• ९ मंसिर २०८१, आइतबार

विद्यार्थीका आकाश छुने रहर

blog

शुक्रबारको दिन थियो; कक्षाकोठामा पस्नासाथ विद्यार्थी आआफ्ना ठाउँबाट जुरुक्क उठे र दुवै हात जोड्दै एउटै लयमा चिच्याए : “शुभ शुक्रबार गुरुआमा !” 

शुभ प्रभातका ठाउँमा ‘शुभ शुक्रबार’ भनेपछि मैले बुझ्नुपर्ने हुन्छ, आज विद्यार्थी किताब खोल्ने मनस्थितिमा छैनन् । अब के क्रियाकलाप गराऊँ त ? एकछिन अलमलमा परेँ । आफ्नो विषयसँग सम्बन्धित रहेर एकल तथा सामूहिक रूपमा कथा लेखन, कविता लेखन, भाषिक खेललगायतका विविध गतिविधि गराइसकेँ । केही फरक केही नयाँ काम गर्ने मनस्थितिमा थिए विद्यार्थी । 

“आज केही नयाँ काम गरौँ ।” मुखले त भनिहालेँ तर नयाँ कामचाहिँ के हो मलाई नै थाहा थिएन । सबै विद्यार्थीलाई आँखा चिम्म गरेर लामो लामो श्वास तान्दै ध्यानमा बस्न लगाएँ । आफूले पनि आँखा चिम्लेरै सोचेँ, त्यस्तो नयाँ र विशेष के क्रियाकलाप गराऊँ त ? 

तत्कालै दिमागमा झिलिक्क बत्ती बल्यो, आज विद्यार्थीका इच्छा नै किन नसोधूँ ? सुन्दा साधारण लागे पनि यो क्रियाकलाप पहिले गराएका भन्दा फरक र विशेष थियो । ध्यानमा बसिरहेका विद्यार्थीलाई आँखा चिम्लेर नै सोच्न लगाएँ, “ठ्याक्कै यतिबेला तपाईंहरूलाई के गर्न मन लागेको छ ? तपाईंलाई गर्न मन पर्ने के हो ? कुनै दुई वटा मनपर्ने विषय सोच्नुहोस् ।” विद्यार्थीलाई सोच्नका लागि केही समय दिएर आफ्नो डायरीका दुई वटा पाना च्यातेँ र त्यसमा मैले नै सबैभन्दा पहिले आफूलाई मनपर्ने कामका बारेमा एक एक वटा पानामा एक एक वाक्य लेखेँ । अब विद्यार्थीलाई आँखा खोल्न लगाएँ र कक्षाकोठाको दुई छेउतिर बसेका विद्यार्थीलाई एक एक वटा पाना दिँदै भनेँ, “भरखरै तपाईंहरूले सोचेको, आफूलाई गर्न मन लागेको कामलाई एक एक वाक्यमा लेख्दै जानुहोस् ।” कक्षाका सबै विद्यार्थीले दुवै पानामा आआफ्ना विचारहरू क्रमशः लेख्दै गए । सोही क्रियाकलाप अर्को कक्षामा पनि दोहो¥याएँ । सबैले लेखिसकेपछि ती पाना सङ्कलन गरेर पढेँ, जसमा उनीहरूका इच्छा तथा विचारहरू यस्ता थिए ः

मलाई हवाईजहाज चढेर होइन, हावाको लहरमा बसेर देश विदेश घुम्न मन छ । मलाई त टाइम ट्र«ाभल गरेर भूत कालमा गएर आफूले पहिले गरेका गल्ती सुधार्नु छ । मलाई त खोलाको किनारमा बसेर खोलाको कलकल ध्वनि सुन्न मन छ । चौरमा गएर फुटबल खेल्न मन छ । पिँजडामा बसेको मनलाई उडाएर अन्त कतै लैजान मन छ । मलाई त धनी बनेर पैसामा सुत्न मन छ । मलाई त गीत गाउँदै विभिन्न देश डुल्न मन छ । मलाई त गाउँको खोलामा गएर माछा मार्न र पौडी खेल्न मन छ । संसार घुमेर विश्व कीर्तिमान बनाउन चाहन्छु । म सधैँ जवान हुन चाहन्छु । मलाई मेरो आत्माले शरीर छोड्नुअघि जीवनको अर्थ जान्नु छ, म हुनुको अर्थ जान्नु छ । मलाई त हावामा उड्न मन छ । म चन्द्रमामा जान चाहन्छु । नयाँ नयाँ देश भ्रमण गर्नु छ । मलाई त पिपलको बोटमुनि आनन्दले निदाउनु छ । मलाई त बिरालोसित खेल्न मन छ । हामी किन कक्षाकोठाभित्र थुनिएर बसेको ? बाहिर गएर खेलौँ न ! म त मरिसकेका हजुरबुबा हजुरआमालाई भेट्न चाहन्छु । 

