• १८ असार २०८१, मङ्गलबार

प्रदेशमा मोटामोटी सहमति

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत २० गते । सत्ता साझेदार दलहरू प्रदेशका मुख्यमन्त्री र मन्त्री भागबन्डामा समझदारी भएको छ । त्यसको फलस्वरूप बागमती प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बिच प्रदेश भागबन्डाबारे छलफल भएको हो । अरू प्रदेशमा पनि सहमतिको मोटामोटी खाका तय भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच प्रदेश भागबन्डामा मोटामोटी समझदारी भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताउनुभयो । 

“प्रधानमन्त्रीसहित केपी कमरेड र माधव कमरेड बसेर छलफल गर्नुभयो । समझादारीबमोजिम बागमती प्रदेशमा शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभयो,” उहाँले भन्नुभयो, “अरू प्रदेशमा बिस्तारै समझदारीमा पुग्ने भनिएको छ । यस्तै प्रदेशका मन्त्रीसहित अन्य राजकीय पदमा भागबन्डा गरेर जाने समझदारी भएको छ ।” उहाँले सुदूरपश्चिम प्रदेशमा पहिलो चरण एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने समझदारी भएको जानकारी दिनुभयो । त्यसपछि दोस्रो चरणमा कुन पार्टीबाट मुख्यमन्त्री बन्ने निष्कर्षमा नपुगेको उहाँले उल्लेख गर्नुभयो ।  

तर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा आफ्नो पार्टीबाट मुख्यमन्त्री बन्ने त्यसपछि दोस्रो चरणमा बागमती प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री लिने समझदारी बनेको दाबी गर्नुभयो । 

उपाध्यक्ष पाण्डेले कर्णालीका मुख्यमन्त्रीले विश्वासको मतको प्रक्रियामा गएपछि भागबन्डामा समझदारी बन्ने बताउनुभयो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार ३ बजे विश्वासको मत लिने तयारी गर्नुभएको छ । 

कर्णालीमा मुख्यमन्त्री एमालेको भागमा परको छ । त्यस अनुसार वातावरण मिलाउन प्रधानमन्त्री प्रचण्डले आफूलाई भनेको नेकपा (एमाओवादी) को कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशको चैत २२ गतेसम्म समझदारी बन्ने बताउनुभयो । यस्तै मधेश प्रदेशको मुख्यमन्त्री जनता समाजवादी पार्टी (जसपा) कै भएकाले त्यसमा तत्काल फेरबदल नहुने बताइएको छ । दोस्रो चरणमा मधेशको मुख्यमन्त्री को हुने भन्नेबारे कुनै समझदारी भएको छैन । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रक्रियामा गएपछि समझादारी बन्ने छ । यस प्रदेशमा एमालेबाट मुख्यमन्त्री हुने दलहरूबिच मोटामोटी समझदारी बनेको छ । कोशी प्रदेशमा धेरै अन्योल भएकाले तत्काल कुनै निर्णयमा नपुगिएको नेताहरूले बताएका छन् ।  

 

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।