• १३ असोज २०८१, आइतबार

जनजातिको पहिचान झल्काउँदै महोत्सव

blog

शान्ता अधिकारी

चितवन, चैत ९ गते। चितवनको भरतपुरस्थित नारायणी नदी किनार आदिवासी जनजातिको बस्ती जस्तै देखिएको छ। भरतपुर भ्रमण वर्षको बारे जानकारी दिन शुक्रबारदेखि सुरु भएको प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सवका कारण नदी किनारको प्रदर्शनी मैदान त्यस्तो देखिएको हो।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले भरतपुर महानगरसँगको समन्वयमा उक्त महोत्सवको आयोजना गरेको हो। 

महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार चितवनका आदिवासी जनजाति समुदायको विषयमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको हो। 

समन्वय परिषदमा सदस्य रहेका १७ आदिवासी जनजातिमध्ये दुरा, भोटे, गुरुङ, थारु, चेपाङ, दरै, कुमाल, किराँत, तामाङ र भुजेललगायत महोत्सवमा ११ वटा आदिवासी जनजातिको पहिचान दिने घर निर्माण गरिएका छन्। घरसँगै आदिवासी जनजातिको साँस्कृतिक पहिचान झल्किने खानाका परिकार उक्त महोत्सवमा पस्कने तयारी छ।

सांस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय कुमालका अनुसार ११ जनजातिले घर निर्माण गरेका भए पनि १७ वटै जनजातीको प्रतिनिधित्व हुने ढङ्गले महोत्सव सञ्चालन गरिएको हो। महोत्सव परिसर आदिवासी जनजातिलाई समेटेर सांस्कृतिक एवं परम्परागत घरमार्फत पहिचान दिलाउने गरी महोत्सव आकर्षक बनाइएको छ।

आदिवासी जनजातिको सांस्कृतिक पहिचान, रहनसहन, उनीहरुले प्रयोग गर्ने विभिन्न सामग्री र उत्पादन एवं खाना परिकारको व्यापार गरिनेछ। आदिवासी जनजाति समुदायको मौलिक परम्परा हराउँदै गएको अवस्थामा उक्त संस्कृति नयाँ पुस्तालाई जानकारी गराउने र भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन उक्त महोत्सव गरिएको आयोजकको दाबी छ। चैत १८ गते सम्म चल्ने महोत्सवको शुक्रबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुभएको हो।