• ७ मंसिर २०८१, शुक्रबार

चिन्ता (कथा)

blog

मती बहाना बनाउन थालिन् म सचेत हुनुपर्ने थियो तर श्रीमतीको मायामा यति अन्धो भएछु अन्य कुरा सोच्न आवश्यक ठानिन् । मैले उनका सबै आवश्यकता पूरा गरे जस्तो लागेको थियो । उनी खुसी छन् भन्ठानेको थिएँ । उनको चरित्रमा कुनै खोट छैन भन्ने कुरामा दृढ थिएँ । जब उनको असल नियत बाहिर आउन थाल्यो त्यतिबेला धेरै ढिलो भइसकेको थियो । 

मेरो नाम गम्भीर शर्मा हो । म अहिले ४६ वर्षको भएँ । मेरो विवाह ३० वर्षको उमेरमा भएको थियो । त्यतिबेला विवाह गर्ने उमेर बढी भएको मानिन्थ्यो । मैले जागिरपश्चात् मात्र विवाह गर्ने योजना बनाएको थिएँ । मैले मेहनत गरेँ । मेहनतको फल पनि प्राप्त भयो । मैले लोक सेवा उत्तीर्ण गरेँ । मेरो विवाह छिमेकी गाउँकी स्नेहा नामकी कन्यासँग भएको थियो । स्नेहाकी एउटी दिदी थिइन् प्रेरणा । स्नेहाभन्दा एक वर्षअघि प्रेरणाको विवाह भएको रहेछ । प्रेरणाको श्रीमान् एनजिओमा काम गर्थे । उनको नाम अशोक थियो । उनले स्नेहासँग विवाह गर्न खोजेका रहेछन् तर दिदीभन्दा पहिला बहिनीको विवाह नगर्ने परिवारबाट अडान भएपछि प्रेरणासँग विवाह गरेका रहेछन् । उक्त कुरा मैले विवाहपछि थाहा पाएँ ।

विवाहका लागि केटी हेर्न जाँदा म मेरो काका ध्रुवसँग गएको थिएँ । धु्रव काका सरकारी जागिरे हुनुहुन्थ्यो । मभन्दा पाँच वर्ष मात्र जेठो हुनुहुन्थ्यो । हामी काका भजितभन्दा बढी साथी जस्ता थियौँ । काकाको तीन वर्षअघि विवाह भएको थियो । उहाँकी श्रीमती राम्री हुनुहुन्थ्यो । काकाको रोजाइ राम्रो हुन्छ भन्ने ठानेर नै काकालाई लिएर केटीको घरमा गएको थिएँ । स्नेहाले चिया लिएर आइन् । मलाई उनको अनुहार हेर्न लाज लाग्यो तर काकाले तलदेखि माथिसम्म हेरिरहनुभएको थियो । स्नेहा मभन्दा १० वर्ष कान्छी थिइन् । हामीलाई एउटा कोठमा पु¥याइयो । सामान्य कुराकानी भयो । अनि फर्कियौँ । केटीलाई देख्नेबित्तिकै काकाले मलाई विवाह गर्न प्रेसर दिन थाल्नुभयो । उनको र परिवार दुवैको स्वीकृति पाएँ । स्थायी जागिरेसँग विवाह गर्दा सजिलै पाल्न सक्छ भन्ने लागेको हुन सक्छ ? मैले आमाबाबासँग सल्लाह गर्नु पर्छ भन्दा पनि काकाले मान्नुभएन । काकाले भन्नुभयो, “कुल घर छ, केटी राम्री छ दाइलाई म भन्छु ।” हामीले विवाहको दिन निधो गरेर मात्र घर फर्कियौँ । 

म आमा बाबाको एक्लो छोरो उहाँहरूलाई नसोधी विवाहको निधो गर्दा अलि अप्ठ्यारोे लागेको थियो । मेरो सोचाइको विपरीत बाबाआमा खुसी हुनुभयो । काकाले श्रीमती च्वाक पाइस् भन्नुहुन्थ्यो । मैले मलाई जिस्काएको रूपमा बुझेँ । उहाँले विवाह र त्यसपछि पनि धेरै पटक च्वाक भन्ने शब्द दोहोराइ रहनुभएको थियो । विवाहको बेला दुलही पट्टीका सबै काम मेरा साढुदाइ अशोकले गर्नुभएको थियो । राम्रो कमाइ भएकोले उहाँको पुर्तीफार्ती पनि बैग्लै थियो । विवाहको बेला बाबुआमाले भन्दा साढुदाइले बढी आँसु झार्नुभएको थियो । दुलही अन्माउँदा उहाँको धम्कीपूर्ण भाषा थियो, “साली नानीलाई राम्रोसँग पाल्नुहोला केही तलमाथि भयो भने ठिक हुने छैन ।” विवाहको दिन त्यसोभन्दा मेरो मन च्वाँस्स बिजेको थियो । स्नेहाले पालैपालो मेरो र भिनाजुको मुख हेरेकी थिइन् । स्नेहा साह्रै राम्री थिइन् । सुनेको थिएँ, “राम्री श्रीमती भाग्यमानीले पात्र पाउछन् ।” अरूले स्नेहाको प्रशंसा गर्दा मेरो घिरौलाको जत्रो नाक हुन्थ्यो । बुवा आमा पनि खुसी हुनुहुन्थ्यो । रूप जस्तै बोली वचन पनि निकै सुमधुर थियो, स्नेहाले कुनै गुनासो गर्ने मौका दिइनन् । मैले उनलाई औधी माया गर्थे । हाम्रो वैवाहिक सहज रूपमा अगाडि बढ्यो । विवाहको तीन वर्षभित्र छोरा अर्पण र छोरी अरुणा जन्मिसकेका थिए ।

