चितवनका नगरपालिकामध्ये विकट भूभाग समेटिएको राप्ती नगरपालिकामा विपन्न चेपाङ समुदायको बाक्लो बस्ती छ । यही नगरपालिका भएरै काठमाडौँ जोड्ने भण्डारा–मलेखु सडक निर्माण भएको छ । यसअघि वडाध्यक्ष भएर काम गरिसकेका नेकपा (एकीकृत समाजवादी) पार्टीका शमशेर लामा पालिका प्रमुख हुनुहुन्छ । पालिकाको समग्र विकास, सम्भावना र योजनाका विषयमा गोरखापत्र दैनिकका समाचारदाता शालिग्राम नेपालले पालिका प्रमुख लामासँग गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
तपाईंको नेतृत्वमा राप्ती नगरपालिकामा के कस्ता परिवर्तन भएका छन् ?
मैले नेतृत्व गरेपछि विगतमा नभएका काम सुरुवात गरेको छु । विपन्न चेपाङसहित अन्य वर्गको बसोबास रहेको यस पालिकामा घर नभएका २८१ परिवारलाई घर निर्माण गरेर आवासको व्यवस्था गरेका छौँ । त्यस्तै पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने १२ कक्षासम्मलाई निःशुल्क शिक्षा प्रदान गरिएको छ । ४९ वटा माध्यमिक विद्यालय र तीन वटा १२ कक्षासम्म पढाइ हुने सबैमा निःशुल्क पढाइको व्यवस्था गरिएको छ । भण्डारा अस्पतालमा बिमा कार्यव्रmम लागु गरी १५ सय बिमित नागरिकले आफ्नै पालिकाबाट उपचार पाएका छन् । नौ महिनासम्म अनिकाल लागेर खाना नपाउने वर्गलाई वडामार्फत घरमा खाद्यान्न उपलब्ध गराएर ‘विपत्मा सरकारले हेर्छ’ भन्ने सुरक्षाको अनुभूति गराएका छौँ । पालिकाभित्रका बिरामीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्थालगायतका धेरै काम गरेका छौँ ।
पालिकाको समस्यालाई कसरी प्राथमिकता दिएर समाधान खोज्नुभएको छ ?
जनप्रतिनिधि र जनतासँग छलफल गरेर समस्या पहिचान गर्ने र प्राथमिकताको आधारमा समाधान गर्ने प्रयास गरेका छौँ । समस्या समाधान गर्ने भनेको बजेटले हो । हामीसँग सीमित बजेट छ । त्यसलाई अधिकतम उपयोग गरेर काम गर्ने छौँ । कतिपय विकास गर्नका लागि भौगोलिक विकटता भएकाले समस्या हुने गरेको छ । पालिकामा २५ सय घरधुरी रहेका चेपाङको परिवारलाई प्राथमिकता दिएर योजना ल्याएका छौँ । बाटो, खानेपानीलाई प्राथमिकता दिएका छौँ भने एकीकृत बस्ती व्यवस्थापनमा उनीहरूले साथ दिन सकेका छैनन् । विपन्न सात सय घरपरिवारलाई निःशुल्क बिजुली दिनका लागि मिटर प्रदान गर्ने योजना छ । उत्पादनसँग जोड्नका लागि पालिकाले जनतालाई प्राथमिकता दिएको छ ।
पालिकाको पहाडी क्षेत्रका चेपाङको आर्थिक विकासका लागि तपाईंका योजना के छन् ?
आर्थिक विकास भनेको उत्पादनलाई जोड्नु हो । हामीले चेपाङ समुदायलाई आफैँ उत्पादन गरेर आर्जन गर्ने वातावरण बनाउन आफ्नै बारीमा कफी खेती कार्यक्रम ल्याएका छौँ । पहाडी क्षेत्रमा कफी खेती गर्न निःशुल्क बिरुवा वितरण र खेती गर्ने तरिका सबै सिकाउने छौँ । बेमौसमी तरकारी खेती र पशुपालन कार्यव्रmम ल्याएर उनीहरूलाई आफ्नै ठाउँबाट आयआर्जनमा जोड्ने काममा लागेका छौँ । पशुपालन, तरकारी खेतीतर्फ केही घरपरिवार संलग्न भइसकेकाले अब अन्यलाई जोड्ने तयारी रहेको छ ।
आन्तरिक आम्दानीलाई कसरी वृद्धि गर्ने योजना छ ?
