सुधा देव
भारदह (सप्तरी), जेठ २० गते । सप्तरी सदरमुकाम राजविराजको मुख्य सडकमा मङ्गलबार स्थानीय युवाहरूले चक्काजाम गरेका छन् । स्थानीय तह, ठेकेदार तथा प्रशासनको लापरबाहीले समयमा सडक निर्माण हुन नसक्दा सर्वसाधारणले सास्ती बेहोर्नुपर्ने भन्दै स्थानीय युवाहरू आक्रोशित भएर चक्काजाम गरेका हुन् ।
ठेकेदार कम्पनीले स्थानीय जनआन्दोलन चोक (नेता चोक) देखि राम मन्दिरसम्मको करिब दुई सय मिटर सडक विस्तार तथा स्तरोन्नतिको काम अधुरो छोडेकाले स्थानीय युवाहरूले चक्काजाम गरेर खबरदारी गरेको स्थानीय युवा अभियन्ता खेलानन्द दासले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी युवाहरूले पटक–पटक यो समस्याविरुद्ध सडकमा उत्रिएर घण्टौं जक्काजाम गरेका हौं । सडकजाम गर्दा त सम्बन्धित निकायको ध्यानाकर्षण हुन्छ भन्नेमा विश्वास छ ।’
जिल्लाको मुटुको रूपमा रहेको यो सडकको निर्माण ठेकेदारले तत्काल निर्माण सम्पन्न नगरे निरन्तर खबरदारी गर्ने स्थानीय युवाहरूको भनाइ छ । स्थानीय युवाहरू बेथितिविरूद्ध आवाज उठाउन केही दिन यता अग्रसर देखिएका छन् ।