एक दिन स्नेहाले मलाई भनिन्–“दिदी भिनाजुले काठमाडौँमा घडेरी किन्नु भएछ । हामीले पनि काठमाडौँमा घडेरी किनौँ ।” काठमाडौँमा घडेरी किन्ने कुरा मलाई राम्रो लाग्यो । मैले काकालाई सोधेँ । त्यतिबेला काकाले नैकापमा ६÷६ आनाका दुई वटा घडेरी हेरेको भन्नुभयो । जोडिएको जग्गा त थिएन नजिकै थियो । ती दुवै घडेरी खरिद गरियो । 

छोराछोरीलाई पढाउनु पर्ने बेला भएको थियो । मैले काठमाडौँमा डेरा खोजेर परिवार लगे । मैले स्नेहालाई लैजान्छु भन्ने कुरा बुवा आमाले सोच्नुभएको रहेनछ । उहाँहरूले नरमाइलो मान्दै हुनुहुन्थ्यो । मैले छोराछोरीका पढाइको कुरा मात्र सम्झेँ । आमाबाबापट्टि ध्यान गएन । ‘उँधो माया’ हुन्छ भन्ने कुरा त्यसै भनेका रहेनछन् ? हाम्रो परिवार काठमाडौँमा बस्न थालेको दुई वर्षपछि बाबालाई हृदयाघात भएछ । म तुरुन्त घरमा आएँ । बाबालाई उपचार गर्न काठमाडौँ लिएर आएँ । बाटोमा बुवाले राम्रै कुराकानी गर्दै हुनुहुन्थ्यो । एक्कासी भन्नुभयो, “म मरेपछि आमालाई हेला नगर्नु । तलाई यहाँसम्म पु¥याउन आमाको ठुलो हात छ ।” “हस् । चिन्ता नलिनुुस् । हजुरलाई पनि केही हुँदैन । काठमाडौँमा राम्रा डक्टर छन् । ठिक हुन्छ” भने । सँगै धु्रव काका पनि हुनुहुथ्यो । नागढुङ्गा पुग्न नपाउँदै बुवा झसङ्ग हुनुभयो । त्यसपछि उहाँको शरीर शिथिल हुन थाल्यो । “काका लौन के भयो बाबालाई” भन्दै थिएँ । काकाले नाडी हेर्नु भयो । बिस्तारै शरीर चिसिँदै गयो । छिटोछिटो वीर अस्पताल पु¥याइयो । डाक्टरले हेरे र भने, “बाबाको मृत्यु बाटैमा भएको रहेछ ।” म बेसहारा भएँ । यति छिटै बुवाको मृत्यु हुन्छ भन्ने कल्पनासम्म पनि गरेको थिएन ।

