काठमाडौँ, मङ्सिर २६ गते । आकाशगङ्गामा के छ ? हामीसँग केही जानकारी मात्र छ, यस विषयमा थप अनुसन्धान जारी छ । नेपाललगायत विश्वका खगोलविद् अहिले आकाशगङ्गाबाहिर पनि उज्यालो वस्तु ‘ब्लाजार जेट्स’ रहेको भन्दै ती वस्तुको थप अध्ययन तथा अनुसन्धानमा जुटेका छन् ।
ग्रीकका खगोलविद् यानिस लियोडाकिसले पृथ्वी रहेको आकाशगङ्गाबाहिरका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट्स’को अध्ययन र अनुसन्धानमा आफूहरू जुटेको बताउनुभएको छ । उहाँका अनुसार ‘ब्लाजार जेट्स’ विषयको अनुसन्धान ब्रह्माण्डको उत्पत्ति तथा मानव जीवनमा उपयोगी हुन सक्ने छन् । खगोलविद् लियोडाकिसले आफूहरू विशेष गरी ब्रह्माण्डमा भएका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट’मा केन्द्रित रहेको गोरखापत्रसँगको कुराकानीमा बताउनुभयो ।
‘ब्लाजार जेट्स’ले पृथ्वीको दिशामा विकिरणको अत्यन्त शक्तिशाली जेटहरू उत्सर्जन गर्छ । यसले विभिन्न तहमा सूचना प्रवाह गर्ने भएकाले यसको अध्ययन खगोल, गुरुत्व आकर्षण बल, विकिरण उत्सर्जन र अन्य दृष्टिकोणबाट गर्ने गरिएको छ । हामी यसको थप खोजीमा जुटेका छौँ,” उहाँले भन्नुभयो ।
उहाँले आईएयू सिम्पोजियम–३७५ ‘द मल्टी मेसेन्जर चक्र अफ ब्लाजार जेट्स’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन करिब ४० देशका वैज्ञानिक नेपाल आएको उहाँले जानकारी दिनुभयो । उहाँले नेपालमा यस्तो गोष्ठी गर्नुको लक्ष्य सहभागीलाई ब्रिफिङ गर्ने तथा पछिल्लो अनुसन्धानबाट आएका ज्ञान सङ्क्षेपमा प्रस्तुत गर्नु रहेको बताउनुभयो । “गोष्ठीबाट प्राप्त ज्ञानलाई वैज्ञानिक यात्रामा लागू गर्न मद्दत मिल्नुका साथै खगोलीय विज्ञान विकासोन्मुख देशमा प्रवद्र्धन गर्नुहुनेछ,” उहाँले भन्नुभयो ।
भारतका खगोलविद् आनन्द होताले ‘ब्लाजार जेट्स’को अध्ययन आफूहरूका लागि पनि नौलो विषय भएको र यस क्षेत्रको अध्ययन र अनुसन्धान अन्य वैज्ञानिक क्षेत्रको अध्ययन र अनुसन्धानजस्तै समाज र मानव जीवनमा उपयोगी हुने बताउनुभयो । उहाँले यी विषयमा विद्यालय तहबाटै ज्ञान र अध्ययन हुनुपर्नेमा जोड दिनुभयो ।
रसियाली खगोलविद् तथा अनुसन्धानकर्ता मार्कस बोएचरका अनुसार ‘ब्लाजार जेट्स’ सबैभन्दा उच्च सक्रिय ‘ग्यालेक्टिक न्युक्ली’ हुन् । ती शक्तिशाली सापेक्षिक जेटको प्रकाश त्यसको केन्द्रीय इन्जिनबाट पृथ्वीतिर फैलिएका हुन्छन् । उहाँले पृथ्वी रहेको आकाशगङ्गाबाहिरका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट्स’को अध्ययनले खगोल र ब्रह्माण्ड क्षेत्रको थप अध्ययन र अनुसन्धानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
खगोलविद् एन्थोनी रिडहेडले ‘ब्लाजार जेट्स’ हिन्दु तथा ग्रीक दर्शनमा रहेका चक्रजस्तै देखिने बताउनुभयो । “आधुनिक खगोल विज्ञानमा ब्लाजार भनेको अवलोकनकर्ताको दृष्टि नजिक सक्रिय ‘ग्यालेक्टिक न्युक्ली’ मानिन्छ,” उहाँले भन्नुभयो ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का कार्यकारी अध्यक्ष मनीष द्वाले अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन (आईएयू)ले पहिलो पटक नेपालमा आयोजना गरेको पाँच दिने अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा गर्न पाउनु आफैँमा गर्वको कुरा भएको बताउनुभयो । उहाँले नेपालमा पनि न्यून सङ्ख्यामा यस विषयमा विश्वविद्यालयमा अध्ययन हुने गरेको र यस गोष्ठीपछि थप अध्ययन र अनुसन्धान हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा आयोजित गोष्ठीमा नेपाल, भारत, चीन, अमेरिका, रुस, जर्मनी, चिली, जापान, दक्षिण कोरिया, युरोप र बेलायतलगायत विभिन्न देशका ३० जना आमन्त्रित वक्ता र एक सयभन्दा बढी सहभागीले भाग लिएको उहाँले जानकारी दिनुभयो । हालसालै सम्पन्न सो गोष्ठीमा ‘ब्लाजार जेट’सम्बन्धी ८० भन्दा बढी अनुसन्धान कार्यपत्र प्रस्तुत भएका थिए । सो गोष्ठी विशेष गरी ब्रह्माण्डमा भएका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट’मा केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो ।