राजकुमारी आश्माको सफल सगरमाथा आरोहण
कतारकी राजकुमारी आश्मा विन्त थानी अल–थानीले संसारकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । समुद्री सतहदेखि ८,८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगेर कतारी झण्डा फहरिएकोमा खुशी व्यक्त गर्दै उहाँले सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबि महिला बन्नुभएको कतार ओलम्पिक कमिटीले ट्वीट गरी जनाएको छ ।
तारा एयर दुर्घटना छानविनका लागि जाँच आयोग गठन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको कारण बारे छानविन गर्न पाँच सदस्सीय दुर्घटना जाँच आयोग गठन गरकेो छ ।
प्रदूषणले टौदहका माछा मर्न थाले
कीर्तिपुर, जेठ १५ गते । कीर्तिपुरस्थित टौदह (तःपुखु) मा छोडिएका विभिन्न प्रकारका माछा मर्न थालेका छन् । वर्षामा परेको पानीमा मिसिएको रासायनिक युरिया मल र नजिकै खोलिएका पार्टी प्यालेस र रेष्टुरेन्टबाट आउने रसायनयुक्त फोहाेर पानीका कारण माछा मर्न थालेको स्थानीयवासी बताउँछन् ।फोहर र दुर्गन्धित पानी सिधै टौदहमा मिसाइएकाले यस्तो समस्या आइपरेको हो । माछा मर्न थालेपछि पानीलाई अहिले डाइभर्ट गरी पोखरीमा मिसिन नदिएर खोल्सामा फालिएको छ ।सो टौदहमा हिन्दु र बौद्ध धर्मग्रन्थ अनुसार काठमाडौं उपत्यकामा रहेको पानी मञ्जुश्रीले आफ्नो खड्गबाट चोभारको गल्छी काटेपछि मैदान बनेको थियो र, त्यहाँ बसोबास गर्न असमर्थ भएपछि टौदहमा कर्काेटक नागलाई स्थानान्तरण गरिएको भनाइ छ । सो पोखरीमा बौद्ध धर्मका पद्मसम्भव गुरु दक्षिणकालीको शेषनारायणमा ध्यान गरेर चीन (तिब्बत) तिर धर्म प्रचार गर्ने क्रममा स्नान गरेको पाइन्छ । यही कारणले बौद्ध भिक्षुहरुले यस टौदहमा विभिन्न प्रकारका माछा छाड्ने प्रचलन छ ।स्थानीय देव खड्का अनुसार, भाँडा माझ्ने रासायनिक झोल, शौचालयको फोहाेरको कारणले माछालगायत जलचलहरु मर्न थालेको बताउनुभयो । रसायनयुक्त फोहर पानी टौदहमा सिधै फ्याँकिएकाले पनि माछा धमाधम मारिएका हुन् । विगतमा प्राकृतिक वासस्थानका कारणले टौदह आसपासमा रुसको साइबेरियादेखि घुमन्ते चारचुरुङ्गी चिसो छल्न र आहाराको खोजीमा आउने गर्दथे । सो क्षेत्रमा पार्टी प्यालेस र रेस्टुरेन्टसहित व्यापारिक प्रयोजनमा पिकनिक स्पटलगायतका भौतिक संरचनाले ती घुमन्ते चराचुरुङ्गीको वासस्थानमा समस्या पैदा भएको हो । ती क्षेत्रमा अहिले अति कम घुमन्ते चराचुरुङ्गी देख्न पाइन्छ ।फोहाेर दुर्गन्धित पानीको असर ती घुमन्ते चारचुरुङ्गीलाई पनि परेको स्थानीय ज्ञानेन्द्र महर्जन बताउनुहुन्छ ।
हिमाल चढ्नेको तथ्याङ्क नै छैन
यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिपय त आरोहणपछि आफ्नो मुलुकमा समेत फर्किइसकेका छन् तर पनि तिनको यकिन सङ्ख्या आएको छैन ।
कञ्चनजङ्घाबाट १५ हजार किलो फोहोर सङ्कलन
ताप्लेजुङ, जेठ १४ गते । नेपाली सेनाले सफा हिमाल अभियानअन्र्तगत विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालको आधारशिविर क्षेत्रबाट १५ हजार किलो फोहोर सङ्कलन गरेको छ । बैशाख २४ गतेदेखि सफाई अभियान सञ्चलान गरेर उक्त परिमाणमा फोहोरमैला वस्तु सङ्कलन गरेको नेपाली सेनाले जनाइएको छ । सङ्कलित फोहोरमध्ये सड्ने र कुहिने खालको तीन हजार १७ किलोग्राम फोहोरवस्तु व्यवस्थापनका लागि फक्ताङलुङ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूसमेतको उपस्थितिमा सफा हिमाल अभियान टोलीले फोहोर हस्तान्तरण गरेको छ । टोलीका संयोजक एवम् नेपाली सेनाका सेनानी समीरबहादुर बस्नेतका अनुसार स्थानीय स्तरमा व्यवस्थापन गर्न नमिल्ने अर्थात नसड्ने र नकुहिने खालका १२ हजार ३५६ किलोग्राम फोहोर भने काठमाडौं पठाइएको छ । यस्तै फोहोर सङ्कलनका क्रममा कञ्चनजङ्घा क्षेत्रबाट दुईवटा मानव कङ्काल पनि फेला परेको सेनानी बस्नेतले जानकारी दिनुभयो । उक्त मानव कङ्काल भने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई बुझाइने जनाएको छ । नेपाली सेनाले ‘सफा हिमाल अभियान–२०२२’ अन्तर्गत कञ्चनजङ्घासहित चारवटा हिमालबाट ३० हजार ३४४ किलोग्राम फोहोर सङ्कलन गरेको जनाइएको छ । सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, र मनास्लु हिमालबाट उक्त परिमाणमा फोहोर सङ्कलन गरेको हो ।
कीर्तिमानी महिला आरोही लाक्पालाई फाउण्डेशनबाट सम्मान
१० औं पटक सगरमाथाको आरोहण गर्नुहुने विश्वकै एक मात्र साहसी महिला आरोही गाइड लाक्पा शेर्पालाई पासाङ ल्हामु फाउण्डेशनले सम्मान गरेको छ । पहिलो नेपाली सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको सम्मानमा स्थापित फाउण्डेशनले लाक्पा सहित विभिन्न क्षेत्रमा आवद्ध रहेर पर्वतारोहणमा सकृय महिलाहरुलाई विहीबार सम्मान गरेको छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदबहाली गर्दैै तीनवटा निर्णय गर्नुभएको छ । पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिसका लागि अनुरोध गर्ने उहाँको पहिलो निर्णय छ । पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट पर्यटकीय राजधानी घोषणा गराउनका लागि हामीले यहाँ औपचारिक निर्णय गरेर सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेका छौँ । यस निर्णय कार्यान्वयन नहुँदासम्म तदारुकताकासाथ पछि लाग्ने छौँ र कार्यान्वयन गरी छाड्ने छौँ ।”
पचपन्न जना एयरहोस्टेस दीक्षित
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १२ गते । नेपाल एयरहोस्टेस एकाडेमीमा अध्ययनरत १६, १७ र १८ औँ व्याचका ५५ एयरहोस्टेस दीक्षित हुनुभएको छ । काठमाडौंको हात्तिसारमा भएको एक समारोहमा दीक्षित भएर प्रमाणपत्र पाएसँगै उहाँहरुको विमान परिचारिका बन्ने वाटो खुल्ला भएको छ ।सात महिना पहिले एयरहोस्टेस बन्ने सपना बोकेर उहाँहरु नेपाल एयरहोस्टेस एकाडेमीमा अध्ययन गर्न आउनुभएको थियो । सात महिनाको प्रयासपछि विमान परिचारिकाको रोजगारीका लागि उहाँहरु सक्षम बनेका नेपाल एयरहोस्टेस एकाडेमीका निर्देशक रेजिना तुलाधरले जानकारी दिनुभयो । विमान परिचारिका आफैंमा आकर्षक पेशा हो । आकाशमा उड्ने यो पेशा जति रोमाञ्चक छ, उत्तिकै जिम्मेवारी पनि बहन गर्नुपर्ने खालको रहेको तुलाधरले बताउनुभयो । दीक्षित समारोहमा एकाडेमीका चिफ इन्सटक्टर गौरीकला थापा, भारतीय मूलकी अन्तर्राष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, पर्सनालिटी प्रशिक्षक रोजिन शाक्य तथा संस्थाका अध्यक्ष प्रदीपराज वन्तको समेत सहभागिता थियो । कार्यक्रममा विद्यार्थीलाई प्रमाणपत्रका साथै उत्कृष्ट विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो । सो अवसरमा अतिथिहरुले विमान परिचारिकाजस्तो महत्वपूर्ण क्षेत्रमा लगानी गरेर युवाहरुलाई शिक्षा प्रदान गर्नु आफैँमा महत्वपूर्ण रहेको भन्दै प्रसंसा गर्नुभयो । अध्ययन कोर्समा विमानको इतिहास र प्रकार, यात्रु सुरक्षा, यात्रु सत्कार, फायर फाइटिङ रहेको छ । ड्रेस र मेकअप, फुड सर्भिस, प्राथमिक उपचार विधि, व्यक्तित्व विकास, आत्मरक्षा, पौडीलगायतका विषयलाई बढी प्राथमिकता दिने गरिएको निर्देशक तुलाधरले बताउनुभयो । विमान परिचारिकाले यात्रुको सत्कार गर्ने, यात्रुको सुरक्षाको अनुभूति दिलाउने, यात्रुको कमाण्ड लिने, यात्रुलाई अप्ठ्यारो समयमा सान्त्वना दिने, सूचना प्रवाह गर्ने, मौसमसम्बन्धी जानकारी दिने, परिचयपत्र चेकजाँच गर्ने लगायतको काम गर्ने जिम्मेवारी हुन्छ । अध्यक्ष वन्तकाअनुसार राष्ट्रिय उडानमा मासिक न्यूनतम ३० हजारदेखि ८० हजार रुपियाँसम्म कमाइ हुन्छ । त्यस्तै, अन्तर्राष्ट्रिय उडानमा मासिक एक लाखदेखि दुई लाख रुपियाँसम्म कमाइ हुन्छ ।
पोखरामा भारतीय पर्यटक
स्थानीय चुनावका कारण आन्तरिक पर्यटकको सङ्ख्या पातलो भए पनि भारतीय पर्यटकले यहाँका व्यवसायीलाई सन्तोष दिएको छ । अहिले भारतीय पोखरा भित्रिइरहेका छन् । ठूला बस रिजर्भ लिएर आउने भारतीय पर्यटकले अहिले पोखराको चहलपहल बढाएका हुन् । भारतीय बस लेकसाइडमा धेरै देखिन्छन् । पर्यटक हिँडडुल, दृश्यावलोकन र फेवातालमा डुङ्गा सयरमा व्यस्त देखिन्छन् । बेलुकीपख फेवाताल किनारको ‘फुट ट्र्याक’मा भारतीय पाहुना बाक्लै भेटिन्छन् ।