बाबाको मृत्युपछि आमालाई काठमाडौँ जान अनुरोध गरेँ । पहिला त मान्नुभएन । धेरै सम्झाएँपछि आमा काठमाडौँ जान तयार हुनुभयो । आमाको दमको रोग थियो । काठमाडौँ बसाइँ सराइ गरेको एक वर्षभित्र आमाको पनि मृत्यु भयो । म जागिरको सिलसिलामा बाहिर बाहिर हुनुपर्ने । काठमाडौँमा घर बनाउने सल्लाह हुँदै थियो अशोक दाइले घर बनाई सक्नुभएको थियो । काकाले र मैले सँगै बनाउने निधो गरेका थियौँ । घर बनाउन म आउन नभ्याउने भएँ । स्नेहालाई कामको लोड धेरै पर्ने भयो । तिमीलाई गाह्रो हुन्छ कि भने । उनले भनिन्, “भिनाजु र काका हुनुहुन्छ । खास समस्या पर्दैन । घरका एक जना सहयोगी भए अलि सजिलो हुन्थ्यो ।” मैले स्नेहालाई सहयोग गर्ने मान्छेको तलास गर्न थाले । मेरै घरनजिकै एक जना भाइ उमेश थियो ऊ सहयोगी पनि थियो । एसइई पास गरे पनि आर्थिक अवस्था कमजोर थियो । उसलाई काठमाडौँ राखेर पढाउने विचार गरेँ । स्नेहासँग सल्लाह गरेँ । उनी खुसी भइन् । स्नेहा विवाह गरेर आउँदा ऊ पाँच÷छ वर्षको मात्र थियो । अहिले लक्का जवान भएछ । काठमाडौँ ल्याएर क्याम्पस भर्ना गरिदिएँ । उसको बिहानको क्याम्पस थियो दिउँसो स्नेहालाई सहयोग गथ्र्यो । उसले घरको सबै जानकारी मलाई बताउँथ्यो । 

उमेश आएपछि स्नेहालाई पनि अलि फुर्सद भएको थियो । काकाले र मैले दुई वटा एकै डिजाइनका बनाउने सल्लाह ग¥यौँ । एकैदिन जग थापियो । घर बनाउन सुरु भयो । मैले आवश्यकता अनुसारको पैसा पठाउने गर्थे । स्नेहासँग हिसाब किताब कहिल्यै मागिनँ । साढुदाइ र काका घर बनाउने बेला पटक पटक आएको कुरा उमेशले बताउँथ्यो । घरमा को आए के गरे सबै कुरा उमेशले मलाई बताउँथ्यो एक प्रकारले उमेशले मेरो जासुसको कामसमेत गरेको थियो । मैले घर बनाउने सिलसिलामा होला भन्थेँ । म काठमाडौँ आउँदा घर तयार भएको थियो । 

घर तयार भएपछि उनको व्यवहार अलि परिवर्तन भएको थियो । रमाइली मान्छे कम बोल्ने भएकी  थिइन् । घर व्यवहारले मान्छेलाई परिवर्तन गराउँदो रहेछ भन्ठाने । ससानो कुरामा पनि छोराछोरीलाई पिटथिन् । त्यसैबेला काका आउनु भयो । काका आउने बित्तिकै उनको पुरानै व्यवहार देख्न पाएँ । केही बेर बसेर काका जानुभयो । भोलि म जागिरमा फर्किनेवाला थिएँ । सपिङ जाऊँ भनेँ तर स्नेहाले मानिनन् । पछि अशोक दाइ र प्रेरणा दिदी आएपछि आफैँ सपिङ जाने प्लान बनाइन् । फोनमा पनि बेलाबेलामा बहाना बनाउँथिन् । उनले एकातिर गएको बताउँथिन्, उमेशले अर्कोतिर । म दोधारमा पर्थे उमेशले ढाँट्यो कि स्नेहाले ।

म विराटनगर गएको केही एक हप्तापछि एक दिन दिउँसो उमेशले फोन गरेर भन्यो, “दाइ ! स्नेहा भाउजू हिजोदेखि घरमा हुनुहुन्न । फोन पनि उठाउनु हुन्न, के गरौँ ।” ऊ अलि आत्तिएको स्वरमा बोलेको थियो । कतै गएकी होलिन् आउछिन् होला ? भन्दै हल्का रूपमा लिएँ । छोराछोरी राम्रोसँग हेर म छिटै आउछु भन्दै फोन काटेँ । दुई तीन दिनदेखि स्नेहासँग फोन भएको थिएन । तत्कालै स्नेहालाई फोन गरेँ । फोन स्वीच अफ थियो । त्यसबेला म विराटनगर भन्सार कार्यालयमा कार्यरत थिएँ ।

