गत महिना नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान गुल्जार थियो । नेपाली र युरोपेली मुलुक जर्मनीका कलाकारका कलाले प्रतिष्ठानको ग्यालरी पुग्ने दर्शकलाई आफूतर्फ आकर्षित गरिरहेको थियो । कला कार्यशालामा सृजित कला र कलाकारको स्टुडियोमा गरिएका कलासमेत गरेर ग्यालरीका सम्पूर्ण भित्ता सिँगारिएका थिए । नेपाल र जर्मनीका नागरिकबिचको मित्रतालाई सो कार्यशालाले अझ प्रगाढ बनाउन खोजिरहेको थियो । गत माघ २२ गते अन्तर्राष्ट्रिय कला कार्यशाला सम्पन्न भयो । सो कार्यशालामा नेपालका प्रतिष्ठित साथै उदयीमान कलाकारहरू र जर्मनीका आठ जना ख्यातिप्राप्त कलाकार गरी ४० जनाको सहभागिता थियो । कार्यशालालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना र व्यवस्थापन गरेको थियो ।
कार्यशालाका सिर्जना
दुई दिने कार्यशालामा नेपाली कलाकारहरू जसले समसामयिक धारमा कला सिर्जना गरिरहनुभएको छ, प्रायः सबैले आफ्नै शैलीमै कार्यशालामा कला सिर्जना गर्नुभयो । कुलपति नारदमणि हार्तमछालीले दुई भूगोलबिचको सम्बन्धलाई तैल रङमा पस्कनु भयो ।
उहाँले कला र भूगोल सबैको हुने र सबैले अपनत्व गर्न सकिने भाव चित्रमा प्रस्तुत गर्नुभएको थियो । हिमालबाट बग्दै गरेको नदीले दुई किनाराका भूभागलाई छुट्टयाए पनि सम्बन्धको सेतुले भने जोडिरहने भावमा उहाँको कला रहेको थियो ।
यस्तै उपकुलपति लालकाजी लामाले हिमालको पानी बगेर समुद्रसम्म पुग्ने र सोही पानी पुनः हिमालमा बादलले ल्याउने चक्रलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नुभयो । सहर, बजार, गाउँ, बस्ती सबैलाई सम्बन्धको धागोले जोडेको भाव उहाँले फहराउनु भएको ध्वजाका लहरामा उनिएको चित्रले देखाउन सक्षम रह्यो ।
पाहुना कलाकार ७२ वर्षीय ख्यातिप्राप्त कलाकार हेगे आखन्वाख र कलाकार आर्मिनले नेपाली हिमाललाई आफ्नो कलाको विषय बनाउनुभयो भने कलाकार डेनियलले ३२ जना नेपाली र जर्मनी व्यक्तिका हातका छापहरू चित्रपटमा लिएर पृथ्वीबाट छरिएको कला सिर्जना गर्नुभयो । उहाँको कलाले पनि विविध संस्कृतिको व्यापकता र विश्व भ्रातृत्वलाई झल्काइरहेको थियो । ७४ वर्षीय कलाकार बड जीमरले काली भगवतीको प्रतीकात्मक विम्बसहित रक्ताम्मे हिमाललाई निलो पृष्ठभूमि राखेर कलालाई पूर्णता दिइरहँदा कलाकार क्लाउजले भने प्रतिस्थापन कला सिर्जना गर्नु भयो ।
उहाँले कलामा तेन्जिङ नोर्गे र एड्मन्ड हिलारीको तस्बिरका साथै अन्य तस्बिर, समाचारका टुक्रा, प्रतीक चिह्न आदि प्रयोग गरी समसामयिक कलामा हिमालको कथा बुन्नुभएको थियो । त्यस्तै कास्टन फोकले अमूर्त शैलीमा मनमोहक रङबाट आफ्नो नेपालप्रतिको भाव उजेल्याउनु भयो ।
नेपाली कलाकारहरू कृष्णप्रकाश शाहले चित्रलाई नै त्रिआयाममा देखाउन बाकसलाई क्यानभासमा रूपान्तरण गरी चित्रण गर्नुभयो भने प्राज्ञ शौरगङ्गा दर्शनधारीको कलामा नेपालको बसाइँसराइको कथालाई बुन्नु भयो । मुकेश श्रेष्ठले आफ्नो गर्दै आएको शैलीमै नेपालीका आराध्य शिव पार्वतीलाई चित्रण गर्नुभयो ।
