• ७ मंसिर २०८१, शुक्रबार

सोलढुङ्गा (लघुकथा)

blog

तल खोला बगिरहेको थियो । दुमालीछालाई आफ्नो घर गोठ पहिरोले लाने हो कि ? सधैँ त्रास मनमा थियो । कहिलेकाहीँ पहिरो हेरेर आफैँ तर्सन्थ्यो । बेहोस भएको अनुभव गथ्र्यो । वारिपारि ठुला भिरपहरा देखेर बेचैन हुन्थ्यो । आफ्नो प्राणभन्दा प्यारो छोराछोरीलाई केही नहोस् भनेर माटोलाई ढोग्दै अनुनय गथ्र्यो । प्रायः सधैँ घरको आँगनमा निस्केर माथि देखिने अग्लो पहाडलाई हेर्दै निरस हुन्थ्यो । वर्षायाममा झन् उसले त्रासमा दिनरात काट्थ्यो । अनि ! दोवां नोक्छौँसँग याचना गथ्र्याे । याचना गरेको पल आत्मा शान्त हुन्थ्यो । विश्वासले मनको त्रास भागेको हुन्थ्यो । जब आकाशमा कालो बादल मडारिएर आउँथ्यो । पानी झर्ला जस्तो हुन्थ्यो । आफ्नो घर पहिरोले बगाएर लाने हो कि ? भयले आक्रान्त हुन्थ्यो । वर्षौदेखि दुमालिछाको जीवन यसरी नै बित्दै गयो । समयहरू फेरिँदै आयो ।

समयको खेल कसलाई थाहा थियो । एक दिन उसरी नै भल पहिरो खोलामा आयो । महिनौँ दिनसम्म निरन्तर आकाशबाट पानी परिरह्यो । उनको छोरीलाई माथि पहाडबाट बगेको भल पहिरोले बगायो । मायाको निशानी प्रकृतिमा अनायास विलिन भयो । गोठाला गर्न गएकी छोरीलाई सम्झेर भावविह्वल रुन थाल्यो । घर अशान्त थियो । गोठको एक भेडाले नियाउँरो अनुहार बनाएर दुमालिछालाई भन्यो–“दुमालीछा ! सेलिबुङलाई पहिरोले बगायो । उनको मृत्यु भयो । हामीले समातेर बचाउन प्रयास ग¥यौँ तर केही गर्दा पनि सकेनौँ । हामी उनको दुःखद मृत्युले रोइरहेका छौँ । दोवांलाई सहयोग मागिरहेका छौँ । उनको तिनचुलामा बास होस् भनेर ।”

दोवां अलौकिक शक्तिशाली किराँती धामी भएर प्रकट भए । दोवांलाई यी सबै घटना थाहा थियो । दोवांले दुमालिछाको दुःखद विरह अब भने सुन्न सकेन । गोठका भेडाहरूको क्रन्दन सुन्न सकेन । उनीहरूको रोदनले दोवांको मन छियाछिया भयो । मन पग्लियो । पृथ्वीमा भल पहिरो अझ बगिरहे थियो । दोवांले आफ्नो अद्भूत मन्त्र हातमा अदुवा अछेता फुक्यो । फेरि मन्धुम मन्त्र फुकेर आकाशमा हेर्दै भन्यो, “अब यहाँ भन्दा पहिरो बग्ने छैन । मेरो सन्तानको कल्याण हुने छ ।”

अचानक ! दोवांले भन्नासाथ एउटा आश्चर्य पूर्ण ठुलो सोप्तुलुङ पवित्र ढुङ्गा उत्पत्ति भयो । अग्लो डाँडामा सबैले देख्ने ठाँउमा सोप्तुलुङ उभियो । भल पहिरो रोकियो । फेरि दोवांले भन्यो, “मलाई सम्झेउ ! अब डराउन पर्दैन । केही भएमा मलाई सम्झेर यो सप्तुलुङमाथि रक्सी अदुवा छर्केर उठाउनु ।” त्यति भनेर दोवां पृथ्वीबाट अलप भए ।

त्यसपछि आजसम्म पहिरो छेकेर सोप्तुलुङ उभिरहे छ । आफ्ना सन्तानको रक्षा गरिरहेछ । त्यसपछि पहिरो बिस्तारै रोकिएको भन्ने गरिन्छ । कालान्तरमा सोप्तुलुङलाई धेरै समयपछि मानिसहरूले सोलढुङ्गा भन्न थाले । पहिरो रोकिएपछि त्यो सुन्दर प्रकृतिको आसपास प्राचीन मानिसहरूको बस्ती विस्तार भयो । दुमालिछा किराँतहरूको नामबाट त्यहाँ बग्ने प्रख्यात खोलाको नाम दुम्छा भएको हुन सक्छ । 

वर्तमान अवस्थामा किरात धर्मावलम्बीहरूले आफ्नो पवित्र धामको रूपमा पूजा गर्ने चलन छ । हिन्दुहरूले पनि धार्मिक पर्यटकीय स्थलको रूपमा पुज्ने गर्छन् । यो सोलढुङ्गा खोटाङ जिल्लामा अवस्थित छ ।    

Author

प्राडा विष्णु राई