• १३ साउन २०८१, आइतबार

मणिका धाममा धार्मिक मेला

blog

कञ्चनपुर, चैत  ५  गते । शुक्लाफाँटा नगरपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि भक्तजन आउनेक्रम सुरु भएको छ ।

सो धाम क्षेत्रमा भारतीयसँगै छिमेकी जिल्लाका भक्त वैजनाथ सिद्धनाथ बाबाको दर्शन गर्नका लागि मन्दिर क्षेत्रमा पुग्नेक्रम बढ्दोरुपमा रहेको छ । आज राति र भोलि दिउँसो मन्दिरमा धार्मिक मेला लाग्ने वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालले बताउनुभयो । 

उहाँका अनुसार फागुन शुक्लपक्षको नवमीमा रात्रि र दशमीको दिउँसो मेला लाग्ने गर्दछन् । वर्षौँदेखि यसै तिथिमा मणिका धाम क्षेत्रमा मेला लाग्दै आएको छ । “मेलामा पुग्ने भारतीय तथा आन्तरिक श्रद्धालु भक्तजनलाई मध्येनजगर गरी खानेपानीको सुविधासँगै सडक मर्मतको कार्य गरिएको छ”, अध्यक्ष हमालले भन्नुभयो, “भक्तजनलाई रातिको आरती र भजनकीर्तन गर्नका लागि आवश्यक प्रबन्ध मिलाएका छौँ ।”

बजार व्यवस्थापनको कार्यसँगै बसको अत्यधिक चाप हुने भएकाले पार्किङको उचित प्रबन्ध मिलाइएको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार मन्दिर परिसर क्षेत्रमा जनसहभागितामा सरसफाइको काम गरिएको छ । मन्दिरमा मनोबाञ्छित फल प्राप्तिका लागि भाकल गरेकाले रातिको मेलामा सहभागी भई मन्दिरमा दियो जलाउने, पूजाआजा गर्ने गर्दछन् । मन्दिरमा भेटीलगायत अन्य वस्तु चढाउने पनि रात्रिको मेलामा अनिवार्य सहभागी हुने गर्दछन् । 

मेलामा अप्रिय घटना हुन नदिनका सुरक्षाका लागि प्रहरीसँग समन्वयको कार्य गरिएको मन्दिरका मुख्य कारिन्दा डम्बरबहादुर ऐरले बताउनुभयो । “धार्मिक भक्तजनको अत्यधिक चाप हुने भएकाले त्यसकै व्यवस्थापनको पूर्वतयारीमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “साधु, ब्राह्मण, अन्य भक्तजन बस्ने स्थान निर्धारणको कार्य गरिएको छ ।” 

प्रत्येक वर्ष झैँ यस वर्ष पनि श्रद्धालु भक्तजनको निकै भीड लाग्ने अनुमान गरी त्यसैअनुरूप तयारीको काम भइरहेको उहाँको भनाइ छ । मेलामा रु एक लाख बढी भक्तजन पुग्ने अनुमान गरिएको छ । मेलामा दर्शन गर्न र व्यापार व्यवसाय गर्नका लागि ठुलो सङ्ख्यामा भारतको उत्तराखण्ड र उत्तरप्रदेशबाट भारतीय पुग्नेक्रम जारी रहेको छ । 

धाम क्षेत्रलाई स्थानीय बासिन्दाले मुड्काका नामले चिन्ने गर्दछन् । थारु भाषामा ‘मुड’ भन्नाले शिर भन्ने बुझिन्छ । सबैभन्दा अग्लो स्थानमा सिद्धनाथ–बैजनाथको थपना भएकाले यसलाई मुड्का भन्ने गरिएको थारु बुढापाकाको भनाइ छ । मन्दिर नजिकै सुन्दर तलाउ पनि रहेको छ । त्यसलाई स्थानीयले मुड्का ताल भन्ने गर्दछन् । 

ताल भने संरक्षणको अभावमा पुरिँदै जान थालेको छ । सङ्घीय सरकारले यस वर्ष सात प्रदेशका मुख्य पर्यटकीय क्षेत्रको विकास गर्ने योजनाअनुसार सुदूरपश्चिम क्षेत्रमा मणिका धाम क्षेत्रका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । मन्दिरको चारैतिर घना सालको वन रहेको छ । पूर्व–पश्चिम राजमार्गको कलुवापुर र झलारी क्षेत्र हुँदै बस चढेर आधा घण्टामै मणिका धाम क्षेत्रसम्म पुग्न सकिन्छ । मणिका धाम क्षेत्रमा सिद्धनाथ, वैजनाथ बाबाको प्राचीन मन्दिर, विवाहमण्डप, धुनी घर, भजनकीर्तन गर्ने स्थलसँगै साधु बस्ने कुटी रहेको छ । रासस