काठमाडौँ, चैत १० गते । समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डपका घरजग्गा प्रयोग गरी भाडा नबुझाएका व्यक्ति र संस्थालाई फरार सूचीमा राखेको छ । भृकुटीमण्डप परिसरका ३१ सङ्घसंस्था र व्यक्तिले प्रयोग गरेका स्टल, भवन एवं मेला प्रदर्शनीको एक करोड ८७ लाख ७२ हजार ९८३ रुपियाँ भाडा नदिएर सम्पर्कविहीन भएकालाई फरार सूचीमा राखिएको हो ।
समाज कल्याण परिषद्का प्रशासन प्रमुख दुर्गाप्रसाद भट्टराईले राजनीतिक पहुँचका भरमा घरजग्गा प्रयोगबापतको भाडा नदिएर सम्पर्कविहीन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले २०५२ सालदेखि सम्पर्कविहीन भएकालाई ५४ पटक पत्राचार गर्यौँ । फोन गर्दा कसैको लाग्दैन । दिनुपर्ने रकम दिन आउँदैनन् । पुरानो ठेगानामा पत्राचार गर्दा पत्र नै फिर्ता आएर हामी हैरान छौँ ।”
भृकुटीमण्डप परिसरमा भाडामा लिएका विभिन्न ४२ सङ्घसंस्था र व्यक्तिले गत असारसम्ममा छ करोड ५३ लाख रुपियाँ बुझाउन बाँकी छ । तर त्यसमध्ये ३१ सङ्घसंस्था र व्यक्तिलाई फरारको सूचीमा राखिएको छ । गत फागुन ११ गते अटेर गर्नेहरूलाई भाडा तिर्न अन्तिम पटक परिपत्र गरेको र अब राज्यको सम्पत्ति नतिर्नेलाई नछोड्ने भट्टराईले प्रस्ट पार्नुभयो । “अब कानुनबमोजिम असुलीको प्रक्रियामा जान्छौँ,” उहाँले भन्नुभयो । उहाँले राजनीतिक पार्टी र सत्ताको पहुँचमा भाडामा लिएर रकम नदिएर सम्पर्कविहीन भएको बताउनुभयो । “राज्यको रकम नदिएर फरार भएकालाई पत्राचार गरेकोे २१ दिने म्याद सकिँदै छ । त्यसपछि ३५ दिने सूचना जारी गर्ने छौँ । त्यो बेलासम्म पनि रकम नबुझाए प्रशासन संयन्त्र लगाएर असुली गर्छौं,” उहाँले भन्नुभयो ।
प्रशासन प्रमुख भट्टराईले भाडा नतिरी फरार भएकाहरूको पुरानो ठेगाना उपलब्ध रहेको बताउँदै भन्नुभयो, “भागेर कतै गएका छैनन् । नेपालमै बसेका छन् । खोजी गरेर पैसा असुल्ने प्रक्रियामा जान्छौँ ।” भाडाबापतको रकम नबुझाएर फरार भएका कतिपयको मृत्युसमेत भइसकेको हुन सक्ने भएकाले त्यस्ताको हकमा अंश खानेबाट असुल गरिने भएको छ । परिषद्का अनुसार रकम नबुझाएकामध्ये विश्वबहादुर जोशी, दलबहादुर शाही र रूपरत्न तुलाधरको मृत्यु भइसकेको छ ।
तत्कालीन परिषद्का कोषाध्यक्ष वीरबहादुर ठगुन्नाको संयोजकत्वमा पाँच सदस्यीय समितिले बक्यौता उठाउने रकमका बारेमा ४५ दिन लगाएर अध्ययन गरेको थियो । उक्त समितिले आर्थिक वर्ष २०७४/७५ को असारसम्म तीन करोड ८६ लाख ९७ हजार ८२९ रुपियाँ बक्यौता रहेको देखाएको थियो । फरार सूचीमा रहेकामध्ये नेपाल नेत्रहीन सङ्घले ४१ लाख ३२ हजार २०६ रुपियाँ, डाइरेक्सन नेपालले १२ लाख ३७ हजार ३६४ रुपियाँ, रोशनी श्रेष्ठले १६ लाख ६ हजार २३० रुपियाँ, लोकतान्त्रिक सहिद घाइते समाजले ११ लाख ५० हजार ९२४ रुपियाँ, नेपाल विद्यार्थी सङ्घले आठ लाख ७८ हजार ४७६ रुपियाँ र विश्वबहादुर जोशीले आठ लाख ३१ हजार १८२ रुपियाँ बुझाउन बाँकी छ ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले आफ्नो सङ्गठनले समाज कल्याण परिषद्लाई रकम बुझाउन बाँकी नरहेको जिकिर गर्नुभयो । “कहाँबाट आयो यति धेरै रकम दिने ?,” उहाँले भन्नुभयो, “हाम्रो सङ्गठनलाई बदनाम गर्न अनेक प्रयास गरिएको हुन सक्छ ।” उपभोक्ता मञ्च नेपालका महासचिव शत्रुघ्न देवले मञ्चका पूर्वअध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठको कार्यकालमा बाँकी रकम भए पनि उहाँको निधन भइसकेको बताउनुभयो । “समाज कल्याणले बाँकी भनेर उल्लेख गरेको रकम हरेन्द्र श्रेष्ठको कार्यकालको हो,” उहाँले भन्नुभयो, “हामीले २० लाख धरौटी बुझाएका छौँ । त्यस्तै ७५ प्रतिशत छुट भएको कागजसमेत छ ।”

 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                