• १४ फागुन २०८१, बुधबार

इलाम–२ मा नमुना निर्वाचन गर्छौं : आयुक्त तुलाधर

blog

इलाम –२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिंदै । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, चैत २२ गते । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र –२ को उपनिर्वाचनलाई निर्वाचन आयोगले नमुना निर्वाचन गर्ने भएको छ । 

आयोगको आयुक्त जानकी तुलाधरका अनुसार आज इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि उद्घाटन गरिएको छ । आयुक्त तुलाधरले आयोगको ध्यान इलाम –२ मा केन्द्रित रहेको बताउनुभयो ।  

निर्वाचनका लागि आवश्यक सबै संयन्त्र तयारी अवस्थामा रहेको भन्दै तुलाधरले निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्न र गराउन राजनीतिक दलहरु पनि प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । 

तुलाधरले यसअघिको निर्वाचनमा पनि आयोगमा आचारसंहिता उल्लङ्घनका ६१७ उजुरी परेको भन्दै कार्वाहीको प्रक्रिया चलाइएको बताउनुभयो । उहाँले तीनसय ५२ लाई स्पष्टीकरण सोधिएको, १९ लाई जरीवाना गरिएको, छ जनालाई सचेत गराइएको बताउनुभयो । तीन जनालाई स्पष्टीकरण निर्देशन गरिएको उहाँको भनाइ छ । 

‘यस पटक इलाममा आचारसंहिता उल्लङ्घन हुँदैन भन्नेमा हामी विश्वस्त छौं । कर्मचारी, दल अथवा कसैबाट उल्लङ्घन हुन्छ भने ऊ आफैं पनि सजागको भागीदर बन्छ’ तुलाधरले भन्नुभयो, ‘आयोगले त्रुटिरहित निर्वाचन गराउँछ ।’ 

तुलाधरले यस पटक निर्वाचन आयोगले नयाँ मतदाताले पनि मतदिन पाउने नयाँ व्यवस्था गरेको जानकरी दिनुभयो । वैशाख १४ गते १८ वर्ष पूरा भएका मतदाताले पनि वैशाख १५ गते मत हाल्न पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

कार्यक्रम जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो । यस पटकको निर्वाचनका लागि इलाम –२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको बताइएको छ । इलाम –२ मा इलाम नगरपालिका, देउमाइ नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका ४२ वडामा उपनिर्वाचन हुँदैछ ।