उमेशको कुराले म छाँगाबाट खसे जस्तै भएँ । प्लेन टिकट पाइनँ । नाइट बसको टिकट काटँे । मनमा अनेक कुरा खेल्न थाले । कहाँ गइहोलिन स्नेहा ? साढुदाइकोमा गइन् कि ? काकाकोमा ? जाने भए भनेर जानुपर्ने । फेरि उमेशले किन आत्तिँदै फोन गरेको होला ? काका र साढुदाइको घरमा त ऊ आफँै जान सक्थ्यो ? अन्त कतै जाने ठाउँ थिएन । बिहान काठमाडौँ बसपार्कमा ओर्लिएँ । ट्याक्सी लिएर घरमा पुगँे । ढोका खुलै थियो । छोराछोरी रुदै टाँसिएर बसेका थिए । उनीहरूलाई देख्दा मेरो मन छियाछिया भयो । आँखाबाट बरर्र आँसु खसे । मलाई देख्नेबित्तिकै मेरो काखमा उनीहरू टाँसिन आए । उमेशलाई खोजे कतै देखिनँ । उमेश कता गयो भनेर सोधे । उमेशदाइ त मम्मीलाई खोज्न हिजै जानुभएको हो  भने । म हैरान भएँ । उमेशलाई फोन गरे । उसको फोन पनि स्वीच अफ थियो । साढुदाइलाई फोन गरे उनको फोन पनि स्वीच अफ, फेरि काकालाई पनि फोन गरे काकाको फोन पनि स्वीच अफ । किंकर्तव्यविमूढ भएँ । प्रेरणा दिदीलाई फोन गरेँ । स्नेहा भेट्टिइन ? उल्टै मसँग प्रतिप्रश्न गरिन् । झनक्क रिस पनि उठ्यो । फेरि समालिए । “दाइ खोइ,” भनँे । दाइ अस्ति एक हप्ताका लागि इन्डिया जानु भाछ भन्नुभयो । काका 

खोइ ? भन्दै काकीलाई फोन गरँे । अफिसका साथीसँग जोमसोम जानुभाछ भन्नुभयो । 

अब मलाई काका र साढुदाइमध्ये एकले भगाए कि भन्ने शङ्का लाग्यो । रिस उठ्यो । जसले स्नेहालाई भगाउनेलाई खुकुरीले छप्काउन मन लाग्यो । वीरगन्जबाट खुकुरी ल्याएको थिएँ । आत्मरक्षाका लागि प्रयोग गर्नु पर्छ भन्दै स्नेहालाई दिएको थिएँ । उनले हामी सुत्ने सिरानीमुनि राखेकी थिइन् । सिरानी  पल्टाएँ । खुकुरी भेटिएन ।

मलाई रिँगटा लागेछ । थचक्क भूइँमा बसेँ । वरिपरि कालो मात्र देखँे । छोरीले पानी ल्याइन् । छोराले टाउको समातेको थियो । छोराछोरीको अपार माया देखेर बर्र खुसीका आसु खसे । स्नेहालाई कसले बहकाउमा पा¥यो । तुरन्तै प्रहरी चौकीमा निवेदन दिएँ । मलाई फोन गरेर घरमा नभएको बताउने उमेश, शङ्का लागेका साढुदाइ र काकाको बारेमा पनि भनँे । उनीहरू सबैको फोटो दिएँ । चौकी इन्चार्जले भनेँ, “पिर नलिनुस् गम्भिरजी हामी छिटै खोज्छौँ र तपाईंलाई खबर गर्छाैं ।”

समय बिताउन निकै कठिन भयो । स्नेहाप्रति मैले गरेको व्यवहार, काठमाडौँ राखेको, घर बनाएको सबै चलचित्र झैँ धुम्न थाले । तीन दिन निकै कठिन भयो । फेसबुकतिर समेत कतै फोटा देख्न पाइनँ । नयाँ ठाउँमा जानासाथ फोटो अपलोड गर्ने स्नेहाको बानी थियो । कतै फोटो नदेख्दा अप्ठ्यारोमा छन् कि भन्ने पनि लाग्यो ।

तेस्रो दिन बेलुका प्रहरी चौकीबाट फोन आयो, “ल तपाईं गम्भिरजी तपाईंकी श्रीमती भेटिनु भाछ । तपाईं तुरुन्त आउनुस् ।” म छोराछोरीलाई छोडेर चौकीमा गएँ । चौकीमा पुग्दा म आश्चर्यमा परेँ । स्नेहा दुलहीको रूपमा थिइन् । स्नेहाभन्दा १५ वर्ष कान्छो उमेश दुलाहाको रूपमा थियो । दुवै जना पोखरा विन्दवासिनी मन्दिरमा विवाह गर्दा गर्दै पव्रmाउ परेका रहेछन् । मैले एकान्तमा स्नेहासँग भेट्ने प्रस्ताव राखे । उनीलाई एकान्तमा सम्झाउने कोसिस गरेँ । प्लिज स्नेहा घर हिँड । छोराछोरीको मुख हेर । गल्ती सबैको हुन्छ । सुधार्न सकिन्छ । मेरो घर उडान नगराउँ तर उनले मानिनन् । कस्तो प्रेम हो त्यो बुझ्न सकिनँ । प्रेम अन्धो हुन्छ त भनेको सुनेको थिएँ । प्रत्यक्ष अनुभूति गर्ने मौका मिल्यो । मेरो चिन्ता छोराछोरीलाई तिम्री आमा पोइल गइ कसरी भनूँ भन्ने थियो । लडाइँ हारेको सिपाइ जस्तै गरी चौकीबाट फर्किएँ ।