एलन मस्कद्वारा ४४ बिलियन डलरमा ट्विटर खरिद
अमेरिकी धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर ४४ बिलियन अमेरिकी डलरमा खरिद गर्नुभएको छ । विश्वकै ठूलोमध्येको एक सामाजिक सञ्जाल कम्पनी ट्विटर मस्कले खरिद गर्नुभएको बीबीसी नेपाली सेवाको समाचारमा उल्लेख छ ।
स्ट्रारिपरको प्रयोगपछि खेतमा आगो लगाउने चलनमा कमी
नारद कोहारतौलिहवा, वैशाख ९ गते । कपिलवस्तुमा स्ट्रारिपर (भुसा काटने मेशिन) को प्रयोग बढ्दै गएको छ । विगत वर्षहरुमा कम्बाईन मेसिनले गहुँ र धान चुटेपछि बाँकी रहेका ठुटाहरुलाई खेतमै छाडिने गरिथ्यो । त्यही ठुटाहरुलाई सफा गर्ने नाममा खेतमा आगो लगाउने गरिएको थियो । तर एक वर्ष यता भने स्ट्रारिपर मेसिनले खेतमा बाँकी रहेको गहुँ र धानको ठुटालाई भुस बनाई सङ्कलन गर्ने गरिएको छ । कम्बाईको प्रयोग विगत १० वर्ष यता बढ्दै आएको छ । स्ट्रारिफरको प्रयोग गत वर्षदेखि कपिलवस्तुमा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताउनुभयो । ‘कम्बाईको प्रयोग कपिलवस्तुमा एक दशक यता बढ्दै आएको छ एक वर्ष यता भने स्ट्रारिपरको प्रयोग कपिलवस्तुमा बढेको छ’ उहाँले भन्नुभयो । उहाँले जिल्लामा दुई सयको हारहारीमा स्ट्रारिपर मेसिन भित्रिएको बताउनुभयो । विगत वर्षहरुमा कम्बाईनले गहुँ र धान काटेपछि बाँकी रहेको आधा ठुटालाई कृषकहरुले खेत सफा गर्ने नाममा आगो लगाउने चलन थियो । तर स्ट्रारिपरको प्रयोग भएपछि जिल्लामा त्यस्तो प्रचलन घटेको छ ।‘खेतमा आगो लगाउँदा मित्र जीवहरु नाश हुने गरेको थियो, माटोको उर्वराशक्ति समेत घटेको थियो’ प्रमुख चौबेले भन्नुभयो ‘स्ट्रारिपरको प्रयोग भएपछि कृषकहरुलाई धेरै फाइदा पुगेको छ ।’ गत चैतदेखि वैशाखको यता खेत खेतमामा स्ट्रारिपरले गहुँको ठुटाहरुलाई काटेर भुस सङ्कलन गर्दै आएका छन् । कपिलवस्तु नगरपालिका – ६ थुम्हवाका कृषक जयप्रकाश कुर्मी आफूले ५ लाख मूल्यमा स्ट्रारिपर मेसिन किनेर चैतको सुरुवातदेखि नै भुस सङ्कलन गर्दै आएको बताउनुभयो । उहाँले अहिले स्ट्रारिपर मेशीनलाई खेतमा भुस सङ्कलन गर्न भ्याई नभ्याई रहेको बताउनुभयो । भुस काटेवापत आफूहरुले खेत धनीहरुलाई एक ट्रालीको डेढ सयदेखि दुई सय रुपियाँ दिने गरेको उहाँले बताउनुभयो । एक ट्राली भुसको तीन हजार देखि तीन हजार पाँच सयमा विक्री गर्ने गरेको कृषक चौधरीले बताउनुभयो । एक ट्राली भुस सङ्कलन गर्दा कम्बाईने काट्न छाडेका ३० देखि ३५ किलोसम्म गहुँका दानासमेत सङ्कलन हुने गरेको उहाँको भनाइ छ । जिल्लामा स्ट्रारिपर भित्रिएपछि कृषकहरुलाई निकै सजिलो भएको कृषक सङ्घका जिल्ला अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले बताउनुभयो । ‘स्ट्रारिपर मेसिन कृषकहरुका लागि बरदान नै भएको छ ’ उहाँले भन्नुभयो ‘स्ट्रारिपर नहुँदासम्म जिल्लाका अधिकांश कृषकहरुले खेतमा आगाले लगाउने गर्थे तर एक वर्ष यता भने त्यही खेतमा रहेको ठुटा बापतको डेढदेखि दुई सय रुपियाँ रकम पाउने गरेका छन् ।’ उहाँले स्ट्रारिपर मेसिन पर्यावरणमैत्री बनेको बताउनुभयो । स्ट्रारिपर मेसिनले गर्दा पशुपालक कृषकहरुलाई निकै फाइदा पुग्ने भएकाले पशुपालन फस्टाउने उहाँले बताउनुभयो । खेतमा आगो लगाउन छाडिएकाले खेतको उर्वराशक्तिमा यसले टेवा दिने गरेको छ ।
टेलिकमले ल्यायो ‘स्प्रिङ’ प्याक
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ५ गते । नेपाल टेलिकमले सबै दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने टाइम अल नेट भ्वाइस प्याकसहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ । सोमबारदेखि सुरु हुने यो प्याकअन्तर्गत ग्राहकले ५९९ रुपियाँदेखि एक हजार ४९९ रुपियाँसम्मको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ । जसअनुसार अबदेखि ९९९ रुपियाँ र एक हजार रुपियाँ ४९९ रुपियाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कसहित अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिनेछ । यी प्याकमा क्रमशः प्रतिदिन दुई जीबी र चार जीबी डाटा तथा प्याक अवधिमा चार सय र एक हजारवटा एसएमएस पठाउन सकिनेछ ।
चुनावी तालमेल र आपसी सहकार्यको भावनाले अगाडि बढ्न पाँच दलको आह्वान
काठमाडौं, चैत २८ गते । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय निर्वाचनमा तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न सबै नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् । गठबन्धनको बैठकपछि काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्तरुपमा अपिल जारी गर्दै सो अपिल गर्नुभएको हो । उहाँहरुले स्थानीय तह चुनावमा उत्साहजनक सहभागितासहित सफल पार्न र पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन पनि अपिलमार्फत आग्रह गर्नुभएको छ । ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छन् । हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं त्यसका लागि देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं ।,’ पाँच दलका नेताद्वारा जारी अपिलमा भनिएको छ, ‘नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ । समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ । तर पनि परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु यो परिवर्तनको विरुद्ध अझै पनि षड्यन्त्र गरिरहेका छन् भन्ने कुराको उदाहरण देशको संविधानको उल्लङ्घन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अङ्गहरुमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास हो ।’ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, गणेशबहादुर गुरूङ, पूर्ण खड्का, गगन थापा, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरूङ, वर्षामान पुन, नेकपा (एकीकृत समाजवादी)बाट झलनाथ खनाल, डा. विजय पौडेल र प्रकाश ज्वला, जसपाबाट डा. अशोक राइ, रेनु यादव र राष्टिय जनमार्चाबाट हिमाल पुरी, दुर्गा पौडेलले उपस्थिति थियो । अर्को बैठक भोलि (मङ्गलबार) अपराह्न ४ बजे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।