• १३ साउन २०८१, आइतबार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, चैत १७ गते । झापाको कमल गाउँपालिका वडा नं. ५ गुहेश्वरी टोलमा शुक्रबार मध्यरात हात्तीको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ । रतुवा माईवृक्षारोपण आयोजनाको सिरानमा सशस्त्र प्रहरीको भोगाधिकार भित्रको जमिनमा टहरा बनाएर बस्दै आएकी ६८वर्षीया वृद्धा खडगमाया लिम्बु माबोको मृत्यु भएको वडा नं. ५ का वडाध्यक्ष एल.बि.विष्टले जानकारी दिनुभयो ।

राती करिब १२ बजेतिर ६ वटाको सङ्ख्यामा यस क्षेत्रमा हात्तीहरू आएका थिए । घरमा नै रहेकी माबोलाई हात्तीले आक्रमण गरेको थियो । माबोको शरीर क्षतविक्षत हुने गरी हात्तीले कुल्चेको पाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले राती नै पुगेर शव उठाएको थियो ।

दुई दिन अघि कमल गाउँपालिकासँगै जोडिएको आयोजनाको जङ्गलमा नै शिवसताक्षी नगरपालिका वडा नं. ११ की एक वृद्ध पवित्रा भेट्वालको पनि हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । भेट्वालका श्रीमान् गम्भीर घाइते रहनु भएको छ । आयोजना स्थल आसपास हात्तीका कारण समस्या भएको बताइएको छ ।