• २१ वैशाख २०८१, शुक्रबार

बुढ्थापाको गीतिनाटक ‘प्रतिज्ञा’ विमोचन

blog

गीतिनाटक ‘प्रतिज्ञा’ को विमोचन गरिँदै । तस्बिर : गोरखापत्र

नेत्र शाही 

जुम्ला, चैत १९ गते । वि.सं २०३८ सालमा लेखिएको गीतिनाटक ‘प्रतिज्ञा’ को तेस्रो प्रकाशन विमोचन गरिएको छ । जुम्लामा सुर्खेत–जुम्ला उच्च अदालत इजलासका न्यायाधीश कैलाश गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यबाट लेखक ७७ वर्षीय रामकृष्ण बुढ्थापाद्वारा लिखित नाटकको विमोचन गरिएको हो । 

विमोचन कार्यक्रममा बुढ्थापाले तत्कालीन समयमा पञ्चायतले आफूलाई जेल हालेपछि  प्रतिज्ञा नाटकको जन्म भएको जानकारी दिनुभयो । लेखक बुढ्थापाका अनुसार गरिबी विरुद्ध जागरण दिने र पञ्चायतविरुद्ध लेखिएको प्रतिज्ञा नाटकका कारण आफूलाई पटक पटक जेल हालिएको थियो । 

उहाँलाई वि.सं २०३८ साल असोज महिनामा पक्राउ गरी नौ महिना कारागार चलान गरिएको जानकारी दिनुभयो । जेलभित्र लेखिएको नाटकमा मुख्य पात्र श्रीमान् चैते, श्रीमती वैशाखी र छोरा गोपाल हुन्छन् । 

श्रीमान् चैते साहुको काम गरिरहेपनि छोराको उपचारमा आर्थिक सहयोग नहुँदा जिल्ला प्रशासन कार्यालयमा जाँदा पनि न्याय पाउदैनन र उपचार नभएपछि छोरा गोपालको निधन हुन्छ । 

यसरी उपचार नपाएर छोराको निधन हुनु तर आर्थिक बटुलिरहेका समाजमा धनी व्यक्तिले भारी बोकेर श्रमको मूल्य समेत नदिनु समाजको चित्र देखाउने सो नाटकले कर्णालीको तत्कालीन समयको गरिबिको झल्को पनि दिन्छ । 

पञ्चायतमा जेलभित्र लेखिएको नाटक वि.सं २०४९ आश्विनमा पहिलो संस्करण, २०५२ साउनमा दोस्रो संस्करण प्रकाशन भएको थियो तर त्यो प्रकाशन नपाइए पछि नाटकका कलाकार तथा पाठकहरूको मागमा तेस्रो प्रकाशन गर्नु परेको लेखकले बताएका छन् । विमोचन कार्यक्रममा गीति नाटक गरिबिको चक्र हटाउने सचेतना दिने रहेको सुझाव दिएका छन् । 

सुर्खेत जुम्ला उच्च अदालतका न्यायाधीश कैलाश गुरुङले प्रतिज्ञा नाटक मुना मदन कविता भन्दा कम नभएको टिप्पणी गर्नु भयो । उहाँले औषधी मुलो नपाएर गरिबिको कथा बनेको यो प्रकाशन महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले ७७ वर्षीय लेखक बुढ्थापा राजधानी सँगको पुल हुन सक्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बुढ्थापा आदर्श राजनीतिज्ञ रहेको बताउनुभयो । 

नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले नाटक मञ्चन गर्दै गर्दा जेल गएको प्रत्यक्षदर्शी भएको बताउँदै बुढ्थापाको आदर्श राजनीतिले आफूहरूलाई पनि राजनीतिमा समेत ल्याएको बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपानेले पढ्ने संस्कृतिको विकास घटिरहेको समयमा ७७ वर्षीय नागरिकले प्रतिज्ञा नाटक पुनः प्रकाशन गर्नु भएकोमा सबैलाई प्रेरणा दिने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णालीको गरिविविरुद्धको बिगुल फुक्ने गीतिनाटक ७७ वर्षीय ज्येष्ठ नागरिक बुढ्थापाले युवाको भन्दा बढी सक्रियताका साथ काम गरेकोमा जोड दिनुभयो । गीतिनाटकका पात्रहरू भने दर्जनौँ रहेका छन् । सो नाटक कर्णाली क्षेत्र र भेरीका दैलेख, नेपालगञ्ज, बर्दियामा समेत गरिएको थियो । 

बुढ्थापाले पञ्चायतमा साबिक चन्दननाथ गाविसको प्रथम प्रधानपञ्च निर्वाचित भएको दुई वर्षमा पदबाट राजीनामा दिएपछि तत्कालीन सरकारले पुनः जेल हालेको थियो । नाटकको विमोचन कार्यक्रममा आयोजक कर्णालीको पहिलो पत्रिका कर्णालीको सन्देश साप्ताहिक पत्रिकाका संस्थापक र सहयोगीलाई सम्मान समेत गरिएको थियो ।