• १३ साउन २०८१, आइतबार

नरैनापुर मेला लोप हुने अवस्थामा

blog

बुटवल समाचारदाता

बुटवल, चैत २ गते । बुटवल–१६, बैठौलियाका परशुनारायण चौधरीलाई आफूले ५० वर्षअघिदेखि हेर्दै आएको नरैनापुर मेला लोप हुँदै गएकोमा चिन्ता लागेको छ । उहाँ सानै हुँदा बुवाले नरैनापुर मेला हेर्न लैजाने गरेको अझै स्मरण गर्नु हुन्छ । बुटवल उपमहानगरपालिका–१६, नरैनापुरमा महाशिवरात्रिका अवसरमा लाग्दै आएको नरैनापुर मेलामा पछिल्लो समय दर्शक उल्लेखनीय रूपमा कम भएका छन् । स्थानीय सर्जु चौधरीका अनुसार शिवरात्रिका दिनदेखि सात दिन हुने मेलामा रुपन्देही मात्र नभएर छिमेकी जिल्लाबाट समेत हजारौँ दर्शक आउँथे तर अहिले भने मेला धेरै खुम्चिएको छ ।

रुपन्देहीकै सबैभन्दा पुरानोमध्येको नरैनापुर मेला लोप हुने अवस्थामा पुगेको छ । नरैनापुर मेलाको इतिहास एक सय वर्षभन्दा पुरानो रहेको थारू समुदायका अगुवा बताउँछन् । मेला हुने स्थानमा घर बन्दै गएको र जग्गा खण्डीकरण हुँदै गएपछि मेला पनि विस्तारै लोप हुन लागेको हो । तीन दशकदेखि मेला हेर्दै आउनुभएका सैनामैना रन्यौराका रामलखन चौधरीलाई यसले दुःख लागेको छ । उहाँले मेलामा पहिले हात्ती, घोडा, सर्कससमेत आउने गरेको बताउँदै अहिले भने ती सबै देख्नै छाडेको बताउनुभयो । पछिल्लो समय जग्गा अभावमा मेला सञ्चालन गर्नसमेत कठिनाइ रहेको देखिएको छ । मेलामा पसल सञ्चालन गर्दै आएका व्यापारीले समेत पछिल्लो समय पहिलेको  जस्तो रौनक नभएको र कारोबारसमेत घटेको गुनासो गरेका छन् । खेलौनाको पसल राख्दै आएकी निशा मुसलमानले नरैनापुर मेलामा दर्शक आउन छाडेको र कारोबारसमेत घटेको गुनासो गरिन् ।    

पछिल्लो समय मेला लोप हुँदै गएपछि नरेश्वर बोलबम महादेवधाम समितिको पहलमा शताब्दियौँ पुरानो नरैनापुर मेला संरक्षण गर्ने प्रयास थालिएको छ । समितिका अध्यक्ष पूर्णबहादुर पौडेलले नरैनापुर मेला कहिलेदेखि सुरु भएको भन्ने नै अहिलेसम्म थाहा नभएको बताउँदै यसको इतिहास शताब्दियौँ पुरानो रहेको बताउनुभयो । उहाँले यस क्षेत्रका आदिवासी थारू समुदायका बुढापाकालाई समेत नरैनापुर मेला कहिलेदेखि सुरु भएको भन्ने थाहा नभएको उल्लेख गर्दै प्राचीन मेला संरक्षणका लागि आफूहरूले पहल गर्दै आएको बताउनुभयो । अध्यक्ष पौडेलले महाशिवरात्रिका अवसरमा सात दिन आयोजना हुने मेलामा विशेष आकर्षणका रूपमा विभिन्न उपभोग्य वस्तुको प्रदर्शनी, फुड स्टल, बाल उद्यान, पिङ, मिठाईका परिकारलगायत सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको बताउनुभयो । मेला साँघुरिँदै गए पनि मेलाको मुख्य आकर्षणका रूपमा रहेको नरैनापुरको मेलाको मिठाई भने अहिले पनि प्रख्यात छ । अहिले पनि धेरै दर्शक मेलामा मिठाई खान र घुम्न जाने गरेका छन् । 

नरैनापुर मेलाले पछिल्लो पटक मिठाई मेलाका रूपमा पहिचान बनाउँदै गएको छ तर रुपन्देहीको शुद्धोधन–१, मानपकडीका रमेश चौधरी नरैनापुरको मनसुर मिठाई अत्यन्त लोकप्रिय मानिएको बताउनुभयो तर पछिल्लो समय मिठाईको गुणस्तरमा समेत कमी आउँदै गएको उहाँको गुनासो छ ।