आज देवीरमणको गति त्यस बालक छात्रको जस्तो थियो, जो पहिलो दिनको पाठ बिर्सेर अबेला गुरुकहाँ पुग्दछ अर्थात् कथाकार गुरुप्रसाद मैनालीका यी सुन्दर अभिव्यक्ति ८६ वर्षअघि नासो कथाको माध्यमद्वारा नेपाली साहित्य समाजका पाठकसामु सार्वजनिक भएको हो ।
ऐतिहासिक साहित्यिक पत्रिका शारदामा संवत् १९९२ सालमा ‘नासो’ शीर्षकको कथा प्रकाशित भएपछि मैनालीको साहित्ययात्रा प्रारम्भ भएको थियो । उनले जीवनमा थोरै मात्र कथा लेखे तर ती सबैले उत्कृष्टताको मापन कायम गरे । उनका सबै कथा–सिर्जनाले उच्चताको शिखर चुमेका छन् ।
कुनै पनि विषयवस्तुमा कथा सिर्जना गर्नुपूर्व कथानक घटनाको कल्पना अनिवार्य सर्त हो भने जस्तै कथानक घटना निर्माण गर्दा आदर्शवादलाई नास हुन दिनुहुन्न भन्ने मान्यता उनको कथामा छ । त्यसैले साहित्यको मूल उद्देश्य सुधार हो र त्यसो हुनाले विकासशील वा प्रगतिशील युगमा कथामा आदर्शवाद हरायो भने त्यसलाई निरर्थक सम्झनु पर्दछ ।
रोचकहीन कोरा आदर्श पक्षलाई आजका बौद्धिक पाठक वर्गले सहज रूपमा मन पराउँदैनन् भन्ने तथ्यलाई पनि कथाकार मैनालीले राम्रैसँग बुझेका छन् । नेपाली ग्रामीण परिवेशका वेदनात्मक पक्षका चित्रणमा मैनालीका अधिकांश कथा शोक, विरह, छटपटी र पीडाको प्रतीकका रूपमा उभिएका छन् ।
मानवीय जीवनका यावत् पक्षका साथै कुनै एउटा नायक पात्रको जीवनको सङ्कटमय घटनालाई कलापूर्ण तरिकाले लेख्नु यथार्थमा कथा सिर्जना हो भन्ने तत्वबोधलाई औधि राम्रोसँग बुझेका कथाकार मैनालीको जन्म संवत् १९५७ साल भदौमा काभ्रे जिल्लाको कानपुर गाउँमा भएको थियो तर मैनालीको जन्मथलोका बारेमा पनि विवाद रहेको छ । कतिले उनको जन्म धादिङ भनेका छन् भने केहीले धनकुटासम्म पु¥याएका भए पनि कानपुर नै आधिकारिक जन्मथलो हो ।
कानपुरबाट बसाइँ सर्ने व्रmममा मैनालीले नुवाकोटको कविलास भन्ने गाउँमा पनि स्थायी बसोबास गरेका थिए । निजामती सेवाका क्रममा अनेक अड्डामा बिताएका गुरुप्रसादले अवकाश प्राप्तपछिको बुढ्यौली जीवन भने चितवन जिल्लाथित खैरहनीको मझुई गाउँमा बिताएका थिए तर उनको निधन २०२८ साल जेठ ५ गते ७१ वर्षको उमेरमा काठमाडौँमा भएको थियो ।
पहिलो पटक शारदामा नासो कथा प्रकाशित भएपछि संवत् १९९५ सालसम्म मैनालीका कथाहरू फाटफुट रूपमा शारदामै प्रकाशित भएका थिए । नेपाली साहित्यमा शारदाको प्रकाशन साहित्यिक भाषाको उन्नति र गद्यको विकासमा महìवपूर्ण उपलब्धि पनि हो । विसं १९९१ सालमा शारदाको प्रकाशन प्रारम्भ भएको थियो ।
नेपाली साहित्यका कथाशिल्पी मैनाली आधुनिक कथा क्षेत्रका अगुवा र लोकप्रिय कथाकार हुन् । जुन समय आधुनिक कथा लेखन कला अभावको समस्या थियो, त्यतिबेला जो जसले जहाँबाट कलम चलाए; ती कलमका डोबहरू उत्कृष्ट नै रहे । आधुनिक नेपाली कथा साहित्यका अत्यन्तै लोकप्रिय र जनप्रिय अग्रणी कथाकार मैनालीका समकालीन कथाकारहरूमा क्रमशः पुष्करशमशेर जबरा, बालकृष्ण सम, रूपनारायण सिंह, भीमनिधि तिवारी, भवानी भिक्षु र विश्वेश्वरप्रसाद कोइराला आदि हुन् ।
