ग्रामीण क्षेत्रमा पनि बाँझोपनको समस्या बढ्दै
ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरूको चिन्ता व्यक्त गरेका छन् । चिकित्सकहरूले पछिल्लो केही वर्षयता युवाहरू विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका हुन् ।
बर्सेनि चार अर्ब रुपियाँको बिजुली जनतालाई निःशुल्क
नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारण जनतालाई हरेक वर्ष चार अर्ब रुपियाँ बराबरको विद्युत् निःशुल्क उपलब्ध गराएको छ । २० युनिटभन्दा कम खपत हुने ग्राहकलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्दा गएको दुई वर्षमा बर्सेनि चार अर्ब रुपियाँको विद्युत् निःशुल्क वितरण गरिएको प्राधिकरणले जनाएको छ ।
नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
साझा भण्डार भोटाहिटीको नाममा रहेको विभिन्न स्थानको जग्गा बिक्री गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारको नाममा रहेको सुर्खेतको वीरेन्द्रनगरपालिका र बाँकेको कोहलपुरमा रहेको जग्गा बिक्री गर्दा अनुचित लाभ लिएको आरोपमा तत्कालीन अध्यक्ष जयकुमार खड्का, सञ्चालक समितिका तत्कालीन सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने, योगेन्द्रनाथ कर्माचार्य तथा सदस्यसचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका अनुसार नौ जनालाई जनही चार करोड चार लाख २४ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।
यज्ञमती र चखुँचाखोला अब पुरानै स्वरूपमा, आजदेखि डोजर चलाइने
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ। काठमाडौँ महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गर्ने भएको हो। महानगरको टोली बिहीबार पुरिएको खोला खोल्न गए पनि स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेन। शुक्रबार बिहानदेखि चखुँचाखोला खोल्ने तयारी महानगरले गरेको छ। काठमाडौँ महानगरप्रमुख बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबिच बिहीबार दिउँसो भएको छलफलमा चखुँचाखोला र यज्ञमती खोला खोल्ने सहमति भएको छ।
आँखा पाक्ने समस्या : आठ जनामा ‘इन्टेरो भाइरस’ पुष्टि
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १० जनामा गरेको पिसिआर परीक्षणमा ८० प्रतिशतमा आँखा पाक्ने समस्या भएका व्यक्तिमा इन्टेरो भाइरस पुष्टि भएको जनाएको छ । गएको सोमबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा भाइरस कन्जक्टिभाइटिस लक्षण भएका व्यक्तिबाट नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैशीले ती नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर प्रविधिबाट परीक्षण गर्दा ८० प्रतिशत नमुनामा इन्टेरो भाइरस देखिएको जानकारी दिनुभयो । उहाँले पाटन अस्पतालबाट ल्याइएका नमुनामा आठ जनामा इन्टेरो भाइरस पुष्टि भएको जानकारी दिनुभयो ।
‘पार्टीलाई वडाकेन्द्रित गर्नूस्’
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण पार्टी पङ्क्तिलाई वडा स्तरमा केन्द्रित गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पदाधिकारी बैठकमा उहाँले ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा केन्द्रित हुन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री प्रचण्डले पार्टीको तीनमहिने अभियानको आगामी भदौ १६ गते ७५३ स्थानीय तहका सबै वडामा एकैदिन अभियानको उद्घाटन गर्ने तयारी गर्नुभएको छ।
बसको रङ कायमपछि नयाँ रुट इजाजत
