• २६ वैशाख २०८२, शुक्रबार

बजेटबारे स्थानीय सरकारसँग छलफल

blog

कैलाली समाचारदाता

धनगढी, वैशाख २६ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे बिहीबार प्रदेशका पालिकासँग छलफल गरेको छ । प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रादेशिक सहयोग एकाइले धनगढीमा आयोजना गरेको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी छलफलमा नौ वटै जिल्लाका पालिकासँग छलफल गरिएको हो । 

त्यस अवसरमा मुख्यमन्त्री कमलबहादुर शाहले सही रूपमा परिचालन हुने बजेट निर्माण गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले बजेट निर्माणमा त्रुटि गर्न छुट नरहेको उल्लेख गर्दै थप्नुभयो, “बजेट निर्माणमा हामीले सधैँ त्रुटि गरिरहने र जनताले सधैँ गुनासो गरिरहने परिपाटी दोहोर्‍याउने हो भने सङ्घीय संरचनामा उभिएको अर्थै भएन ।”

उहाँले तीन तहकै सरकारबिचको सम्बन्धलाई प्रगाढ बनाउन आवश्यक रहेको औँल्याउनुभयो । अस्तित्व स्विकार्न नसक्ने परिपाटीका कारण समस्या भइरहेको भन्दै मुख्यमन्त्री शाहले सबैले सबैका अस्तित्व स्विकार्न आवश्यक रहेको जोड दिनुभयो । 

छलफलमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले सरकारको नीति तथा कार्यक्रम र बजेटको सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा ८८ वटै पालिकाका प्रमुख, उपप्रमुखको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लागत योजनाबारे छलफल गरिएको छ ।