• २० जेठ २०८२, मङ्गलबार

सुदूरपश्चिममा लामो दूरीका यातायात ठप्प

blog

लामो दूरीमा चल्ने यातायात । फाइल तस्बिर

निराजन परियार
चौमाला (कैलाली), जेठ १८ गते ।
सुदूरपश्चिम प्रदेशमा रहेका यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरूले आइतबारदेखि लामो दूरीका सवारी साधन ठप्प पारेका छन् ।

यसैगरी व्यवसायीहरूले जेठ १९ गते अर्थात् सोमबारदेखि सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प पार्ने घोषणा समेत गरेका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल यातायात व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले यातायात व्यवसायीहरूले आज कालो पट्टी र सवारीसाधनमा कालो झण्डा लगाउने बताउनुभयो ।

उहाँले निजि सवारी साधनले सार्वजनिक सवारी साधन सरह सञ्चालन गर्न पाउने व्यवस्थाको आफूहरूले विरोध गरेको बताउनुहुँदै सार्वजनिक सवारी साधन सञ्चालनको विधि र आयातलगायतका विषयमा प्रदेश सरकारको ठोस नीति के हो ? भन्ने प्रश्न गर्नुभयो ।

गण्डगी प्रदेश सरकारले ल्याएको ऐन खारेज गर्नुपर्ने तथा विगतमा यातायात व्यवसायीसँग सरकारले गरेका सहमति, सम्झौताहरू कार्यान्वयन हुनुपर्ने माग आफूहरूको रहेको संयोजक जोशीको भनाइ छ ।

माग पूरा नभए सार्वजनिक यातायात पूर्णरूपमा ठप्प पार्ने यातायात व्यवसायीहरूले घोषणा गरेका छन् । राज्यलाई लाखौँ रुपियाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धरासायी बनाउन खोजेको आरोप लगाएका छन् ।