• १३ साउन २०८१, आइतबार

लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको छ : मन्त्री भण्डारी

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ।

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत ९ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउनुभएको छ ।

न्युज बिजनेस एज प्रालिले आयोजना गरेको आठौँ संस्करणको ‘न्यु बिज बिजनेस कनक्लेभ एण्ड अवार्ड’ वितरण समारोह तथा ‘कठिन समयमा व्यापार अवसर’ विषयक छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

सरकार लगानीमैत्री वातावरण बनाउन द्रुत गतिमा आवश्यक कानुन संशोधनको तयारीमा जुटेको पनि उहाँले बताउनुभयो । आगामी वैशाख १५ र १६ गते सरकारले लगानी सम्मेलनको आयोजना गरेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी व्यवसायीलाई आग्रह गर्नुभयो । साना तथा मझौला उद्योगको प्रवर्धनमा सरकार अग्रसर भइरहेको जनाउँदै उहाँले रुग्ण अवस्थामा पुगेको उद्योग सञ्चालनका लागि अध्ययन गरिने बताउनुभयो ।

उहाँले छिट्टै सरकारले वाणिज्य नीति समयानुकूल परिमार्जन गर्ने बताउनुभयो । उद्योगी तथा व्यवसायीका समस्या समाधानका लागि सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले निजी क्षेत्र समृद्ध नभएसम्म देशको अर्थतन्त्र माथि उठ्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा भारतको उद्योग वाणिज्य महासङ्घका वरिष्ठ सल्लाहकार मानव मजुमदार, युनिलिभरका प्रबन्ध निर्देशक अमलान मुखर्जी, निम्बुस होल्डीङ प्रालिका प्रबन्ध निर्देशक आनन्द बगरिया र भाइनेट कम्युनिकेसनका प्रमुख कार्यकारी अधिकृत सेवा पाठकले कठिन समयमा व्यापार अवसरका विषयमा धारणा राख्नुभयो ।