मधेश प्रदेशमा मङ्गलबारदेखि घुम्ती कोभिड खोप सेवा सञ्चालन
धर्वेन्द्र झाधनुषा, असार ७ गते। मधेश प्रदेशमा मङ्गलबारदेखि कोभिड-१९ खोप घुम्ती सेवा सञ्चालन भएको छ। मधेश प्रदेश सरकार, अष्ट्रेलियन एड तथा आड्रा नेपालको संयुक्त सहयोगमा बागमती सेवा समाज सर्लाहीले सञ्चालन गरेको घुम्ती कोभिड-१९ खोप सेवालाई मङ्गलबार औपचारिक रुपमा सुरु गरिएको हो। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकासमन्त्री नवलकिशोर साह र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले संयुक्तरुपमा अभियान शुभारम्भ गर्नुभयो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले खोप लिन छुटेका लक्षित वर्गलाई सेवाले फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कोभिड–१९ को भ्याक्सिनले जनजीवनलाई सहज बनाएको स्मरण गर्दै वृद्ध, अशक्त, अपांग तथा दीर्घरोगीका साथै बच्चाको लागिसमेत घुम्ती सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो। कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना माहामारीको नियन्त्रणमा कोरोना विरुद्धका विभिन्न खोप प्रभावकारी भएको भन्दै छुटेलाई सहभागी गराइने बताउनुभयो। मधेश प्रदेशमा ८० प्रतिशतले मात्रै कोरोनाविरुद्धको खोप लिएको कारण बाँकी रहेका २० प्रतिशतलाई लक्षित गरेर एक सय दिनसम्म सञ्चालनमा रहने घुम्ती सेवाबाट एक लाखभन्दा बढी व्यक्ति लाभान्वित हुने लक्ष्य स्वास्थ्य निर्देशनालयले लिएको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो।
विदेशमा रहेका नेपालीको मताधिकारबारे आयोगलाई कांग्रेसको ध्यानाकर्षण
काठमाडौं, असार ७ गते। नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीको मताधिकारको सुरक्षाबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार विदेशमा रहेका नेपालीको मताधिकार प्रबन्ध गर्न आवश्यक कानुन निर्माण गर्ने र यसका लागि आवश्यक बन्दोबस्त मिलाउनुपर्ने विषयमा आयोगको ध्यानाकर्षण गराउनुभएको हो।महामन्त्री शर्माले सम्मानित सर्वोच्च अदालतको फैसला लगत्तै पार्टीको महासमितिको बैठकले पनि विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्नेबारे सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो। “विगतका मुद्दालाई घनिभूत र निर्णयमा पुर्याउन अग्रसर हुने र आन्तरिक रुपमा जुन कानुन तयार हुँदैछ, मतदानको अधिकारलाई अगाडि बढाउन सुनिश्चित गरौं भनेर छलफल भएको हो”, उहाँले भन्नुभयो। नेपालबाहिर रहेका नेपालीको भावना गाँस्ने र अमेरिका, जापान, क्यानडाको डलर मात्रै होइन भोट पनि चल्ने दिन आउनुपर्ने शर्माले उल्लेख गर्नुभयो। यसैगरी, निर्वाचन आचारसंहिता कार्यान्वयन हुन नसकेको विषयमा पनि छिट्टै नै सबै राजनीतिक दलसँग छलफल गरिने महामन्त्री थापाले बताउनुभयो। “मतदान अधिकार प्रारम्भमै अस्तव्यस्त, यति धेरै कष्ट झेल्ने कुरा, नामावाली संकलन गर्ने, निर्वाचनको खर्चको सीमा एउटा तोकिएको छ, साँच्चिकै निर्वाचनको खर्च घटाउने विषयमा सुझावको कुरा छ। सबै दललाई बोलाएर छलफल गरेर अघि बढ्ने कुरा भएको छ”, थापाले भन्नुभयो।
परराष्ट्र सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष ओली
काठमाडौं, असार ७ गते। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले परराष्ट्र सम्बन्धमा राष्ट्रिय सहमति साथ अघि बढ्नुपर्ने बताउनुभएको छ। मङ्गलबार राजधानीमा पूर्वराजदूतसँगको अन्तरक्रियामा उहाँले विदेश एवम् बाह्य नीतिमा सम्पूर्ण राष्ट्रिय शक्ति सहमतिका साथ अघि बढ्नुपर्ने बताउनुभयो। वर्तमान राजनीतिक प्रणालीमा स्वास्थ्य प्रतिस्पर्धा एवम् सुदृढीकरणका लागि प्रजातान्त्रिक प्रणालीको रक्षाका लागि यस्तो सहमति आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।