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको क्षेत्रमा सञ्चालनमा रहेको ब्लु बसको बिलबुक अनुसारको रङ कायम गरिएपछि नयाँ रुट इजाजत प्रदान गरिएको छ। यातायात व्यवस्था कार्यालय भरतपुरले ना ५ ख ३१३८ नम्बरको सो बसको रङ र रुटको समस्या समाधान गर्दै नयाँ रुटको अनुमति दिएको हो। कार्यालयका अधिकृत सुरेश चपाईका अनुसार बसलाई कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम गरिएको छ।
सुकुमलाललाई नयाँ घर
सुकुमलाल प्रजाले बल्ल चिटिक्कको पक्की घर पाउनुभएको छ। लामो समयदेखि वर्षायाममा पानी चुहिने र हावाहुरी आउँदा घरभित्रै पानी पस्ने छाप्रोमा उहाँको बास थियो। अब भने सुकुमलालको बसाइ सहज हुने भएको छ। बारबेर केही नभएकाले बस्दै आएको घर खुला गोठजस्तै थियो। भान्साका भाँडाबर्तन गतिला थिएनन्। भएका सिलाबरका पुराना भाँडाकुँडा असरल्ल रहन्थे। न लगाउने कपडा नै गतिला हुन्थे, न त ओढ्ने ओछ्याउनेले चिसो छल्न सक्थे। यसरी नै वर्षौंदेखि दैनिकी चल्दै आएको थियो पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–६, सिलिङ्गेका ४१ वर्षीय सुकुमलालको पाँच जनाको परिवारको। छाप्रोमा बसेर दैनिक गुजारा गर्दै आउनुभएका सुकुमलालको सहृदयी दाताको सहयोगमा अबको घरायसी दैनिकी फेरिने भएको छ।
डेंगी सङ्क्रमणले एक युवकको मृत्यु
डेंगी रोग सङ्क्रमणबाट हेटौँडा उपमहानगरपालिका–१२ का एक युवकको मृत्युभएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा ती युवाको बिहीबार मृत्युभएको हो ।
खाल्डोमा डुबेर दुई बच्चाको मृत्यु
झापाको कनकाई नगरपालिका–१ स्थित सिर्जना टोलमा बिहीबार दिउँसो ३ बजेको समयमा खाल्डोमा डुबेर २ बच्चाको मृत्युभएको छ ।
खोलामा बेपत्ता भएको तीन दिनपछि शव भेटियो
मडाहा खोलाको बाढीमा बेपत्ता भएका सोनमा गाउँपालिका–१ का ३८ वर्षीय जावीर अंसारीको शव फेला परेको छ ।
डोजर कपन पुग्दा विवाद, स्थानीयवासी महानगरकै पक्षमा
कपनमा यज्ञमती र चखुँचाखोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौँ महानगरपालिका पुगेपछि तनाव सिर्जना भएको छ । बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाले डोजर लिएर खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको हो ।
मुम्बई लैजाँदै गरिएकी किशोरीको उद्धार
मुम्बई लैजाँदै गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाइल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेसनबाट उद्धार गरिएको हो ।
सुशासन र जनमैत्री सेवा प्रवाहमा तल्लीन रहन निर्देशन
नेपाल सरकारका प्रधानमन्त्री र सङ्घीय सरकारका मन्त्रीहरूबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
नदीमा दाउरा निकाल्न गएका व्यक्तिको मृत्यु
कैलालीको खुटिया नदीमा दाउरा निकाल्न गएका एक व्यक्तिको मृत्यु भएको छ । गोदावरी नगरपालिका –९ धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराईको मृत्यु भएको हो ।
विपन्नलाई डेंगु जाँच र उपचार निःशुल्क
झापाको दमक नगरपालिकामा आर्थिक अवस्था कमजोर भएकाहरुका लागि डेंगुको सङ्क्रमण जाँच निःशुल्क व्यवस्था गरिएको दमक नगरपालिकाले जनाएको छ ।
पोखराका अस्पतालमा आँखाको निःशुल्क उपचार
पोखरा महानगरका तीन अस्पतालमा आँखा पाक्ने रोगको उपचार सित्तैँमा हुनेभएको छ । महानगरका मेयर धनराज आचार्यको सक्रियतामा हिमालय आँखा अस्पताल, मनिपाल शिक्षण अस्पताल र चरक मेमोरियल अस्पतालमा आँखा पाक्ने रोगको टिकटदेखि जाँच र औषधि सित्तैँमा हुने प्रबन्ध भएको हो ।