यी कथाशिल्पीहरूका अतिरिक्त नेपाली साहित्यमा असङ्ख्य कथाकारहरूको उदय भइसकेको भए पनि सत्यवादी रूपमा भन्ने हो सबै सबैका अग्रज आधुनिक कथाशिरोमणि मैनाली नै हुन् । उनको एउटै मात्र पुस्तकाकार कृति ११ वटा कथाको सङ्ग्रह नासो संवत् २०२० सालमा डा. तारानाथ शर्माले सम्पादन गरेका हुन् ।
एघार कथाको सङ्ग्रह नासोमा सामाजिक जनजीवनको प्रतिनिधित्व भएको छ । यो कथासङ्ग्रह आजसम्म आइपुग्दा धेरै पटक संस्करण प्रकाशित भइसकेका छन् । आधुनिक नेपाली कथा साहित्यका प्रारम्भकालीन चम्किला तारा मैनालीका यी कथाहरू २००७ सालपूर्व र पश्चात्को पेरिफेरिमा लेखिएका हुँदा तत्कालीन समय र समाजको रीतिस्थितिबारे पनि कथामा झर्रो नेपाली भाषाको कलात्मक प्रयोगले अझ बढी सुन्दर बनाएको छ ।
एघार वटा कथामध्ये नासो कथाबाट कथासङ्ग्रहको नाम राखिएको छ । नेपाली जनजीवनलाई औधि प्रभावित बनाएर कलात्मकसाथ कथाको चित्रण प्रस्तुत गर्न पुगेका मैनालीका कथामा नासो, परालको आगो, बिदा, सहिद र छिमेकी कथाहरू अत्यन्तै राम्रा कथा हुन् । नासोमा समावेश अन्य कथाहरू पनि क्रमशः प्रायश्चित, पापको परिणाम, अभागी, कर्तव्य, प्रत्यागमन र चित्ताको ज्वाला हुन् । महìव र रोचकताका दृष्टिले पनि उनका सबै कथा समान दृष्टिकोणबाट अभिप्रेरित छन् ।
अन्ततः आफ्नो ७१ वर्षे लामो जीवनकालमा मैनालीले ११ वटा मात्र कथा लेखे पनि उनका कथावस्तुले नेपाली ग्रामीण जनजीवनको कारुणिक र मार्मिक पक्षलाई सुन्दर अभिव्यक्तिद्वारा उर्वरशील बनाएको छ । शैलीमा नेपालीपन, भावनामा गाउँले सजिलोपन, विचारमा सुधारको लक्ष्य र चित्रणमा रमाइलो कलात्मकता मैनालीका कथाका विशेषताहरू हुन् । लेखनीमा सुक्तिमयता, यथार्थमूलक, आदर्शको प्रतिपादन, सरलता, सरसता र रोचकता उनका कथाका मुख्य वैशिष्ट्य हुन् ।
जीवनको लामो कालखण्डमा मैनालीले निजामती सेवा अन्तर्गत न्याय सेवामा न्यायाशीधसम्म भएर काम गर्दा आफूले देखे भोगेका घटनालाई आधुनिक कथाशिल्पमा असाधारण शैली र रूपमा प्रस्तुत गर्न सक्नु उनको प्रतिभा क्षमताको द्योतक हो । समाज र साहित्य एकअर्काका परिपूरक हुन् भन्ने तथ्यलाई कथाकार मैनालीले साह्रै राम्रोसँग बुझेका छन् । त्यसैले समाजबिना साहित्य जीवन्त रहन सक्दैन् भने साहित्यबिनाको समाज अपाङ्ग रहन्छ ।
हृदयहीनता, घृणाबाट उत्पन्न हुने झैझगडा, सौताको रिसबाट हुने पीडाबोध तथा दरिद्र र शोषणबाट हुने वेदनाहरू नै उनका कथामा झल्कने प्रमुख विषयवस्तु हुन् । नासो कथासङ्ग्रहमा समाविष्ट ११ कथामध्ये नासो कथा अति उत्कृष्ट छ; जहाँ जुन घरमा प्रशस्त धन सम्पत्ति, नोकरचाकर र सुखसयल आदिको चरम सम्पन्नता भएर पनि सन्तान नहुँदाको पीडा सुभद्रा जस्ती गृहलक्ष्मीले आफ्ना पतिदेव देवीरमणलाई दोस्रो विवाह गरी सौता भित्र्याउन दिएको सहज अनुमति तथा पछि त्यही सौताको अभद्र व्यवहारबाट झैझगडा खप्न नसकी आफ्नो घरसमेत त्यागी अपार सम्पत्ति सम्पन्न सुभद्रा जस्ती एक आदर्श नारी मध्यरातमा एउटा सानो कपडाको पोको च्यापेर गौरीघाटमा शरण लिन पुग्छिन् तर, कस्तो विडम्बना ?
