• २० वैशाख २०८१, बिहिबार

अधिकारीको विश्व कीर्तिमान यात्रा

blog

काठमाडौँ, चैत ८ गते । निरन्तरको लगाव र मेहनतबाट सफलता प्राप्त हुन्छ भन्ने उदाहरण सागर अधिकारी ‘शरद’ ले प्रस्तुत गर्नुभएको छ । साङ्गीतिक क्षेत्रमा २३ वर्ष सङ्घर्ष गर्नुभएका अधिकारीले विश्व कीर्तिमानी गायकका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएर सफलता प्राप्त मात्र गर्नु भएन सफलताका लागि धैर्यता, निरन्तरता र मेहनत आवश्यक पर्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । 

बाह्र वर्षमा खोला फर्कन्छ भन्ने उखान सागरको जीवनमा चरितार्थ हुन पूरै २३ वर्ष लाग्यो । २०५७ सालमा पहिलो पल्ट गीतमा आवाज भर्नुभएका सागरको अहिले चौतर्फी चर्चा चुलिएको छ । काममा विश्वास गर्ने उहाँ चल्तीका गायक र सङ्गीतकारमा गनिनुहुन्छ । धैर्यता र निरन्तरलाई सफलताका सूत्र मान्ने सागर भन्नुहुन्छ, “निरन्तर मेहनत गर्ने हो भने एक दिन सफल भइँदो रहेछ । निरन्तर २३ वर्ष मैले गरेको परिश्रमका कारण आज एउटा उपलब्धि हासिल गरेको छ,” सागरले भन्नुभयो । उहाँले थप्नुभयो, ‘धैर्यता नहुँदो हो त म उहिले नै यो क्षेत्रबाट हराइसकेको हुने थिएँ । 

त्यसैले सफलताका लागि आफ्नो कामलाई निरन्तरता दिन आग्रह गर्दछु ।”सुगम सङ्गीत, आधुनिक गायन र सेमी क्लासिकल शैलीका गजल गाउन र सङ्गीत गर्न रुचाउने सागरका २५० बढी गीत र गजल रेकर्ड भइसकेका छन् । सङ्गीतको औपचारिक ज्ञानबिना गायनमा प्रवेश गरेका सागर शास्त्रीय सङ्गीतमा गायनतर्फ स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिसक्नुभएको छ । महेन्द्र बहुमुखी क्याम्पस दाङमा आयोजित कार्यक्रममा गीत गाएको सुनिसकेपछि डा. गोविन्द आचार्यले २०५७ सालमा गीत रेकर्ड गराइदिएको स्मरण गर्दै सागरले भन्नुभयो, “सङ्गीतको औपचारिक ज्ञान नहुँदा गोविन्द दाइले गीत गाउने अवसर दिनुभयो । त्यसपछि मैले व्यावसायिक रूपमै अघि बढाउँछु भन्ने धारणाका साथ गीत रेकर्डिङभन्दा पनि सङ्गीत अध्ययनलाई बढी प्राथमिकता दिन थालेँ । जो अहिले बाँच्ने आधार बनेको छ ।”

वर्तमान पुस्ता राम्रो सिर्जना गर्नेभन्दा पनि कसरी हिट बनाउने भन्नेतर्फ मात्रै लाग्ने गरेको बताउँदै सागरले आफूले सुन्दर सिर्जनाका लागि लागिपर्ने बताउनुभयो । म तड्पिएको हेर्ने हौ भने मरुभूमि भई हेर बोलको गीतबाट साङ्गीतिक यात्रा प्रारम्भ गर्नुभएका सागरका नजाऊ टाढा कतै यी नजरदेखि, मलाई लट्ठै लट्ठै लट्ठै बनायो, मैले जति माया तिम्लाई कस्ले, मदिराले आज मलाई रमाउन सिकायो चर्चामा रहेका गीत हुन् ।

विश्वकै उच्च स्थानमा रहेको तिलिचो तालमा ‘अटल बाचा गरे’ बोलको गीत रेकर्ड गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएर विश्व कीर्तिमानी कायम गर्नुभएका सागरले काम गर्दाका दुःखद क्षण सफलताले भुलाएको बताउनुभयो । “आजको खुसीले हिजोको पीडा बिसाइदिएको छ । त्यति अग्लो स्थानमा रेकर्ड र छायाङ्कन गर्न सहज थिएन । 

छायाङ्कनको दौरानमा अनेकन घटना घटे त्यहाँबाट लडेको मात्र भए के के हुन्थ्यो कसैलाई थाहा थिएन,” सागरले भन्नुभयो, “खुट्टाको पाइला राख्नेबाहेक 

अरू ठाउँ थिएन । केही तलमाथि भयो भने ढुङ्गाले मान्छेसमेत लड्ने बाटो हुँदो रहेछ त्यहाँ । डिआर उपाध्याय सरलाई त अन्नपूर्ण बेस क्याम्पमै गाह्रो भएर इमरजेन्सी हेलिकोप्टर बोलाएर पोखरा ल्याई काठमाडौँ ल्याउनुपरेको थियो । त्यस्तो गाह्रो हुँदा पनि हामीले रेकर्ड राख्नु पर्छ भनेर पीडालाई पनि उछिन्दै रमाउँदै काम ग¥यौँ । आज मेहनतको फल पाएका छौँ ।” 

पाँच हजार १०५ मिटर उचाइमा छायाङ्कन गरिएको थियो । सो गीतको लागि एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले गायक अधिकारीसहित सम्पूर्ण टिमलाई विश्वकीर्तिमानको सम्मान प्रदान गर्नुभएको छ ।