• २३ वैशाख २०८१, आइतबार

पेट्रोलियममा आशा

blog

कस्तूरीले आफ्नै नाभिदेखि निस्किएको सुगन्धमा लट्ठिएर कताबाट आएको होला भन्दै पत्ता लगाउन नथाकुञ्जेल दौडिरहन्छ भन्ने भनाइ छ । आफ्नै शरीरको सुगन्ध भेउ नपाउने कस्तूरीको जस्तै छ हाम्रो नियती पनि । आफ्नै जमिनमुनि अनेक खनिज पदार्थ हुन सक्ने अनुमान गरिन्छ तर उत्खनन गर्न सामथ्र्य पुगिरहेको छैन । हुन सक्छ, इच्छाशक्तिकै कमीले अन्वेषणतर्फ अगाडि बढ्न सकिरहेका छैनौँ । अनेक ठाउँमा फलाम तथा तामाका खानी भएको पुष्टि भइसकेको छ । विभिन्न नदीका बालुवामा सुन भेटिने गरेको छ । बालुवामा सुन खोजेर जीविकोपार्जन गर्ने समुदाय पनि छँदै छन् । अन्वेषण गर्ने हो भने सुनखानी पनि नभेटिएला भन्न सकिँदैन । यसै गरी पेट्रोलियम पदार्थ पनि विभिन्न स्थानमा हुन सक्ने आकलन धेरै अघिदेखि गरिँदै आएको हो । यतिबेला भने दैलेख जिल्लाको शिरस्थान र नाभिस्थान क्षेत्रमा अन्वेषण तथा उत्खनन कार्यलाई तीव्रता दिइएको समाचारले पत्रपत्रिकामा प्रमुखता पाएका छन् ।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग भएको सम्झौता अनुसार खानी अन्वेषण तथा उत्खननको काम हुँदै आएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेका केही घरपरिवारको जग्गा अधिग्रहण गरेर उत्खनन कार्य अगाडि बढाएको छ । उत्खनन गर्न यस क्षेत्रमा अन्तिम ड्रिलिङ सर्भे गर्न चीनबाट ल्याइएका आवश्यक उपकरण बोकेका मालवाहक ट्रक सो क्षेत्रमा पु¥याइसकिएको छ । सडक साँघुरो भएका कारण ठुला ट्रकलाई मोड नपुगेकाले केही दिन रोकिएपछि मोड बढाउने कार्य पनि सँगसँगै गरिएको हो । खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजना शाखाका अनुसार पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणका लागि १५० वटा ट्रकमा ल्याइएका उपकरण पु¥याइसकेपछि अन्वेषण कार्यलाई तीव्रता दिइने छ । यसअघि दुई चरणको अध्ययनबाट पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेकाले तेस्रो चरणको अध्ययनमा पेट्रोलियम पदार्थ भण्डारणको अवस्था पत्ता लगाइने भएको हो । अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर जमिनमुनिसम्म ड्रिलिङ गरिसकेपछि पेट्रोलियम पदार्थ भण्डारण क्षमता कति छ भन्ने पत्ता लाग्ने र त्यसपछि मात्र अर्को प्रक्रियामा जाने विभागले जनाएको छ ।

नेपाल र चीन सरकारबिच भएको सम्झौता अनुसार चिनियाँ प्राविधिक टोलीले २०७६ सालमा पहिलो पटक गरेको स्थलगत अध्ययनका क्रममा श्रीस्थान, नाभीस्थान र पादुका क्षेत्रमा बलिरहेको अखण्ड ज्वाला पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेपछि पहिलो चरणको सम्भाव्यता अध्ययन गरिएको थियो । दोस्रो चरणमा ड्रिल मेसिनमार्फत अन्वेषण गरिसकेपछि अब भण्डारण क्षमता पत्ता लगाउन तेस्रो चरणको कार्य अगाडि बढाइएकोले पक्कै पनि उत्खनन कार्यमा सफलता मिल्ने विश्वास गरिएको छ । खानी तथा भूगर्भ विभागले २०३३ सालमा चुरे तथा तराई क्षेत्रलाई समेट्ने गरी पहिलो पटक सर्वेक्षण गरेको थियो । सरकारले २०३९ सालमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि परियोजना गठन गरेर छुट्टाछुट्टै क्षेत्रमा विभिन्न कम्पनीलाई जिम्मा दिएको थियो । अन्वेषण कार्यमा चासो देखाएका सेल कम्पनी अमेरिका, इमिरेट्स एसोसिएसन गु्रप युएई, केएन इनर्जी गु्रप बेलायत, टेक्साना रिसोर्सेस कम्पनी अमेरिका र विविवि च्याम्पियन्स अमेरिकालगायतका कम्पनीले लगानीको सुरक्षाप्रति प्रश्न उठाएर काम अघि नबढाएको विदित हुन्छ । 

पछिल्लो पटक चीनको नेसनल चाइना पेट्रोलियम कर्पोरेसनले तेल र ग्यासको उत्खननको सम्भावनाबारे पहिलो पटक २०७६ मा अध्ययन थालेको थियो । सतहमुनि चार किलोमिटरसम्म ड्रिलिङ गरेर हेर्दा पेट्रोलियमको मात्रा, उत्पादन गर्न सकिने मात्रामा छ छैन, गुणस्तर कस्तो छलगायत थाहा पाउन सकिने प्राविधिकको भनाइ छ । ड्रिलिङ कार्य थालेपछि त्यसको अन्तिम अन्वेषण सक्न पाँच महिना लाग्ने विभागले जानकारी दिएको छ । मुलुकले बेहोरिरहेको पेट्रोलियम पदार्थप्रतिको परनिर्भरताबिच अन्वेषण कार्यले आशा जगाएको छ । जैविक इन्धनको अन्वेषण तथा उत्खनन कार्यले सफलता हासिल गरेको खण्डमा मुलुकको आर्थिक समृद्धितर्फको ढोका छिट्टै खुल्नेमा विश्वस्थ हुन सकिन्छ । विद्युत् व्यापारमार्फत आर्थिक समृद्धिको यात्रा अगाडि बढाउने लक्ष्यसाथ काम गरिरहेको सरकारलाई जैविक इन्धनको अन्वेषण तथा उत्खननबाट थप आशा जगाएको अनुभूत हुन्छ । सरकारले अन्वेषणमा जुटेको चिनियाँ कम्पनीलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग पुर्‍याएको छ । अर्कोतर्फ ‘ग्रिन हाइड्रोजन’ इन्धनको परीक्षणमा लामो समयदेखि जुटेको काठमाडौँ विश्वविद्यालयको प्राविधिक टोलीलाई सफलता मिलेको समाचार सञ्चारमाध्यममा आइरहेका छन् । आगामी दिनमा प्राप्त हुने इन्धनको व्यवस्थापनका लागि आवश्यक पर्ने ऐन कानुनको तर्जुमा गर्नेतर्फ पनि बेलैमा लागिपर्न आवश्यक देखिन्छ ।