• ११ माघ २०८१, शुक्रबार

उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या

blog

काठमाडौँ, चैत ६ गते । काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो ।

विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यानमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी पछिल्लो समय नेपालका बालबालिकामा दाँत किराले खाने अत्यधिक रहेको बताएको छ । पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा.बुद्धिमान श्रेष्ठले बालबालिकाले राम्रोसँग ब्रस नगर्ने, बजारमा पाइने तयारी खाना खाने, चक्लेट, बिस्कुटलगायत गुलियो खानेकुरा खाँदा अधिकांश बालबालिकाको दाँत किराले खाने समस्या देखिएको बताउनुभयो ।

अस्पतालले बिएम फाउन्डेसन र रोटरी क्लब अफ काठमाडौँ नर्थसँगको सहकार्यमा उपत्यकाभित्रका ६८ विद्यालयमा अध्ययन गरेको थियो । कुल २४ हजार एक सय ५४ विद्यार्थीसँग गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको हो । अस्पतालले विभिन्न समुदायमा गएर गरेको दन्त शिविरका क्रममा वयस्कहरुमा ४५ प्रतिशत गिजाको समस्या पाइएको डा श्रेष्ठले बताउनुभयो । हालसालै उक्त अस्पतालले झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक, कैलाली, सिन्धुली र नुवाकोटमा दन्त शिविर सञ्चालन गरेको थियो ।

तीनदिने निःशुल्क दन्त परीक्षण गरिने

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले विश्व मुख स्वास्थ्य दिवसका अवसरमा बुधबारदेखि शुक्रबारसम्म तीनदिने निःशुल्क दन्त परीक्षण गर्ने भएको छ । अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मार्च २० अर्थात् विश्व मुख स्वास्थ्य दिवसका अवसरमा निःशुल्क दन्त परीक्षण गर्न लागेको हो । यस्तै, विश्व मुख स्वास्थ्य दिवसका अवसरमा सो अस्पतालले भोलि जनचेतनामूलक  र्‍याली आयोजना गर्ने, निबन्ध प्रतियोगिता र कला प्रतियोगिता आयोजना गर्ने भएको हो । रासस