• १३ साउन २०८१, आइतबार

चैते धान विस्तार कार्यक्रम स्थगित

blog

काठमाडौँ, चैत १२ गते । आर्थिक अभावका कारण चालु आर्थिक वर्षमा चैते धान क्षेत्रफल विस्तार गर्ने योजना अगाडि बढ्न सकेन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आवमा २० हजार हेक्टर क्षेत्रफलमा चैते धान विस्तार गर्ने तयारी गरेको थियो । आर्थिक अभावका कारण सो विस्तार गर्न नसकिएको कृषि मन्त्रालयले जनाएको छ । 

धानमा आत्मनिर्भरका लागि कृषि मन्त्रालयले चैते धान विस्तार कार्यक्रम बनाएको थियो । त्यसका लागि जिल्लाका कार्यक्रम पनि तयार गरिसकेको थियो तर त्यसका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृति नदिएपछि कार्यक्रम नै स्थगित भएको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता सबनव सिवाकोटीले बताउनुभयो । 

कृषि मन्त्रालयले चैते धान विस्तार तथा उत्पादनका लागि चालु आवका लागि ३० करोड रुपियाँ विनियोजन गरिएको थियो । त्यसका लागि कार्यक्रम तयार गरेर कृषि मन्त्रालयले अर्थ मन्त्रालयमा पठायो तर त्यताबाट स्वीकृत नै दिएन । 

सो बजेट कृषि मन्त्रालयकै अन्य कार्यक्रममा प्रयोग ल्याउने भएको छ । अगामी आवमा कार्यक्रमसहित चैते धान विस्तार र उत्पादनका लागि बजेटको व्यवस्था गरेर कार्यक्रम अगाडि बढाउने प्रवक्ता सिवाकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, “चेतै धान उत्पादनको योजना केही ढिला भएकाले यो वर्ष लागु हुन सकिएन, आगामी वर्षका लागि चाँडै नै बिउ, सिँचाइलगायतका लागि तयारीमा जुटेका छौँ ।” 

चैते धान विस्तार कार्यक्रम सञ्चालन गर्दा किसानलाई बिउ, मल तथा सिँचाइ तथा अन्य मेसिन तथा प्रविधिमा सुविधा दिनुको साथै किसानलाई तालिम दिने तयारी कृषि मन्त्रालयको छ । धान रोपाइँका लागि आवश्यक परेको ठाउँमा ५० प्रतिशत अनुदानमा मेसिन पनि उपलब्ध गराउने तयारी रहेको कृषि मन्त्रालयले जनाएको छ । 

गत आवमा एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो । त्यसबाट पाँच लाख २० हजार मेट्रिक टन चैते धान उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ ।