• १३ असोज २०८१, आइतबार

डेउडा संस्कृति जोगाउन ऐन बनाउन माग

blog

देउडा लोकसाहित्य प्रवर्धनात्मक संवाद कार्यक्रममा सहभागीहरु । तस्बिरः प्रकाशविक्रम शाह

प्रकाशबिक्रम शाह

धनगढी, चैत ४ गते । सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित डेउडा संस्कृति संरक्षणका लागि प्रदेश सरकारले ऐन बनाउनु पर्ने माग संस्कृतिका चिन्तकले गर्नुभएको छ ।  

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आइतबार धनगढीमा भएको समाज रुपान्तरणमा देउडा लोकसाहित्य प्रवर्धनात्मक संवादमा सो  माग गरिएको हो । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा डेउडा एउटा संस्था भएको बताउँदै यसलाई बलियो बनाउनु पर्ने बताउनुभयो । 

प्रदेशसभाका अर्का सदस्य सन्तोष शर्मा थापाले आफूले कार्यक्रमबाट धेरै सिक्न पाएको बताउँदै विगतमा यसरी डेउडाबारे व्यापक छलफल नभएको बताउनुभयो । डेउडा बचाउन आफूहरुले सक्दो प्रयास गर्ने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो । 

डेउडाको अध्ययन गरिरहनु भएका डिलादत्त पन्तले प्रदेश सरकारले ऐन बनाउँदा पालिकाले डेउडाको संरक्षणमा काम गर्ने वातावरण बन्ने बताउनुभयो । उहाँले सुदूरपश्चिम र कर्णाली प्रदेशका विद्यालयमा समेत डेउडा कार्यक्रम नियमितरुपमा चलाउनु पर्ने बताउनुभयो ।

उहाँले डेउडाको दस्तावेजीकरण नभएकाले लोप भएर जाने अवस्था आएको बताउँदै आफूहरुले त्यसको दस्तावेजीकरण गर्न युनिभर्सिटी दि क्रियटिभ आर्टस, युकेसित काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा धनगढीका पूर्व नगरप्रमुख खेमराज पाण्डेय, सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. हरिस भट्ट, साहित्यकार हेमन्त विवस, पद्मराज जोशी, गीतकार विपी शाह ‘राजेन्द्र’ लगायतले डेउडा संरक्षणबारे बोल्नुभयो ।  कार्यक्रममा प्रदेशसभा सदस्यहरु धर्मराज पाठक, मेघराज खड्का लगायतको पनि सहभागिता थियो । 

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यबारे पत्रकार गोविन्द खड्काले प्रकाश पार्नुभयो ।