• २० वैशाख २०८१, बिहिबार

शङ्करले निर्देशन गर्ने सिड्नी ब्लुजुमा पुष्पल र अञ्जना

blog

काठमाडौं, चैत ४ गते । अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र सिड्नी ब्लुजमा अभिनय गर्नुहुने भएको छ ।  शुक्रबार निर्माण पक्ष र पुष्पलबिच कागजी सम्झौता भएको छ ।  

हाल प्रि प्रोडक्सनमा रहेको यो चलचित्रमा पुष्पलसँगै अञ्जना बराइली, रवीन्द्र झा, शिव आर.ठकुरी लगायतको प्रमुख भूमिका रहने छ । शिवले यसै चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै हुनुहुन्छ । 

जुन २०२४ को पहिलो हप्ताबाट छायाङ्कनको लक्ष्य रहेको यस चलचित्रमा आफ्नो देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्कीले बताउनुभयो ।

निर्देशक कार्कीले अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । सो युवकको कथा यो चलचित्र मार्फत भन्ने प्रयास गर्ने बताउनुभयो । 

यसको छायाङ्कन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ । यसको छायाङ्कनको समयमा नेपाली चलचित्रमा खासै प्रयोग नगरिएको मिनेचर सेट र प्रोस्थेटिक मेकअपुको प्रयोग हुने निर्देशक शङ्कर कार्कीले जानकारी दिनुभयो । 

अभिनेता पुष्पलले यो चलचित्रमा आफूले चार किसिमको लुक्समा र चुनौतीपूर्ण भूमिकामा अभिनय गर्नुपर्ने बताउनुभयो । उहाँले निर्देशकको सोचलाई पूरा गर्न आफूले सके जति मेहनत गर्ने प्रतिबद्धता गर्नुभयो । 

चलचित्रको कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरे (माइकल) हुनुहुन्छ । सुसन प्रजापतिले छायाङ्कन गर्ने यो चलचित्रका निर्माण व्यवस्थापक प्रकाश हमाल हुनुहुन्छ । कुटुम्ब ब्यान्डले ब्याकग्राउन्ड स्कोर दिने चलचित्रका कोरियोग्राफर रामजी लामिछाने हुनुहुन्छ । 

आर्ट मुभिजको प्रस्तुतिमा डी मिडियाले बनाउने यो चलचित्रको रिलिज लक्ष्य २०२४ को डिसेम्बर रहेको छ । चलचित्रकी निर्माता आरती शाही हुनुहुन्छ ।  तारा नेपाली कार्यकारी निर्माता र एशोसियट निर्माता धर्म सुवेदी हुनुहुन्छ ।