• २७ पुस २०८१, शनिबार

सरकार दूरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा छ : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

स्वर्गद्वारी (प्युठान), चैत ७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा रहेको बताउनुभएको छ । झिमरुक गाउँपालिकामा सञ्चालनमा आएको नेपाल टेलिकमको फाइबर नेट सेवा शुभारम्भ गर्दै उहाँले सबै जिल्ला र पालिकामा उच्च प्रविधिको इन्टरनेट सेवा पुर्‍याउने नीतिअनुसार काम भइरहेको बताउनुभयो । उहाँले गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितताका लागि नेपाल टेलिकमका प्रतिनिधिलाई निर्देशनसमेत दिनुभयो । 

मन्त्री शर्माले चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने बताउनुभयो । शर्माले भन्नुभयो, “इन्टरनेट सेवा पालिका हुँदै वडासम्म पुर्‍याउन सके जनताले सहज इन्टरनेट सेवा पाउने र  टेलिकमको आम्दानी वृद्धि हुनेछ, यसलाई सबै स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गरी काम भइरहेको छ ।” मन्त्री शर्माले नेपाल टेलिकम सकारात्मक प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाएकोमा टेलिकम सहयोगी भूमिकामा रहनु पर्ने उहाँको तर्क छ । सात गाउँपालिका र दुई नगरपालिका गरी नौ स्थानीय तह रहेको प्युठानका चार स्थानीय तहमा प्युठान र स्वर्गद्वारी नगरपालिका, मल्लरानी र माण्डवि गाउँपालिकामा  नेपाल टेलिकमको एफटीएचएच सेवा पुगेकोमा आजदेखि झिमरुक गाउँपालिका समेत सेवा पुगेको नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले बताउनुभयो । 

उहाँका अनुसार ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकामा सेवा प्रवाहका लागि सर्वे भइसकेको र गौमुखीमा सर्वेको तयारी गरिएको छ । हाल नेपाल टेलिकमले यहाँ चार हजार छ सय आठ जनालाई सेवा दिन पुग्ने फाइबर नेट उपलब्ध गराएको छ । त्यसमध्ये एक हजार छ सय १८ जनालाई सेवा प्रवाह गरिएको छ । प्युठानमा ३७ वटा फोरजी टावर सञ्चालनमा रहेको नेपाल टेलिकमले जनाएको छ । त्यस अवसरमा नेपाल टेलिकम लुम्बिनी प्रदेशका प्रादेशिक निर्देशक अनन्तप्रसाद मल्लिक, भैरहवाका उप-प्रबन्धक कुश्माकर न्यौपाने, नेपाल टेलिकम बिजुवारका कार्यालय प्रमुख निरञ्जन श्रेष्ठलगायतको उपस्थिति थियो । रासस