• १३ साउन २०८१, आइतबार

क्रिमियास्थित दुई रुसी जहाजमाथि युक्रेनद्वारा आक्रमण

blog

किएभ (युक्रेन), चैत ११ गते । क्रिमियाली क्षेत्रमा तैनाथ दुई रुसी सैन्य जहाजमाथि आइतबार राति आक्रमण गरेको युक्रेनले दाबी गरेको छ ।

सञ्चार केन्द्र र ब्ल्याक सी क्षेत्रका धेरै पूर्वाधारहरूमा सफलतापूर्वक प्रहार गरेको समुद्र, जमिन र आकाशमा आक्रमण गर्न रुसी सेनालाई सघाउने जहाज ‘यामाल’ र ‘अजोभ’ लाई आक्रमण गरेको युक्रेनी सशस्त्र बलको रणनीतिक सञ्चार केन्द्रले आइतबार जनाएको छ ।

रुसले सन् २०१४ मा कब्जा गरेको उक्त प्रायद्वीपमा शनिबार राति युक्रेनको ठुलो हवाई आक्रमणलाई आफ्नो सेनाले प्रतिकार गरेको मस्कोस्थित रुसी अधिकारीहरूले बताएका छन् ।

रुसले नियुक्त गरेको सेवस्तोपोलका गभर्नर मिखाइल रज्भोझायेभले टेलिग्रामपोस्टमा लेख्नुभएको छ, “यो पछिल्लो समयको सबैभन्दा ठुलो आक्रमण हो ।”

उहाँका अनुसार आक्रमणका क्रममा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । उहाँले रुसी युद्धपोतमा कुनै क्षति भएको वा नभएको भन्ने विषयमा केही बताउनुभएन ।

सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा सहरमा ठुलो विस्फोट भएको, आगोको गोला र कालो धुवाँको मुस्लो हावामा उडिरहेको र रुसी हवाई प्रतिरक्षाले भित्रिने प्रक्षेपणलाई रोकेको देखिएको छ ।

युक्रेनले युद्ध सुरु भएदेखि नै रुसको ‘ब्ल्याक सी’ क्षेत्रको करिब एक तिहाइ भाग नष्ट गरेको दाबी गर्दै आएको छ । भूउपग्रहबाट प्राप्त तस्बिरमा रुसले आफ्ना अधिकांश जहाजलाई पूर्वतर्फ नोभोरोसिस्क बन्दरगाहमा सारेको देखिएको छ ।

मस्कोले हालै आफ्नो नौसेना प्रमुखलाई हटाएको छ । युक्रेनको राजधानी किएभ र पश्चिमी क्षेत्र एल्भिभमा पनि आइतबार बिहानै रुसी हवाई आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनको वायु सेनाका अनुसार रुसले आफ्नो भूमिमा २९ वटा क्रुज क्षेप्यास्त्र र २८ वटा ड्रोन प्रहार गरेको छ । उसले १८ वटा क्षेप्यास्त्र र २५ वटा ड्रोन खसालेको जनाएको छ ।

रुसले हालैका दिनहरूमा युक्रेनविरुद्ध आफ्नो हवाई आक्रमणलाई उल्लेखनीय रूपमा बढाएको छ, जुन उसको सीमावर्ती क्षेत्रहरूमा युक्रेनी आक्रमणको लहरको प्रतिशोध हो ।

मस्कोले युक्रेनको ऊर्जा क्षेत्रमा युद्ध सुरु भएयताकै सबैभन्दा ठुलो हवाई आक्रमण (करिब ९० वटा क्षेप्यास्त्र र ६० वटा ड्रोन प्रहार) गरेको थियो । रुसले पनि किएभलाई लक्षित गरी पुनः आक्रमण सुरु गरेको छ र फेब्रुअरीको सुरुदेखि नै यस सहरमा पहिलो पटक आक्रमण गरेको छ ।

युक्रेनी सैन्य प्रशासनका किएभ प्रमुख सर्गी पोप्कोले रुसले कुनै पनि हालतमा किएभलाई नष्ट गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिइरहेको बताउनुभएको छ । रासस/एएफपी