• १५ वैशाख २०८१, शनिबार

नेपाल कै अग्लो ‘दमक भ्यू टावर’ निर्माण सम्पन्न

blog

भ्यू टावरमा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता तथा पूर्व मन्त्री रामबहादुर थापा

विष्णुप्रसाद पोखरेल

दमक, चैत १६ गते। झापाको दमक वडा नं. ३ ढुकुरपानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ‘दमक भ्यू टावर’ निर्माणको काम सम्पन्न भएको छ। शुक्रबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व मन्त्री तथा एमाले नेता रामबहादुर थापा लगायतको टोलीले भ्यू टावर पुग्नु भएको छ।

नेपालकै सबैभन्दा अग्लो भ्यू टावरको रुपमा यो ठडिएको छ। करिब डेढ अर्ब लागतमा भ्यू टावर निर्माण सम्पन्न भएको हो। पहिला अनुमान गरिएभन्दा ५ प्रतिशत बढी रकम लागेको सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका इन्जिनियर भुपेन्द्र यादवले बताउनुभयो। 

यादवका अनुसार एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको छ। १ अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको उहाँको भनाइ छ। बि.स.२०७६ साल असार २७ गते निर्माण सुरु भएर तीन वर्षभित्र सम्पन्न गर्ने भनिएता पनि कोभिड लगायतका कारणले निर्धारीत समयमा निर्माण सम्पन्न भएको थिएन।  

ओलीले यो भ्यू टावरमात्र नभएर कमर्सियल बिजनेश टावर भएको बताउनुभयो। ‘यो सुविधायुक्त व्यवसायीक भवन हो’, उहाँले भन्नुभयो। ओलीको निर्वाचन क्षेत्रमा उहाँकै परिकल्पनामा यो बनेको हो। ओली आफैले यसको शिलन्यास गर्नुभएको थियो। 

भ्यू टावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो रहेको छ। यो अहिलेको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो भएको बताइन्छ। १८ तलाको क्रङ्क्रिट ढलान र त्यहाँभन्दा माथिको २८ मिटर अग्लो स्टिल टावर रहेको छ।  यो सबै निर्माण काम सम्पन्न भएर उद्घाटन गर्ने अवस्थामा पुगेको जनाईएको छ। भ्यू टावर बनाउनका  लागि स्थानीयवासीले जुटाएर पाँच बिघा जग्गा निशुल्क प्रदान गरेका थिए।

सबै प्रकारका जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक भ्यू टावरको रुपमा यो ठडिएको प्राविधिकहरुले बताएकाछन्। भ्यू टावरको भुइँतलामा ४० वटा चारचक्के र दुई सय वटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङस्थल रहेको छ। भ्यू टावरमा व्यापारिक प्रयोजनका पसल, सेमिनार हल,  बैंक, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, रेस्टुरेन्ट र लज रहनेछन्।