खुला आकाशमा चरा जस्तै उड्न मन छ । मलाई सगरमाथा चढ्नु छ । जङ्गली जनावरसित खेल्न र घुम्न मन छ । मलाई स्कुल मन पर्दैन । मलाई त संसारको कुना कुना घुम्नु छ । स्वर्ग र नर्क घुमेर त्यसको अनुभव लेख्नु छ । हिमालको टुप्पामा पुगेर तलतिर हेर्नु छ । मलाई आकाश छुनु छ । मलाई नपढीकन डाक्टर बन्न मन छ । मलाई कक्षाकोठाभित्र होइन हरियाली चौरमा बसेर पढ्न मन पर्छ । म त यतिबेला खोलामा माछा समाइरहेको कल्पना गर्दै छु । मलाई कमिक्स बनाउन मन पर्छ । पोखरीको छेउमा बसेर योग गर्नु छ । जङ्गलमा बसेर चराको चिरबिर आवाज सुन्न मन पर्छ । मलाई पहाड धेरै मन पर्छ । मुकेश अम्बानीको घरमा गएर उनीसँगै बसेर कफी खान मन छ । माछा जस्तै पानीमा पौडिन मन छ । मलाई रङ्गीचङ्गी फूलहरू भएको ठाउँमा घुम्न मन पर्छ । झरिरहेको झरना हेर्न मन पर्छ । समुद्रको किनारमा बसेर सूर्य उदाएको हेर्नु छ । 

विद्यार्थीले लेखेका सबै वाक्य पढिसकेपछि एकछिन सोचमग्न भएँ । मलाई त लागेको थियो, विद्यार्थीले नाच्न, गाउन, खेल्न, कविता लेख्न या यस्तै केही गर्न मन पर्छ भन्छन् होला । आफ्ना विद्यार्थीका दृष्टिकोण यति गम्भीर पाएर म हर्षविभोर भएँ । एउटा शिक्षकका नाताले विद्यार्थीका यति बृहत् कल्पनाशीलतालाई गहिरो गरी छाम्न नसकेकोमा आत्मग्लानि पनि भयो । कक्षाकोठामा शान्त र सौम्य देखिने विद्यार्थीका आकाश छुने रहर र कल्पनाको उडानलाई हामी कति शिक्षकले अनुमान गर्न सकेका हौँला र ! हामी कति शिक्षकले ती उडानमा आत्मबल भरेर पखेटा थपिदिन सकेका हौँला र ! 

तपाईंहरूलाई के गर्न मन पर्छ ? भन्ने मौखिक प्रश्नको उत्तरमा अधिकांश विद्यार्थीले प्रकृतिसँग निकट हुने, प्रकृतिमा रमाउने उत्कट चाहना व्यक्त गरे । विद्यार्थी खोलामा गएर माछा समात्न चाहन्छ; चरा झैँ उन्मुक्त भएर आकाशमा उड्न चाहन्छ; झरिरहेको झरना हेर्न चाहन्छ; चराको चिरबिर सुन्न चाहन्छ; समुद्रको किनारमा बसेर सूर्योदयको दृश्य हेर्न चाहन्छ; हावाको लहर पछ्याउन चाहन्छ; चौरमा फुटबल खेल्न चाहन्छ; पहाड चढ्न चाहन्छ; गीत गाउँदै संसार घुम्न चाहन्छ; चन्द्रमामा पुग्न चाहन्छ तर हामीले गराइरहेका छौँ के त ? कहाँ छ विद्यार्थीका चाहना र सिकाइ पद्धतिका बिचमा तालमेल ? यतिबेला म सम्झिरहेकी छु, रुसो र उनको ‘प्रकृतितर्फ फर्क’ दृष्टिकोणलाई । रुसोले भने झैँ किताबका पानै च्यातिहाल्नु पर्छ भन्ने पनि होइन, विद्यालयका पर्खाल भत्काइहाल्नु पर्छ भन्ने पनि होइन । विद्यालयमा बनाइएका भौतिक पर्खालभन्दा मानसिक पर्खालहरू बढी दमनकारी बन्दै गएका छन् । शिक्षक, प्रशासक या शैक्षिक व्यवस्थाभित्र कुण्ठित मानसिक पर्खाललाई भने अब भत्काउनै पर्ने भएको छ । विद्यार्थीको मनोभावना बुझेर सिकाइलाई प्रकृतिसँग जोडेर प्रकृतिकै माध्यमबाट प्रकृतिमै रमाएर सिक्न सक्ने वातावरणको निर्माण गर्नुपर्ने भएको छ । 

