चन्द्र पन्दाक
ताप्लेजुङ, असार १६ गते । ताप्लेजुङमा वन तथा वातावरण संरक्षणमा संलग्नलाई वन प्रवर्धन सूचना प्रणालीसम्बन्धी तालिम प्रदान गरिएको छ । सामुदायिक वन समूह लगायतमा आबद्ध रहेर वन संरक्षणसम्बन्धी क्रियाकलापमा संलग्न रहँदै आएकालाई वन तथा ज्ञान प्रवर्धन सूचना प्रणाली तालिम प्रदान गरिएको हो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङले तीन दिने वन प्रवर्धन सूचना प्रणालीसम्बन्धी आयोजना गरेको हो । सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध पदाधिकारी तथा सदस्य, वन संरक्षणमा संलग्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्रलगायत निकायका कर्मचारीलाई सूचना प्रणालीसम्बन्धी तालिम प्रदान गरिएको हो ।
वन प्रवर्धन तथा ज्ञान प्रवर्धन सूचना प्रणालीसम्बन्धी शिक्षा प्रदान गर्नेगरी तालिम आयोजना गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । ओझाका अनुसार डिभिजन वन कार्यालय ताप्लेजुङको सहयोगमा आयोजना गरिएको तालिममा करिब ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
तालिममा वन विषयका विज्ञ शिशु झा र गुलावकुमार चौधरीले प्रशिक्षण दिनुभएको थियो । वन प्रवर्धन तथा ज्ञान प्रवर्धन सूचना प्रणालीअन्तर्गत जिपिएस इसेन्सियल, ल्याण्ड क्याल्कुलेटर एप्सबारे जानकारी दिने, उक्त एप्समार्फत लोकेसन (स्थान) पत्ता लगाउने, जग्गाको सीमाङ्कन र क्षेत्रफल पत्ता लगाउनेजस्ता विषय तालिममा सिकाइएको थियो । शुक्रबार सुरु भएको तालिम आइतबार सम्पन्न भएको सामुदायिक वन उपभोक्ता महासङ्घ, जिल्ला महासङ्घले जनाएको छ ।