यसका अलावा कार्यशालामा सदस्य सचिव देवेन्द्र थुम्केली, प्राज्ञ प्रदीप अधिकारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङ्माङका साथै नवीन्द्रमान राजभण्डारी, नेम गोले, मुकेश श्रेष्ठ, कृति शाह चन्द, सङ्गी श्रेष्ठ, रविन कोइराला अनि यो आलेखकर्तासमेतको सहभागिता थियो । यसका साथमा जीवन राजोपाध्याय, रमेश खनाल, मुकेश मल्ल, कृर्तिकौशल जोशी, हरिजङ्ग बम्जन, जगदीश्वरमान डङ्गोल, किरण सिगु, सम्झना राजभण्डारी, प्रमिला वज्राचार्य, नारायणप्रसाद बोहाजु, सुयोग महर्जन, जुपिटर प्रधान, सुजेन कम्प, सुनैना ठाकुर, धनबहादुर याक्खा, जुजुकाजी श्रेष्ठ, उमेश श्रेष्ठ आदि दिग्गज र युवा एवं उदयीमान कलाकारको सहभागिताले कार्यशाला थप रोचक बनेको थियो ।
केहीबाहेक अन्य नेपाली कलाकारले आफ्नै शैलीलाई निरन्तरता दिँदै कार्यशालामा विषयात्मक परिवर्तन ल्याउनुभएको थियो । दुईदिने कार्यशाला सकिँदा दुवै देशका कलाकारले नयाँ र नौलो भूगोलका कलाकारका शैलीगत विशिष्टतालाई मजैले आत्मसात् गर्ने अवसर पाए । यिनै कलालाई गत फागुनमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भव्य समारोहका बिच प्रदर्शनी गरियो । साताव्यापी प्रदर्शनीमा नेपाली र जर्मन कलाकारका करिब सय थान कलाकृतिले ग्यालरी झकिझकाउ थियो । दर्शकले यही प्रदर्शनीमा नेपाली समसामयिक विषयका अतिरिक्त दुई भूगोलको कलाकारको सामाजिक सांस्कृतिक बुझाइलाई पनि मजैले पर्गेल्न पाए ।
सम्बन्धको सेतु
अवसर अनेक तवरले जुर्छ, कलासंस्कृतिमा युरोपमा अब्बल देश जर्मनीका कलाकारलाई नेपाल भिœयाउने पहिलो श्रेय जर्मनीका लागि नेपाली कला राजदूत हान्स हर्मन बोटिन्सवर्ग ‘बोटी’ र नेपाली संस्कृतिकर्मी पुरु दाइ (पुरुषोत्तम डङ्गोल) लाई जान्छ । कुरा खोतल्दै जाँदा करिब ३५/४० वर्षअघि पुगिन्छ ।
पर्यटन व्यवसायी पुरु डङ्गोल र कलाकार/डिजाइनर हान्स हर्मन बोटिन्सवर्ग ‘बोटी’ को मित्रता सोही समयदेखि झाङ्गिँदै थियो । नेपालमा पर्यटनको सम्भावनाबारे राम्ररी बुझेका डङ्गोल र बोटीको सम्बन्ध व्यावसायिकभन्दा पनि पारिवारिक रूपमा बढेर गयो र जर्मनीको कालकर सहर त डङ्गोलका लागि अर्को घरसरह नै थियो र छ ।
यसै सन्दर्भमा सन् २०१३ मा डङ्गोल अमेरिकामा रहँदा बोटीले नेपाली कलाबारे केही गर्न खोजेको फोन संवादमा बताउनु भयो । नेपाली कलालाई के गर्दा होला भन्ने सोचमा रहेको बेला डङ्गोललाई अमेरिका बसिनसक्नु भयो र उतैबाट जर्मनी हानिनु भयो । छलफल चल्यो र नेपाली कलाको बृहत् मेला गर्ने सल्लाहका साथ नेपाल फर्किनुभयो ।
यसै मेसोमा के लैजाने, कस्तो कला लैजाने भनेर धेरै कलाकारलाई खोज्ने व्रmममा कलाकार कृष्णप्रकाश शाहसँग ठोकिन पुग्नु भयो । यसरी २०१५ को कला प्रदर्शनीमा जर्मनीको तीन सहरमा चार महिना लामो कला प्रदर्शनी भव्य रूपमा सम्पन्न भयो ।
चार महिनासम्म दर्शकको अपार माया र नेपाली कलाप्रतिको युरोपेलीको चाख देखेर हौसिएका डङ्गोलले फेरि नेपाली कलालाई युरोपमा लग्ने सपना बुनिसक्नुभएको थियो । साथ दिने कृष्ण शाहलगायतका कलाकार पाउँदा उहाँको हौसला झनै बढ्यो, तर..., तर रोक्यो कोभिडले । अनि कार्यक्रमको रूपरेखा फेरिएर सो कार्यक्रम नेपालमा गर्ने निधो डङ्गोल र शाहले गर्नुभयो ।