हामी सबैलाई थाहा छ, कोठाभित्र विचार अटाउन सक्दैन । विद्यालयको कोठाभित्र विद्यार्थीलाई थुनेर पाठ्यक्रमको अपेक्षा पूरा हुन सक्दैन । यस किसिमको पठनपाठनबाट हामीले विद्यार्थीलाई कक्षा उत्तीर्ण गराउन त सकौँला तर जीवनका लागि तयारी गराउन सक्दैनौँ, उनीहरूमा आत्मबल भर्न सक्दैनौँ । आज मुकेश अम्बानीको घरमा गएर उनीसँगै कफी पिउने रहर गरेको विद्यार्थीलाई अम्बानी पनि तिमी जस्तै साधारण विद्यार्थी थिए; तिमी पनि उनीभन्दा सम्पन्न, उनीभन्दा असाधारण बन्न सक्छौ; त्यो क्षमता तिमीभित्रै छ भनेर विद्यार्थीमा विश्वास भरिदिने शिक्षा पद्धतिको विकास हामीले अझै गर्न सकेका छैनौँ । यस्तो अवस्थामा शिक्षकले विद्यार्थीमा आत्मबल भरेर ‘यु क्यान’ मात्रै भनिदिने हो भने पनि उनीहरूमा हौसला बढ्छ । हामीले कति विद्यार्थीका आँखामा हेरेर मुस्कुराउँदै ‘यु क्यान’ भन्न सकेका हौँला र !

आज आफू हुनुको अस्तित्व खोज्न चाहने, स्वर्ग र नर्क बुझेर त्यसको अनुभव लेख्न चाहने विद्यार्थीको भावनाको गहिराइ र कल्पनाको उडानलाई कतै हामीले बेवास्ता गरिरहेका त छैनौँ ? आजको शैक्षिक पद्धति र कक्षाकोठाको वातावरणले विद्यार्थीका स्वच्छन्द उडानका पङ्ख काटिरहेको त छैन ? यसतर्फ हामी बेलैमा सचेत हुनु पर्छ । विद्यार्थी किन कक्षाकोठाभित्र थुनिन चाहँदैन ? किन मलाई स्कुल मन पर्दैन भनिरहेको छ ? त्यसको कारण खोजी गर्नु पर्छ र विद्यार्थीमा आत्मविश्वास भर्न उनीहरूलाई थप कल्पनाशील बनाउनु पर्छ । 

“ज्ञानभन्दा कल्पनाशीलता कैयौँ गुणा शक्तिशाली हुन्छ ।” अल्बर्ट आइन्स्टाइनले यसै भनेका होइनन् । संसारमा जे जति परिवर्तन र असम्भव लाग्ने कामहरू भएका छन्, ती सबै विराट् कल्पनाशीलताकै परिणति हुन् । आकाशमा उडेका चरा देखेर गरिएको कल्पनाले हवाईजहाजको निर्माण भएको हो । कल्पनाकै कारण मानिस चन्द्रमामा पुग्न सफल भएको हो । कक्षाकोठाको डेक्समा किताब, कापी र हातमा कलम लिएर विद्यार्थी आज आफूलाई सबैभन्दा मनपर्ने विषयमा कल्पनाको उडान भरिरहेको छ भने हामी शिक्षकले पनि त्यस उडानमा हौसला किन नभर्ने ? मुस्कुराउँदै उसको शिरमा हात राखेर ‘यु क्यान’ किन नभन्ने ? कक्षाकोठाभित्र उसका स्वच्छन्द कल्पनाशीलतालाई किन कैद गरिदिने ? प्रिय विद्यार्थी ! यो अनन्त आकाश तिम्रो हो, यो संसार, यो सिङ्गो ब्रह्माण्ड तिम्रो हो, तिमीभित्रको विराट् सम्भावनाले तिमीलाई त्यही मार्गमा डो¥याउँदै छ; तिमी आज जे चाहन्छौ, जे कल्पना गर्छौ । 

  

Author

सावित्रा पाण्डे