समस्या बढ्दो रहेको बताउनुभयो । विश्वभरि नै प्रत्येक दिन छजनामध्ये एक जनामा बाँझोपन भएको उहाँ सुनाउनुहुन्छ । ढिलो विवाह, खानपान, परिवार नियोजनका अस्थायी साधनको अत्याधिक प्रयोगलगायत थुप्रै कारणले बाँझोपन निम्तिएको डा.श्रीवास्तवको ठहर छ । 

आमा बन्ने मोह र सामाजिक दबाबमा परेर महिलाले सन्तानको इच्छा पूरा गर्न अनेक कष्ट र चुनौती पार गर्नुपर्ने हुन्छ । यसको पछिल्लो उदाहरण हो थापाथलीस्थित प्रसूति गृहबाट नवजात शिशु चोरी गरेर लगेकी एक महिलाको मर्मस्पर्शी घटना । पटक-पटक सन्तान गर्भपतन भएको पीडासँगै बच्चा नभएर घरै फर्किन नसक्ने स्थिति भोग्दै आएकी ती महिलाले बच्चा चोर्नुबाहेक कुनै उपाय नदेखेको बताउनु भएको थियो । 

टेस्ट्युब बेबीको अवधारणालाई नेपालमा प्रयोग गर्नुभएका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालका अनुसार बाँझोपनको पीडा सामान्य होइन । महिलाले यो समस्याबाट धेरै दुःख र यातना पाउनुभएको छ । वि.सं.२०४० यताको तथ्याङ्क हेर्ने हो भने बाँझोपनको दर उकालो लागेको डा.रिजालको ठम्याइ छ । झन्डै १० वर्षअघिको आँकडा हेर्दा १५ प्रतिशत निःसन्तान समस्या देखिएको थियो । यो तथ्याङ्क बढेर २२ प्रतिशत पुग्न लागेको उहाँ सुनाउनुहुन्छ । “वैदेशिक रोजगारमा जाने श्रीमान र ढिलो विवाह गर्ने महिलाको सङ्ख्या बाँझोपनको मूल समस्या बन्दै गएको छ”, उहाँ थप्नुहुन्छ, “साथै अनधिकृत औषधि सेवनले पाठेघर कमजोर बनाउँदैछ ।” रासस