ओलीले भन्नुभयो, “२०४६ सालको आन्दोलन र त्यसपछि बहुदलीय प्रतिस्पर्धामा आधारित सिस्टम र संविधानले परिवर्तनका साथ अघि बढ्ने सम्भावना, कानुनी र शान्तिपूर्ण बाटो दिएको छ, पहिले राणाशासनविरुद्ध हिंसात्मक संघर्ष ग¥यौं। किनकि संविधानकै बाटो अवरुद्ध थियो।” छिमेकी राष्ट्रसँग भरपर्दो र विश्वासिलो नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “छिमेकीसँग एउटा कुरा गर्ने, बाहिर अर्को व्यवहार ग¥यौं भने हामी फस्छौं। राष्ट्रियहित मात्र भनेर हुन्न, न्यायोचित राष्ट्रिय हित हेर्नुपर्ने हुन्छ। नभए, सुरक्षा र संरक्षण कसरी हुन्छ ?”देशको आकार सानो, ठूलो हुनसक्ने र विकासको कुरामा अघि, पछि हुनसक्ने तर सार्वभौमसत्ता सानो, ठूलो नहुने भन्नुहुँदै उहाँले राष्ट्रसँगको व्यवहारको सन्दर्भमा न्यायोचित नभएको बताउनुभयो। उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमाक्षेत्रको समस्या खुलस्तरुपमा मित्रराष्ट्रको हैसियतमा हुनुपर्नेमा जोड दिनुभयो।“सुगौली सन्धिपछि हामीले एक सय ४६ वर्ष भोगचलन गरेका थियौं। अहिले मैले नभने पनि पछि नेपालीले भन्छन्। भन्न नसक्ने, बोल्न नसक्ने अवस्थामा रह्यौं भने मित्रता कसरी रह्यो ? सरकारमा बस्नेहरु राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ’’, उहाँले भन्नुभयो।पूर्वप्रधानमन्त्री ओलीले यसखाले संवेदनशील एवम् गम्भीर विषयमा सत्तापक्षले प्रतिपक्षीसँग कुरा गुपचुप राखेको आरोप लगाउनुभएको छ।
नयाँ दल ‘‘राष्ट्रिय स्वतन्त्र पार्टी’’को घोषणा
काठमाडौं, असार ७ गते। पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ। मङ्गलबार काठमाडौंमा एक विशेष कार्यक्रम गर्दै रवि लामिछानेले आफ्नो नेतृत्वमा स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो। ‘‘म कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिनँ’’, लामिछानेले भन्नुभयो। लामिछानेले स्वतन्त्र ढङ्गले अगाडि बढ्नसक्ने अवस्था रहे पनि देश बदल्नका लागि राजनीतिक दल आवश्यक रहेको भन्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गर्नुभएको हो। लामिछानेले देशको जर्जर संरचना परिवर्तनका लागि राजनीतिक पार्टी बनाएर अघि बढ्ने बताउनुभयो। ‘‘यो जर्जर संरचना परिवर्तनका लागि नयाँ राजनीतिक पार्टीसँगै अघि बढ्छु। म यो देशलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्छु’, लामिछानेले भन्नुभयो। यो राजनीति बाटो गाह्रो भए पनि असम्भव नभएको उहाँको भनाइ छ। लामिछानेले आफ्नो चुनावी एजेन्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री रहेको बताउनुभएको छ। उहाँले दलमा कोही पनि कार्यकर्ता बन्नु नपर्ने तर समर्थक हुन पाउने बताउनुभएको छ। पार्टीमा कुनै पनि भ्रातृ सङ्गठन नहुनेसमेत उहाँले प्रष्ट पार्नुभएको छ। स्वतन्त्र पार्टीको प्रारम्भिक कमिटीमा २१ जना सदस्य रहेको उहाँले बताउनुभएको छ। स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी हुने उहाँको भनाइ छ।लामिछानेले क्षमतावान स्वतन्त्रलाई आफ्नो दलसँग जोडिएर उम्मेदवारी दिन आग्रह गर्नुभएको छ।
मन्त्रीकाे अडियो सार्वजनिक गर्ने निगमका अध्यक्ष निलम्बित
आफ्नै तालुकदार मन्त्रीसँग भएको कुराकानीको अडियो सार्वजनिक गर्ने अध्यक्षलाई सरकारले निलम्बन गर्ने निर्णय गरेको छ ।
यी हुन् मन्त्रिपरिषद्का ७ निर्णयहरु
असार ६ गते सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्ले सात वटा निर्णय गरेका छन् । मन्त्री परिषदको बैठकको निर्णयलाई मंगलबार विहान सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सात वटा महत्वपुर्ण निर्णय गरिएको जानकारी दिनुभयो ।
पार्टीका विभागलाई पूर्णता दिन सभापति देउवासँग आग्रह
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेट गरी पार्टीका विभागलाई पूर्णता दिन आग्रह गर्नुभएको छ ।
अछामका पूर्वसभापति शाहीको निधन
अछाम जिल्लाका पूर्वसभापति रामबहादुर शाहीको निधन भएको छ । तुर्माखाँद गाउँपालिका ७ तोषि घर भइ हाल बर्दियाको दौलतपुरमा रहेका शाहीको ८२ वर्षको उमेरमा आइतबार राती निधन भएको हो ।
एसपिपीबारे समान धारणा बनाउन राष्ट्रियसभाका सांसदको जोड
राष्ट्रियसभाका सांसदहरुले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे सत्ता र प्रतिपक्षले समान धारणा बनाएर विषयको किनारा लगाउनुपर्नेमा जोड दिनुभएको छ।