• २२ वैशाख २०८१, शनिबार

बाह्रै महिना पढाइ हुने हिमालपारि

blog

उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन सुचारु हुँदै आएको पाइएको छ । लिमीको वडा कार्यालय र अभिभावकले विद्यालयलाई बाह्रै महिना पठनपाठन सुचारु राख्ने निर्णय गरे अनुसार अत्यधिक चिसो बढिरहेको भए पनि हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन जारी रहेको छ । विद्यार्थीलाई बाक्ला कपडा लगाएर कक्षाकोठामा प्रवेश गराउने गरिएको छ । त्यति मात्र नभएर विद्यालयमै आगो बाल्ने व्यवस्थासमेत गरिएको छ । 

दुर्गम ठाउँ भए पनि अभिभावक आफ्ना नानीहरूको पढाइप्रति निकै जिम्मेवार देखिएका छन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार गाउँको सामूहिक निर्णय अनुसार विद्यालयलाई हिउँदे बिदामा पनि पठनपाठन जारी राखिएको छ । 

लिमीमा एउटा मात्र सुनखानी आधारभूत विद्यालय मात्र सञ्चालित छ । लिमीका तीन गाउँका लागि तीन विद्यालय भए पनि तील र जाङ गाउँका विद्यालय विद्यार्थी नभएकै कारण बन्द भइसकेका छन् । दिउँदे बिदा गर्दा विद्यार्थीको पठनपाठन बिग्रिने निष्कर्ष वडा र अभिभावकले गरेपछि विद्यालयमा पठनपाठन जारी राखिएको हो । 

विद्यालयका शिक्षक पिण्डक तामाङले नियमानुसार सामुदायिक विद्यालयमा पुस १५ बाट बिदा हुनुपर्ने भए पनि लिमीको विद्यालयलाई सुचारु गरिएको बताए पनि विद्यालय सुचारु रहेको बुझ्न कठिन छैन । जिल्लाका सामुदायिक, धार्मिक र संस्थागत गरी १५१ वटा विद्यालयमध्ये लिमीको सुनखानी आधारभूत विद्यालयमा मात्र पठनपाठन सुचारु हुँदै आएको छ । 

बालविकासदेखि कक्षा ६ सम्म पठनपाठन हुने उक्त विद्यालयमा १९ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । एक जना बालविकासको शिक्षक सरकारी भए पनि अन्य तीन जना भने निजी स्रोतका शिक्षकले पठनपाठन गराउँदै आएका छन् । शिक्षक तामाङले विद्यालयमा पाठ्यक्रमका अतिरिक्त तिब्बेतियन भाषा, सङ्गीत र गुरुको ध्यानसमेत गराउने गरिएको बताउनुभयो । विद्यालयमा बिहान १० देखि बेलुका ४ बजेसम्म पढाइ सञ्चालन हुने गरेको छ । 

विद्यार्थी र शिक्षकका लागि बिहानको खाना विद्यालयमै खाने व्यवस्था गरिएको छ । यसका लागि अभिभावकले घरबाट खानेकुराको बन्दोबस्ती गर्ने र पालो लगाएर अभिभावकले खाना पकाएर खुवाउने गरिएको छ । शनिबार मात्र बिदा हुने उक्त विद्यालयमा वार्षिक परीक्षासमेत भएको छैन । विद्यालयले चैतमा गर्ने तयारी गरेको छ जब कि जिल्लाभरका सबै विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भएर परिणामसमेत आइसकेको छ । जिल्लाका अन्य विद्यालय फागुन २ गतेबाट सञ्चालन हुने छन् ।   

Author

राजन रावत