• १५ वैशाख २०८१, शनिबार

सिमकोटले तयार गर्‍यो भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड

blog

राजन रावत 

हुम्ला चैत ४ गते । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड तयार गरेर गाउँसभाबाट पारित गरेको छ । 

भवनहरू जथाभाबी बन्न थालेपछि गाउँपालिकाले त्यसलाई व्यवस्थित गर्नका लागि मापदण्ड तयार पारिएको हो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास आलेले आठौँ गाउँसभाले सिमकोट गाउँपालिकाको बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०८० निर्माण भएर गाउँसभाबाट पारित भएको बताउनुभयो । 

उहाँले मापदण्ड पारित भई सकेको र त्यसलाई तत्काल राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो ।

अब भवन निर्माण आधारभूत मापदण्डलाई कार्यान्वयन पक्षलाई जोड दिने गाउँपालिकाले जनाएको छ । यसअघि सो मापदण्ड नभएको कारण भवनहरू आफूखुसी निर्माण गर्ने प्रचलन बढ्दै गएको थियो । गाउँसभाले सिमकोट गाउँपालिका आर्थिक सहयता सम्बन्धी कार्यविधि २०८० पनि पारित गरेको छ । 

बालविवाह अन्त्यका लागि स्थानीय रणनीति २०८०, व्यवसाय कर सम्बन्धी कार्यविधि २०८०, घरबहाल कर सम्बन्धी कार्यविधि, पूर्वाधार विकास योजना सञ्चालन सम्बन्धी कार्यविधि घ वर्षको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधि २०७५ लाई संशोधन र सामुदायिक विद्यालय प्रधानाध्यापक छनौट कार्यविधि २०८० समेत पारित भएको छ ।