• १३ साउन २०८१, आइतबार

वर्षाले जौ बालीलाई राहत

blog

हाङ्देवा, बुङ्कुलुङका एक किसानले लगाएको जौ बाली । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १२ गते । हिउँदयामको अन्त्यतिर भएको वर्षाले जौलगायतका बालीलाई राहत पुगेको छ । यस पटकको वर्षले ताप्लेजुङको लेक क्षेत्रका किसानले लगाएको रैथाने बाली जौ खेतीका लागि राहत पुगेको हो ।

लामो समयावधिपछि पानी परेकाले किसानमा खुसीयाली छाएको छ । पानी परेकाले लेक क्षेत्रमा लगाएको जौ बाली, आलुलगायतका खेतीलाई राहत पुगेकाले किसान खुसी भएका छन् । खडेरीका कारण फूल खेल्न नसकेको जौ बालीलाई राहत मिलेको फुङ्लिङ नगरपालिका –९ हाङ्देवा बुङ्कुलुङका किसान पासाङरिता शेर्पाले बताउनुभयो ।

शेर्पाका अनुसार खडेरीले फस्टाउन र फूल खेल्न नसकेको जौं लगायतका बालीलाई वर्षाले राहत पुगेको छ । पछिल्लो समय जनशक्ति अभाव साथै परम्परागत खेती गर्ने चलन हराउँदै गएकाले रैथाने बाली लोप हुने अवस्थामा पुगेको शेर्पाको भनाइ छ । उहाँका अनुसार लेक क्षेत्रका सीमित किसानले मात्र रैथाने बाली जौ खेती लगाउने गरेका छन् । 

हिउँद मौसममा गरिने जौ खेतीका लागि सिँचाइ नहुँदा अर्थात् पानी नपरेपछि किसान निकै चिन्तित भएका थिए । खडेरीले जौ खेतलाई असर पुगिरहेका बेला ढिलो भए पनि वर्षा भएकाले राहत पुगेको खेतीमा संलग्न किसान बताउँछन् । जौं बालीलाई सिँचाइ चाहिने समयमा पानी नपरेपछि उत्पादन भने घट्नसक्ने किसानको भनाइ छ ।

गएको मङ्गलबारदेखि बिहीबार तीन दिनसम्म निरन्तर र त्यसयता पनि दिनहुँजसो वर्षा भइरहेको छ । यस वर्षको हिउँदयाममा पहिलो पटक वर्षा अर्थात् पानी परेको हो । पानी परेकाले मकैलगायत अन्य खाद्यान्न बाली, अलैँची अदुवाजस्ता नगदे बालीलाई पनि ठूलो राहत पुगेको छ ।