गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २५ गते । प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालको १३औँ राष्ट्रिय सम्मेलनले देवी दुलाल (क्षेत्री)को अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । चैत २३ र २४ गते काठमाडौँमा सम्पन्न सो सम्मेलनले ४६ सदस्यीय राष्ट्रिय परिषद् समेत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा समीर सिंह र डा. अमृता शर्मा, महासचिवमा पारस ढकाल, उपमहासचिव बोधकुमार घिमिरे, सचिव डा. हरिप्रसाद तिमल्सिना र कुशल बोगटी तथा कोषाध्यक्षमा डा. कृष्ण सुवेदी चयन हुनुभएका छन् ।
सम्मेलनले सङ्घका पदाधिकारी, सदस्य राष्ट्रिय परिषद्हरु सर्वसम्मत चयन गरेको हो । सम्मेलनमा जिल्ला तथा प्रदेश समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सङ्घका पूर्व अध्यक्ष निनु चापागाईले उद्घाटन गर्नुभएको सो सम्मेलनमा प्रलेस पारिजात स्मृति सम्मान शान्ता श्रेष्ठलाई, प्रलेस हृदयचन्द्र सिंह प्रधान स्मृति सम्मान मातृका पोखरेललाई, प्रलेस युद्धप्रसाद मिश्र स्मृति सम्मान प्राडा जिवेन्द्रदेव गिरीलाई, प्रलेस श्यामप्रसाद स्मृति सम्मान गोपीरमन उपाध्यायलाई र प्रलेस रमेश विकल स्मृति सम्मानबाट कमल जङ्गली आचार्यलाई सम्मानित गरिएको थियो ।
प्रगतिशील लेखक सङ्घ वामपन्थी लेखकहरुको साँझा संस्था हो । यसमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले), नेकपा (विपल्व नेतृत्व) र नेकपा (मशाल) सम्बद्ध लेखकहरु आबद्ध छन् ।
वि. सं. २००९ असोज ५ गते वीरगन्जमा प्रगतिशील साहित्यकार तथा राजनीतिक व्यक्तित्वहरू सम्मिलित भेलाले श्यामप्रसाद शर्माको अध्यक्षतामा प्रगतिशील लेखक सङ्घ नेपालको पहिलो कार्यसमिति गठन भएको थियो ।
सङ्घको संस्थापक महासचिवमा रत्नदास वैद्य र कोषाध्यक्षमा देवीप्रसाद किसान (केवलपुरे किसान) चयन हुनुभएको थियो ।