महिला नेतृत्वका क्षेत्रमा भ्रष्टाचार कम
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाले नेतृत्व लिएका क्षेत्रमा भ्रष्टाचार कम हुने गरेको बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा नेपाल प्रेस युनियन महिला विभागले शनिबार आयोजना गरेको समान सहभागिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तर्क्रियामा उहाँले नेतृत्वमा महिलाको पहुँच बढाउन ल्याइएको समानुपातिक व्यवस्थाको सही सदुपयोग हुन नसकेको बताउनुभयो ।
नदीजन्य निर्माण सामग्री अभाव
नदीजन्य निर्माण सामग्रीको अभावका कारण म्याग्दीमा सञ्चालित विकास आयोजना प्रभावित भएका छन् । ढुङ्गा, गिट्टी र बालुवा आपूर्ति नहुँदा जलविद्युत्, सडक, प्रसारण लाइन, सडक पुल, सबस्टेशन, भवन, नदी नियन्त्रण, सिँचाइ, खानेपानीलगायत पूर्वाधार निर्माणका आयोजना प्रभावित भएका हुन् ।
दुर्घटनामा शिक्षक र लेखापालको मृत्यु
चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते हुनुभएको छ ।
बस दुर्घटनामा एकको मृत्यु
मकवानपुर थाहा नगरपालिका ९ स्थित चित्लाङमा शनिवार साँझ बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक छ: मुख्यमन्त्री चौधरी
इमान सिं रानापाल्पा, मङ्सिर २४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ । जनतालाई उत्पादन र रोजगारसँग जोड्न प्रदेश सरकार पनि प्रतिबद्ध भएर लागेको बताउनुभयो । रामपुर बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सहकारीका शेयर सदस्यहरूलाई उत्पादन सदस्य कसरी बन्ने भन्ने सोचका साथ अगाडी बढ्न आग्रह गर्नुभयो । “तपाईँहरू शेयर सदस्य होइन उत्पादन सदस्य कसरी बन्ने सोचका साथ अघि बढ्नु पर्छ । याहाँहरुलाई उत्पादनसँग जोड्नको लागि लुम्बिनी प्रदेश सरकार तयार छ ।” उहाँले भन्नुभयो । सहकारीलाई उत्पादनसँग जोड्न सकिएन भने थप समस्या उत्पन्न हुने उल्लेख गर्नुभयो । “सहकारीलाई उत्पादनसँग जोड्न सकेनौ भने हामीले बचत गरेको पैसा पाउन मुद्दा हाल्नु पर्ने स्थिति आउन सक्छ ।” उहाँले भन्नुभयो । देशमा ठुला ठुला उद्योगको कल्पना गर्नु भन्दा पनि स्थानीय उत्पादनको वृद्धि र बजारीकरण महत्त्वपूर्ण रहने बताउनुभयो । साथै उहाँले भन्नुभयो “देशमा ठूलाठूला फ्याक्ट्रीको कल्पना होइन । गाउँलाई नै कसरी फ्याक्ट्री बनाउने भन्ने सोचका साथ अगाडी बढ्यौ भने हामीले लक्ष्य प्राप्ति गर्न सक्छौँ ।” स्थानीय उत्पादन बजार सम्म पुर्याउने वातावरण तयार गर्नु आवश्यक रहेको रहेको बताउनुभयो । २ लाख जनतालाई प्रदेश सरकारले रोजगारी दिने लक्ष्य लिएको बताउँदै महिला, युवा किसानलाई कसरी जोड्ने मुख्य विषय रहेको बताउनुभयो । समुदायमा भएको संस्कृतिलाई कसरी पर्यटन सँग जोड्न सकिन्छ भन्ने तर्फ सोच्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर बचत तथा ऋण सहकारीले रामपुरको विकासमा महत्त्वपूर्ण टेवा दिएको बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सहकारीलाई उत्पादन सँग जोडेर अघि बढाउन नगरपालिका समन्वय गरेर अघि बढ्ने तयारी गरिरहेको बताउनुभयो । संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मीले सहकारीले सेवा विस्तारसँगै डिजिटल प्रविधिको प्रयोगमा जोड दिँदै आएको बताउनुभयो । रामपुरमा स्थापना भएको सहकारीले आफ्नो कार्यक्षेत्र जिल्लाभर विस्तार गरेको छ । सहकारीमा हाल ४ हजार ५ सय ५७ शेयर सदस्य रहेका छन् ।
कम विकसित देशलाई सहयोगको प्रतिबद्धता
संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भइरहेको जलवायु विश्व सम्मेलन (कोप २८) मा कम विकसित मुलुक कोषका लागि करिब १८ अर्ब ६९ करोड ३७ लाख रुपियाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको छ । ठुला अर्थतन्त्र भएका तथा विकसित मुलुकहरूले जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्न सो कोषमा रकम जम्मा गर्ने प्रतिबद्धता जनाएका हुन् । सो रकम नेपाल जस्ता जलवायुजन्य जोखिममा परेका मुलुकले खर्च गर्न पाउने छन् ।
भूकम्पबाट क्षतिग्रस्त संरचना निर्माणमा बैङ्कले सघाउने
गत कात्तिकमा पश्चिमका जाजरकोट, रुकुमलगायतका क्षेत्रमा भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाले सघाउने भएका छन् । भूकम्पका कारण क्षतिग्रस्त भएका यस्ता संरचनाको पुनर्निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्याई खर्च गर्ने भएका हुन् । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाामार्फत मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्याई गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
संसद्ले संवैधानिक आयोगसँग सहकार्य गर्दै आएको छ: सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले नेपालको संसद्ले मानवअधिकार आयोगसहितका संवैधानिक आयोग तथा जागरुक नागरिक समाजसँग मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सहकार्य र समन्वय गर्दै आएको बताउनुभएको छ ।
मानेक्शको जीवनी ‘साम बहादुर’
साम बहादुर! पहिलो फिल्ड मार्सल साम मानेक्शको जीवनमा आधारित चलचित्र हो। चलचित्रबारे जान्नुअघि साम को थिए त ? सामले पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट अलग गर्न बङ्गलादेशको स्थापना र भारतलाई बलियो बनाउन इन्दिरा गान्धीसँगै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। जब इन्दिरा गान्धीले राजनीतिक धुरीमा बलियो निर्णय लिइन्, सेनाका सर्वोच्च अधिकारीका रूपमा सामले गान्धीको निर्णयलाई सफल बनाएर इतिहास रचे।