• १५ वैशाख २०८१, शनिबार

उपत्यकासहित देशको पूर्वी भूभागमा वर्षा

blog

काठमाडौँ उपत्यकामा भएको वर्षा । तस्बिर : केशब गुरुङ

विष्णु पाण्डेय/विजयकुमार साह

काठमाडौं, चैत ७ गते । अहिले देशभरको मौसम बदली भएको छ । जसकारण काठमाडौँ उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभरनै देशको पूर्वी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिममा कम रहेको छ ।


‘‘काठमाडौँमा बुधबार र बिहीबार पनि छिटपुट वर्षा हुने सम्भावना छ,’’ उहाँले भन्नुभयो, गण्डकी प्रदेशदेखि पूर्वमा बिहीबार पनि वर्षाको सम्भावना छ ।

उहाँका अनुसार गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रूपमा कम बदली छ । बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ । बदली र वर्षा भएका स्थानमा जाडो महसुस भएको छ । पर्सिदेखि मात्र मौसममा सुधार हुँदै जाने मौसमविद् झाले बताउनुभयो ।


मधेश प्रदेशमा छ महिनापछि वर्षा, किसान खुसी

यसैगरी, धनुषालगायत मधेश प्रदेशका जिल्लामा झण्डै छ महिनापछि वर्षा भएको छ । अन्तिम पटक असोज दोस्रो साततिर वर्षा भएको थियो । त्यसयता पहिलो पटक बुधबार वर्षा भएको हो । वर्षापछि यहाँका किसान खुसी भएका छन् । लामो खडेरीका कारण बालीनाली सुक्दै गएका बेला भएको यो वर्षाले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

मिथिला नगरपालिकाका कृषि प्राविधिक उमेश महतोले लामो समयपछि भएको वर्षाले सबै प्रकारका बालीनालीलाई फाइदा पुग्छ भने केही प्रतिशत नोक्सानी पनि पुर्‍याउन सक्ने बताउनुभयो । उहाँले सबैभन्दा बढी तरकारी बालीलाई फाइदा पुग्ने बताउनुहुँदै आँप, कटहरलगायत तराईमा फल्ने मौसमी फलफूललाई पनि फाइदा पुग्ने जानकारी दिनुभयो । त्यस्तै, गहुँबालीलाई नोक्सानी पुर्‍याउन सक्ने उहाँको भनाइ ।

वर्षासँगै चलेको हावाले गहुँको बोट खेतमै लडाउने अथवा घर भित्र्याउन काटेर राखेको गहुँ भिजेर नोक्सान हुनसक्ने कृषि प्राविधिक महतोले बताउनुभयो । उहाँले वर्षाले भूमिको तापक्रम घटेको जानकारी दिनुभयो ।


लगायताको खडेरीले बालीनाली सुक्न लागेको बेला भएको यो वर्षाले केही राहत पुगेको स्थानीय किसानको भनाइ छ । सिँचाइ सुविधा नपुगेको क्षेत्रका किसानका लागि यो वर्षा वरदान साबित भएको मिथिला नगरपालिका–११, बाहुनमाराका किसान प्रेमबहादुर कार्कीले बताउनुभयो ।

एक तथ्याङ्कअनुसार मधेश प्रदेशमा कुल पाँच लाख ८५ हजार ८ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये चार लाख १४ हजार ७५६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको दाबी गरिएको छ । सिँचाइ गुरु योजनाअनुसार प्रदेशको कुल सतह सिँचाइ आयोजना र डिप ट्युबवेल तथा स्यालो ट्युबवेलबाट सिँचाइ प्रबन्ध मिलाइएको तथ्याङ्कमा उल्लेख छ । बाँकी क्षेत्रका किसान आकाशे खेतीमै निर्भर छन् ।

सिञ्चित क्षेत्रमा पनि कहिले पानी अभाव हुन्छ । यसले गर्दा सिञ्चित क्षेत्रका किसान पनि आकाशे पानीकै भरमा पर्नु पर्ने अवस्था छ । बुधबारको वर्षाले बाली सपार्न मद्दत पुग्ने कृषि विज्ञहरूको भनाइ छ ।

यो पनि पढ्नुहोस

कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना