• २० वैशाख २०८१, बिहिबार

‘चलचित्र पर्यटनको सम्भावना छ’

blog

काठमाडौँ, चैत ७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को समापन समारोहमा बोल्दै तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 

उहाँले चलचित्रका माध्यमबाट नेपाली कला र संस्कृतिको  विश्वव्यापीकरण गर्न सकिने पनि बताउनुभयो । महोत्सवमा वल्र्ड प्यानारोमा फिचरमा छनोट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको ‘वाइल्ड स्वान’ ले जितेको छ भने निर्माण टिमले ट्रफीसहित एक हजार पाँच सय अमेरिकी डलर प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ‘लभ लाइट’ ले माउन्ट एभरेस्ट अवार्ड जितेको छ । त्यस्तै ‘आई प्रमिस यु प्याराडाइज’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमती अवार्ड जितेको छ ।

‘द ट्रेकर, द वुल्फ एन्ड द मङ्की किङ’ ले जुरी स्पेसल मेन्सन अवार्ड जितेको छ । ९४ मिनेटको यो फिल्म चीनबाट महोत्सवमा सहभागी बनेको थियो । ‘डन किहोटे’ उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड भने ‘लाजरस पाथ’ ले पायो । उत्कृष्ट राष्ट्रिय लघु फिल्म ‘एट एनोदर विन्टर’ ले जितेको छ भने ‘ऐके शेर्पा’ उत्कृष्ट डकुमेन्ट्रीतर्फ इनुमा राईले अवार्ड पाउनुभयो । 

नेपाली फिचर फिल्म ‘बुलाकी’ ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मतर्फ अवार्ड उचाल्दा यही फिल्मबाट लक्ष्मण सुनारले उत्कृष्ट निर्देशक र सुरक्षा पन्तले उत्कृष्ट अभिनेतृको अवार्ड पाउनुभएको थियो । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको ‘अडियन्स चोइस’ अवार्ड ‘अर्केस्ट्रा’ बाट निर्देशक सफल पाण्डेले जित्नुभयो भने फिचर फिल्मतर्फको ‘अडियन्स चोइस अवार्ड’ भने ‘पखेँटा’ ले जितेको छ । राजेश श्रेष्ठ र सङ्कल्प भुजेलले ‘एक भागवत एक गीता’ बाट उत्कृष्ट सिनिमेटोग्राफीतर्फ अवार्ड उचाल्दा उत्कृष्ट अभिनेतामा भने विपिन कार्कीले एक ‘भागवत एक गीता’ बाट अवार्ड प्राप्त गर्नुभएको छ । फिचर फिल्मबाटै उत्कृष्ट पटकथातर्फ चलचित्र ‘डेसान’ ले अवार्ड पायो । उत्कृष्ट अभिनेतृमा सुरक्षा पन्तले चलचित्र ‘बुलाकी’ बाट अवार्ड पाउनुभयो ।