बजेट चुहावट, फजुल खर्चलाई नियन्त्रण गरेका छौँ । घरबहाल कर, विज्ञापन गरी नदीजन्य पदार्थको बिक्रीवितरणलगायतका काम गरेर आयआर्जनलाई वृद्धि गरेका छौँ । कार्यविधि बनाएर मात्रै काम गरेका छौँ । गत आर्थिक वर्षमा आठ करोड रुपियाँ आन्तरिक आम्दानी भएकोमा यस आवमा त्यसलाई वृद्धि गरेर १८ करोड रुपियाँ पु-याउने लक्ष्य लिएका छौँ । चैत महिनाको अन्तिममा हामीले लक्ष्य पूरा हुने नहुने जानकारी दिने छौँ ।
नगरपालिकाको सम्भावना के कस्तो देख्नुभएको छ ?
नगरपालिकाको आर्थिक उन्नतिको प्रशस्त सम्भावना रहेको छ । सबैभन्दा पहिलो कृषि उत्पादन नै हो । परम्परागत कृषि प्रणालीलाई सुधार गरेर व्यावसायिक कृषि प्रणाली लागु गर्ने छौँ । यसले उत्पादन वृद्धिसँगै आत्मनिर्भर बनाउन मद्दत गर्दछ । कृषिपछि पर्यटन अर्को सम्भावना भएको क्षेत्र हो । गैँडाताल, ऐतिहासिक परेवाकोट, एक हजार नौ सय मिटर उचाइको कमिनचुलीडाँडा, राइटगुफा, कान्द्राङगढी, चितवन निकुञ्ज, सौराहा–लोथर जिप सफारीलगायत पालिकाको पर्यटकीय सम्भावना भएका स्थल हुन् । यसबाट प्रशस्त आम्दानी हुने वातावरण बनाउने छौँ ।
पालिकाको जनप्रतिनिधिबिच विवादका कारण समयमा समयमा कार्यसम्पादन गर्न नसक्नु, बैठक नियमित हुन नसक्नु जस्ता कारणलाई समाधान किन गर्न सक्नुभएको छैन ?
यस पालिकाको इतिहास हेर्दा सधंँ एउटै दलले नेतृत्व गरेको, यस क्षेत्रमा सांसद पनि इतिहासदेखि एउटै दलले जित्ने गरेकाले मेरो नेतृत्वलाई नरुचाइएको हो । एकीकृत समाजवादी पार्टीबाट म विजयी भएकाले राम्रो काम गरेर लोकप्रिय हुने छ र हामी पछाडि पर्ने छौँ भन्दै अनावश्यक विवाद झिकिएको छ । राम्रो कामको प्रशंसा गर्न नसक्नु ती पार्टी र त्यसबाट निर्वाचित जनप्रतिनिधिको समस्या हो । जनताले मेरो कामलाई साथ दिएका छन् । जति विरोध गरे पनि राम्रो काम गर्दै जाने हो, समस्या आउँछ, जान्छ ।
तपाईंको कार्यकाल सकिँदासम्म पालिकालाई कस्तो बनाउने योजना छ ?
सबैको घर, सबैलाई शिक्षा, चेपाङसहित पछाडि पारिएका वर्गको सामाजिक आर्थिक उन्नति, वास्तविक किसानलाई प्रोत्साहन, उत्पादनमा वृद्धि, चिउरीको महलाई ब्रान्ड बनाइने र राप्ती नगरपालिका हेर्न लायकको बनाउने लक्ष्य लिएको छु । लक्ष्य अनुरूप अहिलेदेखि नै काम भइराखेको छ । योजना पूरा हुनेमा विश्वस्त छु ।