• २३ वैशाख २०८१, आइतबार

चतराधाममा ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला

blog

काठमाडौँ, चैत २२ गते । सुनसरीको चतराधाममा एकमहिने ‘बाह्रवर्षे  पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला लाग्ने भएको छ । सो मेला चैत २७ देखि वैशाख २८ सम्म वराहक्षेत्र नगरपालिकामा लाग्नेछ । तिथि अनुसार चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म सो मेला लाग्नेछ । ‘मेरो देशको तीर्थ, मेरो देशको सान : सनातन धर्म र संस्कृति मेरो देशको पहिचान’ भन्ने मूल नाराका साथ उक्त मेलाको आयोजना गर्न लागिएको हो । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार कुम्भ मेला तयारी मूल आयोजक समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा मूल समितिका संयोजक नेपाल सरकारका सचिव अर्जुन पोखरेलले सो जानकारी दिनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सो मेलाको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जनाइएको छ । उहाँले उक्त मेलाको आयोजनाले मुलुकको धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वासका साथ सरकारले नै कुम्भ मेलाको विशेष व्यवस्थापन गर्न लागेको जानकारी दिनुभयो । उहाँले सप्तकोशीको किनारमा लाग्ने मेलामा सहभागी भई आनन्द तथा लाभ लिन सबैमा आग्रहसमेत गर्नुभयो । 

मेला व्यवस्थापनका लागि केन्द्रीयस्तरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेलको संयोजकत्वमा केन्द्रीय मूल ‘फोकल प्वाइन्ट’ र प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा प्रदेश समन्वय एकाइ गठन गरिएको छ । जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले वराहक्षेत्र चतराधामलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि चिनाउने उद्देश्यले महाकुम्भ मेलाको आयोजना गर्न लागिएको बताउनुभयो । 

धार्मिक र आध्यात्मिक दृष्टिकोणले उत्कृष्ट पवित्रस्थलका रूपमा रहेको चतराधाममा स्नान गरेमा पुण्य प्राप्त हुने बताउँदै उहाँले यस मेलाको आयोजनाबाट मुलुकको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो । मेलामा नेपाल, भारत, बङ्गलादेशसहित १० मुलुकबाट एक करोडभन्दा बढी भक्तजन आउने विश्वास गरिएको गुरु देवाचार्यले बताउनुभयो ।

आयोजकका अनुसार मेलामा कोटिहोम, वेदपाठ, पुराण वाचन, सामूहिक व्रतबन्धको आयोजना, जगद्गुरु, शङ्कराचार्य र धर्माचार्यबाट प्रवचनका साथै झाँकी, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनको समेत आयोजना गरिने छ ।