• १३ साउन २०८१, आइतबार

किसानलाई परिचयपत्र वितरण

blog

सुर्खेतको लेकवेशी नगरपालिकाका किसानलाई परिचयपत्र वितरण गरिँदै । तस्बिर : नविन सुवेदी

सुर्खेत, चैत ७ गते । सुर्खेतको लेकवेशी नगरपालिकाले किसान परिचयपत्र वितरण सुरु गरेको छ । मङ्गलबारदेखि नगरपालिकाले वर्गीकरणसहितको किसान परिचयपत्र वितरणको काम सुरु गरेको हो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले परिचयपत्र वितरणले भू–उपयोगमा पहुँच पुग्ने बताउनुभएको छ । उहाँले किसान वर्गीकरणसहितको परिचयपत्र वितरणको शुभारम्भ कार्यक्रमका सुरुवात गर्नुभएको थियो । शर्माले किसान  अम्बरबहादुर थापालाई  परिचयपत्र वितरण गरी औपचारिक रूपमा शुभारम्भ गर्दै वर्गीकरणसहितको किसान परिचयपत्र वितरणले भू–उपयोगमा पहुँच पुग्ने बताउनुभएको हो । कर्णालीको खेतीयोग्य जमिन बाँझो रहेको गुनासो गर्दै किसान परिचयपत्र वितरणले भू–उपयोग नीतिलाई पूर्ण रूपमा पहुँच पुर्‍याउने विश्वास गर्दै किसानलाई भू–उपयोगमा प्रविधि र प्राविधिक सहित सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध भएको मन्त्री शर्माले बताउनुभयो ।

परिचय पत्र वितरण प्रणालीलाई भूमि हीन सुकुम्वासी, सान किसान, मध्यम र ठुला किसान ४ भागमा विभाजन गरी वितरण गर्न कर्णाली प्रदेशको पहिलो स्थानीय तह लेकवेशी नगरपालिका भएको बताउँदै किसान परिचय पत्रको व्यवहारिक कार्यान्वयन गर्न स्थानीय सरकारले अनुगमन तथा निरीक्षण प्रणालीलाई सक्रिय बनाउन आग्रहसमेत मन्त्री शर्माले गर्नुभयो ।

वास्तविक किसान भुईतहमा र बारीमै सीमित भएको र अनुदान मुखी किसान परिचयपत्र मा मात्रै सीमित हुने प्रणाली प्रदेश सरकारले खारेज गरी उत्पादनमा आधारित अनुदानलाई व्यवस्थित गर्न प्रदेश सरकारले एक फर्म एक उत्पादन र अनेक स्वामित्वको नीति अवलम्बन गरिएको बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकार प्रतिस्पर्धी नभई समन्वय सहकार्यबाट किसानको हकहितमा कार्य गर्ने भएकाले प्रदेश सरकारले स्थानीयतहका कर्मचारीको क्षमतावृद्धि जस्ता कार्यक्रम सहकार्य गरेको बताउनुभयो । लेकवेशीको वडा नं १ न लेखफर्साबाट वर्गीकरणसहितको किसान परिचय वितरणको पहिलो चरणमा ३० जना किसानलाई परिचयपत्र वितरण गरिएको लेकवेशी नगरपालिकाका प्रमुख उमेश पौडेलले बताउनुभयो ।