हुम्लामा दुई वडाअध्यक्षमा एमाले विजयी
पछिल्लो मत परिणाम अनुुसार हुुम्लामा दुई वटा वडामा नेकपा एमालेका वडाअध्यक्ष विजयी हुनु भएको छ । यसरी एमाले वडाअध्यक्ष निर्वाचित भएका वडाहरुमा नाम्खा गाउँपालिका–१ र सिमकोट गाउँपालिका–५ मा रहेका छन् ।
स्वामिकार्तिकमा कांग्रेस विजयी
कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवार भएका भरतबहादुर रोकाया र उपाअध्यक्ष पदमा उम्मेदवार भएका मैना जोशी विजयी भएका छन् ।
सल्यानको कुमाख गाउँपालिकामा एमाले कांग्रेस गठबन्धन विजयी
सल्यानमा कांग्रेस, एमाले गठबन्धनले पालिकामा खाता खोलेको छ । कुमाख गाउँपालिकामा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका मानवहादुर वुढाथोकीले ४ हजार ५८ मत ल्याएर विजयी हुनुभएको छ ।
हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
ताँजाकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का लालकेश जैसी र उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्र थापा विजयी हुनुभएको छ।
मुसिकोटको तीन वडामा काँग्रेस विजयी
मुसीकोट समाचारदाता रुकुम पश्चिम, जेठ १ गते । रुकुम पश्चिमको मुसीकोटमा तीन वटा वडाको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकाको वडा नम्बर १, २ र ३ मा नेपाली काँग्रेसले विजय हासिल गरेको हाे । मुसिकोट नगरपालिका १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका ज्ञानु चन्द ९०२ मतसहित विजयी हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका डम्बर थापालाई २९ मत अन्तरले पराजित गर्नुभएको हो । यस्तै, सदस्यहरुमा पनि काँग्रेस–एमाले गठबन्धनका अन्जना केसी डिसी, धनमाया नेपाली, चोपबहादुर खत्री र माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा गणेश हमाल निर्वाचित हुनुभएको छ ।नगरपालिकाको वडा नम्बर २ मा पनि नेपाली काँग्रेस-एमाले गठबन्धन विजयी भएको छ । गठबन्धनबाट काँग्रेसका दिनेश खड्का विजयी हुनुभएको हो । उहाँ ६२८ मतसहित विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी माओवादी-नेकपा यस गठबन्धनका दलबहादुर खड्काले ४०७ मत ल्याउनुभएको छ । वडा सदस्यहरुमा नेपाली काँग्रेसका भवानी शर्मा, कमला ददेल, रेशम खड्का र गोपाल खड्का विजयी हुनुभएको छ ।त्यसैगरी, नगरपालिकाको वडा नम्बर ३ मा पनि नेपाली काँग्रेसको टिम विजयी भएको छ । वडा अध्यक्षमा नेपाली काँग्रेसका दशरथ केसी ४०८सहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लोकबहादुर कामीले २२४ मत प्राप्त गर्नुभएको छ ।
वडा अध्यक्षमा दुुई माओवादी र एक जना स्वतन्त्र बिजयी
राजन रावतहुुम्ला, जेठ १ गते । सिमकोट र सर्केगार्ड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका दुई र एक जना चङ्खेली गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुुभएको छ । आइतबार दिउँसो भएको अन्तिम मतगणनाको परिणामअनुुसार उहाँहरु निर्वाचित हुनुुभएको हो ।मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले सिमकोट गाउँपालिका–३ को वडा अध्यक्षमा माओवादी केन्द्रका पामा लामा निर्वाचित भएको बताउनुुभयो । उहाँले ३५४ मत ल्याएर विजयी हुनुुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका इन्द्र लामाले ३२५ मत ल्याउनुुभयो । सो वडामा महिला सदस्यमा भने काँग्रेसले जितेको छ भने बाँकी तीन सदस्य माओवादी केन्द्रले जितेको छ । त्यसैगरी सर्केगार्ड गाउँपालिकाका सहायक निर्वाचन अधिकृत मोहन गिरिले वडा ८ को वडा अध्यक्षमा गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रका रंगमल रोकाया विजयी हुनुुभएको बताउनुुभयो । चारसय मत ल्याएर उहाँ विजयी हुनुुभएको हो । उहाँको प्रतिद्वन्द्वी माओवादीका लालधन बुढाले १७२ मत ल्याउनुुभएको थियो । सो वडामा तीन जना सदस्य गठबन्धनबाट निर्वाचित हुनुुभएको छ भने एक जना सदस्य माओवादीबाट निर्वाचित हुनुुभएको छ । त्यसैगरी चङ्खेली गाउँपालिका–५ को स्वतन्त्र उम्मेदवार विजयी हुनुुभएको छ । यसरी स्वतन्त्रबाट विजयी हुनेमा हर्कधन तामाङ रहनुुभएको छ । उहाँ ९५ मत ल्याएर विजयी हुनुुभयो । उहाँको प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रेमबहादुुर लामा रहनुुभएको छ । सो वडामा १९५ मत थियो ।
बराहताल गाउँपालिका तीन वडामा तीनै दलका एकएक वडाध्यक्ष विजयी
बराहताल गाउँपालिकामा तीन वडामा मतगणना सकिएको छ। निर्वाचन अधिकृत ठाकुरप्रसाद पौडेलका अनुसार गाउँपालिकाका १० वडामध्ये अहिलेसम्म तीन वडामा मतगणना सकिएको हो।
सर्केगार्ड गाउँपालिका १ को वडा अध्यक्षसहित नेकपा एमाले प्यानल विजयी
हुुम्ला समाचारदाताहुुम्ला, जेठ १ गते । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ढ गाउँपालिका १ मा नेकपा एमाले प्यानलै विजयी भएको छ । आज भएको मतगणनाको अन्तिम परिणाममा वडा अध्यक्ष बल कार्कीसहित चार जना सदस्य निर्वाचित हुनुभएको हो ।सर्केगार्ड गाउँपालिका सहायक निर्वाचन अधिकृत मोहन गिरीले अध्यक्षका उम्मेदवार कार्कीले ३३० मत प्राप्त गरेर विजयी भएको जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका तारसिंह रावतबाट ५० मतको अन्तरले विजेता बन्नुभएको हो । रावतले २८० मत ल्याउनुभएको थियो । त्यसैगरी, नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार सुवास रावतले २१८ मत ल्याउनुभएको थियो । विजेता अन्य सदस्यहरुमा खुल्ला सदस्यमा उब्जन मल्ल र दशरे सार्की, दलित महिला सदस्यमा झवला नेपाली र महिला सदस्यमा बाँचुकला रावतले रहनुभएको छ । हालसम्मकाे मतगणनामा एमालेको यो पहिलो जित हो ।
पञ्चपुरीमा तीन वटा वडामा काँग्रेस र एक वडामा एमाले विजयी
मुना हमालसुर्खेत, जेठ १ गते । पञ्चपुरी नगरपालिकाको हालसम्म चार वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । ११ वटा वडा रहेको नगरपालिकामा हालसम्म मतगणना सम्पन्न भएका चार वटा वडा मध्य तीन वटामा नेपाली काँग्रेस विजयी भएको छ भने एक वटा वडामा नेकपा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत नविन कुमार भट्टका अनुसार वडा नं १ मा नेकपा एमालेका कर्ण बहादुर थापा मगर विजयी हुनु भएको छ । उहाँले ४७९ मत ल्याएर विजयी हुनु भएकाले निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभयो । यस्तै वडा नं २ मा नेपाली काँग्रेसका यामबहादुर बिसी विजयी हुनु भएको छ । उहाँले ७२५ मत ल्याउनु भएको छ । वडा नं १० मा नेपाली काँग्रेसकै हरि प्रसाद ढकालले ६६१ मत ल्याएर विजयी हुनु भएको छ । वडा नं ११ मा पनि नेपाली काँग्रेसका धन बहादुर माँझिले ४९४ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृत भट्टले जानकारी दिनुभयो ।