एक नारीको विषय वेदनालाई कथाकार मैनालीले अति घतलाग्दो पारामा प्रस्तुत गरेका छन् भने परालको आगो कथामा दुई मात्र चामे र गौँथलीको झैझगडालाई परालको आगोको संज्ञा दिएका छन् । त्यसै गरी उनका अन्य कथावस्तु पनि उत्तिकै मार्मिक छन् ।
कथा विषयवस्तुको प्रतिपादन र शैलीको चमत्कारी संयोजन दुवैमा परालको आगो मैनालीको सर्वश्रेष्ठ कथा हो । सफल दाम्पत्य जीवनका दुई अनिवार्य तìव लोग्ने र स्वास्नीबिचको झगडा वास्तवमै चामे र गौथलीको जीवनमा कथाकारले प्रस्तुत गरे झैँ परालको आगो जस्तै क्षणिक र अस्थायी हुन्छ ।
घरायसी रूपमै साधारण शिक्षा आर्जन गरेका कथासर्जक मैनालीले हिन्दी कथाहरूको गहन अध्ययनबाट प्रभावित भएर नेपाली समाजका लागि कथा लेखेका हुन् तर हिन्दी कथासाहित्य पनि पाश्चात्य साहित्यबाट प्रभावित छ । त्यसैले नेपाली साहित्यमा महाकवि देवकोटाको मुनामदन, माधव घिमिरेको गौरी र लीलबहादुर क्षेत्रीको सामाजिक उपन्यास बसाइँको जुन स्थान छ, मैनालीका कथाको पनि त्यही स्थान रहेको छ ।
आधुनिक नेपाली कथासाहित्यका पुराना एवं युवा कथाकारलाई प्रोत्साहित गर्ने उद्देश्यले आफ्ना पिताको पुण्यस्मृतिमा मैनालीका सुपुत्रहरू डा. सुशील, राजेन्द्र, अम्बिका र डा. माधव मैनालीको सव्रिmय सहयोगमा मैनाली कथा पुरस्कारको स्थापना भयो । मैनालीको नाउँमा पुरस्कार स्थापना गर्ने क्रममा साहित्यिक पत्रकार सङ्घका तत्कालीन सभापति अच्युतरमण अधिकारीको महत्वपूर्ण सुझाव र उत्साह रहेको छ ।
स्थापनाकाल संवत् २०३८ मा एक हजार र कदरपत्रसहित प्रदान गरिने मैनाली कथा पुरस्कार राशिमा पटक पटक वृद्धि भई अहिले ५१ हजार रुपियाँ पुगेको छ । यो पुरस्कार पहिलो पटक २०३८ सालमा कथाकार भाउपन्थीलाई प्रदान गरिएको थियो ।
समकालीन नेपाली कथा साहित्यका एक अग्रणी आधुनिक कथाकार भाउपन्थी नवचेतनावादी युगका सम्पन्न प्रतिभा हुन् । आजसम्म यस पुरस्कारबाट तीन दर्जन कथाकार पुरस्कृत भइसकेका छन्; जसमा पाँच जना महिला कथाकारको सहभागिता रहेको छ । मैनालीका छोराहरूबाट प्रत्येक वर्ष साहित्यिक पत्रकार सङ्घलाई पुरस्कार धनराशि उपलब्ध हुँदै आएको छ । मैनाली कथा पुरस्कार कथासम्बन्धी प्रकाशित कृतिलगायत फुटकर कथा लेखनको क्षेत्रबाट योगदान गर्ने कथाकारहरूलाई प्रदान गरिन्छ । कथाकारको समग्र कथा लेखनको मूल्याङ्कनलाई आधार मानेर पनि पुरस्कार प्रदान गरिने परम्परा छ ।
तथापि प्रत्येक वर्ष कथा दिवसको अवसर चैत १९ मा एक विशेष समारोहका बिच मैनाली कथा पुरस्कार प्रदान गरिँदै आएको छ । मननीय छ, यिनै कथा जगत्का अग्रणी प्रतिभा मैनालीको पुण्यस्मृतिमा साहित्यिक पत्रकार सङ्घद्वारा २०३८ चैत १२ देखि १९ गतेसम्म पहिलो पटक राजधानीमा आयोजित सप्ताहव्यापी कथा दिवसको अवसरमा मैनाली कथा पुरस्कारको स्थापना भएको थियो । त्यसै वर्षदेखि प्रत्येक वर्ष चैत १९ गतेलाई कथा दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष मनाइने कथा दिवस ४३औँ शृङ्खला हो ।