शाहलाई नेपाली कला विश्वमा लग्ने भोक थियो, साथ दिने डङ्गोल जस्ता कलाप्रेमी । गाँठो पारिदिने बोटीहरू हौसिएपछि जर्मनीको कला मेला जस्तै नेपालमा कला कार्यशाला र प्रदर्शनी गर्ने तयारी सुरु भयो । होस्टेमा हैँसे गर्न नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, अन्तर्राष्ट्रिय कला विभाग अगाडि स¥यो । विदेशी कलाकारलाई जर्मनीको स्टुडियो २०:२१ र कल्चर विदाउट बोर्डर्सले समन्वय र व्यवस्थापन ग¥यो । अन्य सङ्घ संस्थाहरूले पनि सहयोग र समन्वयको बाटोलाई पछ्याएका थिए । यसरी भव्य रूपमा नेपालमा एक अन्तर्राष्ट्रिय कार्यक्रमले बिट मा¥यो ।
नेपालको कलाबारे बोटी भन्नुहुन्छ, नेपालमा कलाकारले मजैले राजनीतिक विषयमा कला सिर्जना गर्छन् तर उता त्यस्तो छैन । अझ नेपाली कलाकारले नेपालको मौलिकतालाई जोगाइराखेका छन् । नेपालको प्रकृति र यहाँको मायाले आफूलाई विशेष प्रभावित पारेको उहाँ बताउनु हुन्छ । बोटी सांस्कृतिक रूपमा निकै अगाडि भए पनि आफ्नो देशमा भने मौलिकतालाई विभिन्न शैली र वादले थिच्दै लगेको देख्नुहुन्छ । कार्यक्रमको सफलताले अझ केही गर्ने सोच बढेको बोटी बताउनु हुन्छ ।
यसै गरी नेपाली कलालाई युरोप पु¥याउनु उद्देश्य त थियो नै, विदेशीलाई नेपाल ल्याएर हाम्रो हजाराैँ वर्षको सभ्यता, संस्कृति र यहाँको प्रकृति विदेशीलाई देदाउन पाउँदा डङ्गोल पनि उत्साहित हुनुहुन्छ । यी दुईकै मित्रताले नेपाली कला युरोप मात्र पुगेन, युरोपेली कलाकारलाई नेपाल चिनाउने अवसरसमेत दियो । नेपालको संस्कृतिलाई साह्रै माया गर्ने बोटीले नेपालको कला र संस्कृतिका लागि निर्वाह गरेको भूमिकाकै कारण उहाँलाई जर्मनीका लागि सद्भावना कलादूतका रूपमा नेपाल सरकारले सम्मानसमेत गरेको छ ।
अबको गन्तव्य
एलेक्जेन्डा बोटिन्स्वर्ग जो स्टुडियो २०ः२१ का निर्देशक हुनुहुन्छ, उहाँ २०१५ को नेपाल कला प्रदर्शनी जर्मनीमा सहयोगीको भूमिकामा हुनुहुन्थ्यो, अब सन् २०२५ का लागि मुख्य आयोजकको भूमिकामा हुनुहुन्छ । सन् २०२५ मा छ सय थानभन्दा बढी कलाकृति युरोपको पाँच सहरमा प्रदर्शन गर्ने उहाँको लक्ष्य रहेको छ ।
सो प्रदर्शनीमा नेपाली समसामयिकदेखि लोक, परम्परागत कलालाई पनि राख्ने योजनामा हुनुहुन्छ । उहाँका अनुसार पुरु डङ्गोल र आफ्ना पिता बोटीले सुरु गरेको मित्रताको कलायात्रालाई अर्को मोड दिनु रहेको छ । विभिन्न देशका कलाकारलाई स्थान दिँदै आएको ग्यालरीले नेपाली कलाको प्रचारप्रसार र प्रवर्धनका लागि यथोचित भूमिका निर्वाह गर्ने बताउनुहुन्छ । यसबाहेक एकेडेमी जस्ता संस्थासँग मिलेर नेपामा युरोपली कलाकारको कलालाई पनि प्रदर्शनी गरिरहने उहाँको लक्ष्य छ । कुशल व्यवस्थापन, भव्य कार्यशाला÷प्रदर्शनी र समन्वयका लागि उहाँ धन्यवादको पात्र मान्नु हुन्छ ।
सार
नेपालमा कलाका धेरै कार्यक्रम भइरहेका छन् यद्यपि त्यसको प्रभावका बारेमा खासै मूल्याङ्कन गरिएको छैन । नेपाली कलालाई पनि प्रवर्धन गर्ने र नेपालको पर्यटन र यहाँको सामाजिक, सांस्कृतिक महत्वलाई अझ बढाउने यस प्रकारको कार्यक्रम भइरहनु पर्छ । यस पटक जस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान जस्तो संस्थाले हरेक वर्ष अन्तर्राष्ट्रिय कार्यशाला र प्रदर्शनीलाई निरन्तरता दिइरहनु पर्छ ।