• ७ मंसिर २०८१, शुक्रबार

पुरस्कार (लघुकथा)

blog

“सर, नमस्कार । हाम्रो पब्लिकेसनको वार्षिकोत्सवमा मैले उत्कृष्ट रिपोर्टरको पुरस्कार पाएँ । हजुरले हिमाली जिल्लाहरूको समाचार, अन्तर्वार्ता र विविध लेखरचना तयार पार्न मलाई धेरै सहयोग गर्नुभयो । कहिले झर्नुहुन्छ त तलतिर ? आउँदा भेट्नुहोला है” फेसबुक म्यासेन्जरमा पत्रकार बहिनीको म्यासेज आयो । “ल बधाई छ नानी, म धेरै खुसी छु” मैले जवाफ पठाएँँ ।

हिउँ पर्न थालेपछि तल अर्थात् छिमेकी जिल्ला झरियो र उनलाई भेटियो । उनले क्याफेमा गएर कुरा गर्न खोजिन । गाह्रो मानी मानी म उनीसँगै गएँ । “सर, तपाईं त इन्जिनियर भएर पनि साहित्य र पत्रकारितामा यति राम्रो दखल राख्नुहुँदो रहेछ । अरू जिल्लामा पनि यो काम गर्नुभएको थियो ?” उनले जिज्ञासा राखिन् ।

“हो, मैले ताप्लेजुङदेखि दर्चुलासम्मका नौ जिल्लामा यस्तो काम गरिसकेको छु । इन्जिनियरिङ मेरो पेसा र पत्रकारिता मेरो रुचि हो । हाम्रो अफिसले ‘दुर्गम क्षेत्रको गतिविधि’ नामक त्रैमासिक बुलेटिन निकाल्छ । त्यस्तै, वार्षिक रूपमा ‘सुगम बन्दैछन् दुर्गम भेगहरू’ नामक डकुमेन्ट्री फिल्म पनि बनाउने गर्छ । त्यो काम हामी आफैँ मिलेर गर्छौं । अन्य संस्थाबाट भत्ता खाने गरी पत्रकार बन्न मिल्दैन,” मैले भनेँ ।

वेटरले रेन्बो ट्राउट माछा र हट लेमन लिएर आयो । एकछिन सन्नाटा छायो । माछा खाइसकेपछि उनले झोलाबाट एउटा लक्जरी डायरी झिकेर दिँदै भनिन्, “खोल्नुस् त सर यो डायरी ।” डायरी खोल्नासाथ सङ्गीतको धून बज्यो, “रेशम फिरिरि, रेशम फिरिरि, उडेर जाउँ कि डाँडैमा भन्ज्याङ, रेशम फिरिरि ।” डायरीमा लेखिएको थियो, “परिश्रमी हातहरू कहिल्यै नथाकून् ।” त्यो पढ्दा मेरा आँखा रसाए । उनले सोधिन, “के भयो सर ?” मैले भनेँ, “मेरो एउटा मात्र हात छ, केवल दाहिने हात । त्यही हातले धेरैलाई पुरस्कार दिलाएको छ ।” उनका आँखाबाट पनि बररर आँसु झर्न थाले ।    

Author

नवराज न्यौपाने ‘मौन’