विद्यालयको लापरबाही, धरापभित्र पढ्दै विद्यार्थी
खोटाङको एक विद्यालयमा विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरबाहीको कारण विद्यार्थी जीर्ण भवन (धराप भित्र) बसेर अध्ययन गर्न बाध्य भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदिस्थित पत्करु आधारभूत विद्यालयमा नयाँ भवन बने पनि पुरानै भवनमा विद्यार्थीलाई राखिएको पाइएको छ ।
सर्लाहीमा पुलमुनि युवकको टाउको भेटियो
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुल मुनी अज्ञात युवकको टाउको मात्रै फेला परेको छ ।
अस्पताल भवन निर्माण अलपत्र
निर्माण कम्पनीको लापरबाहीका कारण अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित ठाडा प्राथमिक अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ। २०७७ साल चैतमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तीन वर्ष ढिलो भइसक्दा पनि निर्माण कार्य ठप्प छ। अस्पतालको भवन पूर्ण रूपमा निर्माण भएको छैन। निर्माण भएका संरचना पनि अस्तव्यस्त छन्। स्काई भुसाल जेभी अर्खाखाँचीले २०७६ साल असारमा पाँच करोड ६५ लाख नौ हजार ५७२ रुपियाँमा ठेक्का पाएको थियो।
कपनमा बाढी नियन्त्रणको दीर्घकालीन समाधान खोजिने
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौँको बूढानीलकण्ठको कपन, सामाखुसी, कलङ्कीसहित जलाधार बढ्दा बाढीको समस्या उत्पन्न हुने क्षेत्रमा तत्कालीन र दीर्घकालीन समाधान खोजिने बताउनुभएको छ। सञ्चार मन्त्रालयमा बुधबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले काठमाडौँ उपत्यकामा देखिएको बाढीको समस्या समाधान गर्न आवश्यक कदम चालिने बताउनुभएको हो। उहाँले काठमाडौँकै कपन, सामाखुसी, कलङ्कीको मालपोत कार्यालय डुबानमा परेको घटना स्मरण गर्दै प्रकृतिमाथि भइरहेको छेडखानीप्रति सजग हुनुपर्ने बताउनुभयो।
सुरुङ मार्गलाई प्राथमिकता दिन सुझाव
राजमार्गमा जाने गरेको पहिरोका कारण तथा सोको स्थायी निराकरणका लागि सुरुङ मार्गलाई प्राथमिकता दिन सुझाव दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको भौतिक पूर्वाधार विकास प्रणाली सुधार कार्यदलले सम्बन्धित क्षेत्रका विज्ञहरूसँग गरेको छलफलमा योसहित सञ्चालनमा रहेका राजमार्गको तत्काल अध्ययन थाल्न तथा नयाँ राजमार्ग निर्माण गर्दा सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न पनि सुझाव दिएको छ।
नागरिकता नियमावली अन्तिम चरणमा
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम मस्यौदा पूरा भइसकेको र आगामी मन्त्रीपरिषद् बैठकमा पेस हुने जानकारी दिनुभएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम खाका मन्त्रीपरिषद्मा पेस हुने बताउनुभयो ।
‘र्यापिड एक्सन टिम’ को काम अवैध
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले घोषणा गरेका कार्यक्रम एकपछि अर्को कानुनी अड्चनमा फसेका छन् । पत्रु बनाउनुपर्ने ना २ च ५६१६ नम्बरको एम्बुलेन्स प्रयोग गरी मोबाइल क्लिनिक सञ्चालन, नियम विपरीत बसको रङ र रुट परिवर्तन गरी ‘ब्लु बस’ सञ्चालन गरिएसँगै कानुनी झमेला रहेका बेला नारायणगढ–मुग्लिन सडकको पहिरोमा अवरुद्ध यात्रु र सवारी साधनलाई उद्धार गर्न खटिएको रास्वपाकै र्यापिड एक्सन टिम (आरएटी) लाई पनि जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ ।